logo
२०७७ श्रावण १ बिहीवार

धान दिवस त भयो तर लोप हुन थाले असारे गीत

समाज |


2020-06-29-17486
तस्बिर ः चाँदनी आचार्य


यलु जोशी
काठमाडौँ, असार १५ गते ।
असारे मासको भारी राम्रो घाँसको
माया राम्रो जवानको...........
गाउँघरमा रोपाइँका बेला खेत रोप्दा होस् वा बीउ राख्दा धान गोड्दा लामो लय हालेर गाइने असारे गीत अब मुस्किलले सुन्न पाइन्छ । विशेष गरी असार १५ को दिन धान रोपाइँ गरी दही र चिउरा खाएर कृषि पर्व मनाउने गरिन्छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । सँगसँगै विशेष महत्व बोकेको नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ ।

'असारे भाका लोप हुने अवस्थामा छ । टेलिभिजन तथा सञ्चार माध्यमले स्थान नदिएपछि पनि लोप हुन लागेको हो,' लोक गायिका ज्ञानु पहारी भन्नुहुन्छ, 'यसपाली मात्रै होइन, केही समय यता असारे गीतलाई बिर्सिन थालेको छ ।' 

वैशाख नलाग्दै तीज गीतहरू आउन थाल्छन् । अझ असार लागिसक्दा त कलाकारलाई भ्याइनभ्याई हुन्छ । तीजका गीत रेकर्डिङ र म्युजिक भिडियोको छायाङ्कनमै कलाकारको दिन बित्छ । 'असारे गीतहरू छिटफुट रुपमा आउँछन् । आएका गीत पनि युट्युबमा मात्र सीमित हुन्छ ।' उहाँको गुनासो छ ।

असारे गीतले बालीनाली सप्रियोस् भनेर गाइने लोक गायक पुरुषोत्तम न्यौपानेको भनाइ छ । ‘चाहे त्यो पूर्वमा गाइने असारे भाका होस्, चाहे त्यो पश्चिममा गाइने । पहाडमा गाइने असारे गीत होस् वा तराईका फाँटमा । असारे गीतले धानमा कीरा नलागोस्, असिनाले नथिचोस् र राम्ररी धान फलोस् भनेरै कामना गर्दछ’, लोकगायक न्यौपाने भन्नुहुन्छ । उहाँले दसैँ तिहार र तीजका गीतको उपस्थिति राम्रै रहेको जानकारी दिँदै तीज गीत त वैशाखदेखि नै रेडियो टेलिभिजनमा पनि प्राथमिकतामा पर्ने बताउनुभयो । ‘असारे गीतहरू न राज्यको प्राथमिकतामा परेको हुन्छ, न त सञ्चारमाध्यमका प्राथमिकतामा परेको हुन्छ,’ उहाँले गुनासो गर्नुभयो । न्यौपानेले प्रचलनमा रहेकै अन्य पर्वहरूमा गाइने गीतहरू पनि मौलिक नभएको बताउनुभयो ।

लोकसंस्कृतिको जगेर्ना र संरक्षण गर्न सम्बन्धित पक्षको ध्यान गएको नदेखिएकाे लोक गायक न्यौपानेले बताउनुभयो । बजारमा अरु गीतले जस्तो असारे गीतले जस्तो व्यावसायिक सफलता हात नपार्ने भएकाले कलाकारहरूले चासो नदिने गरेकाे उहाँकाे भनाइ छ । ‘अरु गीतबाट राम्रै आम्दानी हुन्छ । एउटा भिडियोसहितको गीत रेकर्ड गर्दा कम्तीमा एक लाख लाग्छ । गीत न त युट्युबमा हेरिन्छ, न त बिक्री नै हुन्छ । त्यसैले पनि कलाकारहरू जोखिम मोल्न नचाहने हुन्,’ न्यौपानेले भन्नुहुन्छ ।

गायक रामकृष्ण दुवाल भन्नुहुन्छ, 'हाम्रा परम्परा हराउँदै जानुमा हामी र अहिलेका युवापुस्ता त्यस परम्परासँग परिचित नहुनु हो । नयाँ पुस्ता आफ्नो लोकसंस्कृतिभन्दा पनि बाहिरबाट भित्रिएको संस्कृतिसँग परिचित मात्रै होइन, नेपाली चाडपर्वभन्दा पनि विदेशी चाडपर्व नै उत्सवका साथ मनाउन पाउँदा रमाउँछ ।' नयाँ पुस्ता आयातीत सङ्गीतमा झुम्न थालेपछि नेपाली लोकसंस्कृति र सभ्यता झल्काउने असारे गीतलाई बिर्सिँदै गइएको गायक दुवालले बताउनुभयो । उहाँले असारको महत्त्व घट्दैगएको हाम्रो समाजमा रोपाइँ पर्व मात्रै रोपाइँको निरन्तरताको लागि सीमित भइरहेको बताउनुभयो ।

अर्मपर्म मेलापात सँगसँगै धाउन आउ,
बर्खा लाग्यो यसपालि त चोखो मायाँ लाउन आउ ।
मानो रोपी मुरी उब्जाउने बेलो हो यो मित्र,
हिलो छ्याप्दै प्रिय असारे गीत गाउन आउ‘‘।

गाउँले झयाउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानहरूले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो ।

असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउँछ, कुण्ठा हट्छन् भने अर्काेतिर चर्मरोग पनि निको हुन जनविश्वास रहेको छ ।

रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दहीचिउरा र अचारको खाजा खाने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?