logo
२०८१ बैशाख १४ शुक्रवार



सुरु भयो ठिमीको नीलबाराही नाच (फोटो फिचर)

समाज |


सुरु भयो ठिमीको नीलबाराही नाच (फोटो फिचर)


यलु जाेशी 
भक्तपुर, साउन २२ गते । ठिमीस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलबाराही नाच बुधबार रातभरि नचाएपछि सुरु भएको छ ।
बिहीबार बिहान ५ बजेर ४५ मिनेटसम्म नचाइएको सो नाच तीन दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन गरिने देवगण नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म मध्यरातिबाट सुरू हुने बताउनुभयो ।


नाच बोडेमा राक्षसले दुःख दिएपछि नीलबराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौंदेखि शुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।
श्रेष्ठले नाच नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा प्रदर्शन गरेर समापन गरिने बताउनुभयो ।
उहाँले नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगण नाच्ने बताउनुभयो ।


नाचगणका सदस्य भुवन श्रेष्ठलेका अनुसार नाचको क्रममा बालिने सुकुन्दा निभ्न दिनुहुँदैन । निभेमा देवता बन्नेको पेट दुख्ने, बान्ता हुने धार्मिक विश्वास छ ।
उहाँले देवता बन्ने व्यक्ति थाकेमा सहयोगीले आफ्नो काखमा बसाल्नु पर्ने मान्यता रहिआएको जानकारी दिदै भुँईमा बसाउन नपाउने र देवता बन्नेले नाच अवधिभर मौन रहन पर्ने पनि बताउनुभयो ।
मध्यपुर ठिमी नगरपालिका-८ का अध्यक्ष देवकृष्ण मोया श्रेष्ठले नाच राति मात्र सञ्चालन गरिने जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड १९) का कारण दिउँसो यो नाच नदेखाउने निर्णय भएको प्रष्ट पार्नुभयो ।
दिउँसो नाच देखायो भने बाहिरबाट पनि हेर्न आउनेको भिड हुने भएकाले राति गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिँदै राति १० बजेदेखि बिहान ४ बजेसम्म नृत्य हुने जानकारी दिनुभयो ।
नीलबाराही नाचको देवगणमा भैरव एक, द्वारपाल दुई तथा बाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ जनाको समूह हुन्छ । देवगणका नाै सहयोगी र वाद्यवादक गरी १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने सदस्य श्रेष्ठले प्रष्ट पार्नुभयो ।


नाइके श्रेष्ठका अनुसार किंवदन्ती परापूर्वकालमा बोडेको उत्तरपूर्वी दिशाको जङ्गलमा रहेकी नीलबाराही देवीले मानिसको रुप धारण गरी बोडे शहरमा आएर स्थानीय द्याे जातका एक मानिसलाई जङ्गलमा लगेर चार दिनसम्म राखी सो नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएको र उनैले यो नाच शुरु गरेको हो ।
विभिन्न देवीदेवताको आकृतिको मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहँदा देवगणले खान, बस्न, बोल्न, घामपानीमा छाता ओड्न, दिशापिसाब गर्न र जुत्तासमेत लगाउन नहुने नियम रहेको श्रेष्ठले बताउनुभयो । नीलबाराही गुठी नै सञ्चालन गरी स्थानीयले नाचलाई जोगाउँदै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?