logo
२०८१ बैशाख १४ शुक्रवार

 एकान्तबासको समाजशास्त्र –७ 



भरपर्दा सोसियल मिडिया मात्र हेरौं, नत्र निराशा बढ्न सक्छ

पढ्नै पर्ने |


भरपर्दा सोसियल मिडिया मात्र हेरौं, नत्र निराशा बढ्न सक्छ


शान्ति लामा

काठमाडौं, बैशाख १३ गते । फेसबुक, ट्वीटर, युट्युबजस्ता सर्वप्रिय सोसल मिडियाहरु हामी ताजा सूचनाका लागि समेत प्रयोग गर्छाैँ । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला हामी कोरोना संक्रमितको संख्या कति पुग्यो ? भनी जान्न समेत सोसल मिडियाकै भरमा छौँ । स्वास्थ्य मन्त्रालयले समेत सोसल मिडयामार्फत नै सूचना दिइरहेको छ ।

यस्तो बेला कतिपय हामीलाई कामै नलाग्ने, त्रास फैलाउने, निराशा बढाउने, नकारात्मकता फैलाउने जस्ता सूचनाहरु पनि सोसल मिडियामा टुप्लुक्क देखा पर्छन् । नचाहेरै पनि देखिने यस्ता सूचना सामग्रीबाट हामीलाई डर, निरासा फैलाइरहेको हुन्छ । तर सोसल मिडियामा आउने सूचना तथा सामग्री सही हो कि होइन भनी छुट्याउन पनि गाह्रो छैन ।

साथै सोसल मिडियाका राम्रा सामग्री हाम्रा लागि उपयोगी र ज्ञानबद्र्धक पनि हुन्छ ? सेन्टर फर मिडिया रिसर्चका सोसल मिडिया अध्ययन कर्ता उज्ज्वल आचार्यले सँगको कुराकानीमा दिनु भएका केही टिप्स ।

सामान्य प्रयोगकर्ताले सोसल मिडियामार्फत आउने सूचना भरपर्दाे र सही हो भनी कसरी छुट्याउने ?

सोसल मिडियाबाट मात्रै होइन, अरू जुनसुकै स्रोतबाट आउने सूचनाहरू प्राप्त गरिहाल्ने बित्तिकै विश्वास गर्न हुँदैन । कुनै पनि सूचनालाई यो गलत कुरो हो कि ? भन्ने सोचेर आलोचनात्मक दृष्टि दिएर मात्रै ग्रहण गर्नुपर्छ । यद्यपी केही सामान्य उपायहरू छन् जसबाट सोसल मिडियामा प्राप्त सूचनाहरू भरपर्दाे हो कि होइन भन्ने छुट्टाउन सकिन्छ ।

पहिलो, सूचनाको स्रोत हो । सूचना सेयर गर्ने व्यक्ति को हो, जे सूचना दिइरहेको छ, त्यस विषयमा उ जानकार हो कि होइन ? अथवा कुनै लिङ्क छ भने त्यो वेबसाइट चिनेजानेको भरपर्दाे हो कि होइन ? भनेर हेर्ने हो ।
दोस्रो, सेयर भएका कुराहरू उसका आफ्ना कुरा हुन् कि अरूले पठाएका कुरालाई सेयर मात्रै गरेको हो ? आफ्नै अनुभव नभएका र रे भनेर गरिएका सूचनाहरूमा भर पर्न हुन्न । सोसल मिडिया जो कसैले पनि चलाउन सक्छ र त्यसमा आएका कुराहरू व्यक्तिगत हुन् त्यसैले विश्वसनीय हुँदैन भनेर सोच्नु नै ठिक हो ।

भरपर्दाे र सही सूचनाहरू चाहिँ विषयमा जानकार व्यक्तिले आफैँ लेखेका वा नाम चलेका र विश्वसनीय मिडिया वा स्रोतबाट आएका हुन्छन् । चिकित्सकले स्वास्थ्यसम्बन्धी लेखेको कुरा ठिक हुने सम्भावना धेरै हुन्छ । तर इञ्जिनियर वा शिक्षकले सेयर गरेका अस्पताल वा स्वास्थ्यका कुरा सही नहुने सम्भावना रहन्छ ।

सही सूचना कसरी लिने ?

भरपर्दो र पुरानो माध्यममा आएका सूचनाहरू बढी भरपर्दा हुन्छन् । कुनै पनि सूचना भरपर्दाे छ कि छैन हेर्न त्यसलाई गुगलजस्ता सर्च इञ्जिनमा सर्च गरेर अन्य विश्वसनीय स्थानमा पनि ती सूचना छन् कि छैनन् ? अथवा स्रोत भनिएका संस्था छन् भने तिनको वेबसाइटमा छ कि छैन ? भनेर हेर्नुपर्छ । कतिपय अवस्थामा विश्वसनीय मानिसहरूले पनि मिथ्या सूचनाहरू सेयर गरिरहेका हुनसक्छन् । यसर्थ व्यक्तिभन्दा पनि स्रोतको विश्वसनीयता हेर्नुपर्छ ।

अफवाह, भय, निरासा, सन्त्रास फैलाउने खालका सूचना सामग्रीबाट छुटकारा पाउन के उपाय अपनाउने ?

त्यस्ता सूचनाहरू सकेसम्म ग्रहण नगर्ने । त्यस्ता सूचना सेयर गरिरहने मानिसहरूलाई म्यूट अर्थात नदेखिने बनाउने । केही विश्वसनीय माध्यमहरूमा मात्रै सूचना हेर्ने । जस्तो, कोरोनाभाइरसको सङ्क्रमितको सङ्ख्या वा अन्य जानकारीका लागि सबैभन्दा भरपर्दाे माध्यम भनेको स्वास्थ्य मन्त्रालयको सोसल मिडिया हो । सङ्ख्याको आधिकारिकताको लागि त्यसको विश्वास गर्ने ।
त्यस्तै यस क्षेत्रमा काम गरिरहेका संस्थाहरू, जस्तो विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक मिडियाबाट सूचना ग्रहण गर्ने ।

सेलिब्रेटी, समाजका अगुवाले यस्तो बेला सामाजिक सञ्जालमा कस्ता सूचना, विचार र सामग्री पोस्ट गर्नुपर्छ ?

उहाँहरूमाथि समाजका मानिसहरूले विश्वास गर्ने भएकाले उहाँहरू सेयर गर्न हतार गर्नु हुँदैन । कुरेर सेयर गर्न लागेका कुराहरू सबैतिरबाट सही भएको यकिन भएपछि मात्रै सेयर गर्ने वा त्यस्ता विषयमा मात्रै आफ्ना विचार लेख्नुपर्छ । यो असाधारण अवस्था हो र हामी सबै असाधारण व्यवहार गरिरहेका छौँ भन्ने बुझेर सोसल मिडियामा पनि अघिपछिभन्दा फरक तरिकाले चलाउनु पर्छ ।

सोसल मिडियाका सामग्रीलाई दैनिक जीवनमा उपयोगी बनाउन सकिन्छ ? कसरी बनाउने ?

सोसल मिडियालाई दैनिक जीवनमा उपयोगी बनाउन सबैभन्दा पहिले विश्वसनीय स्रोतहरूले लेखेका कुराहरू मात्रै धेरै देखिने बनाउनु पर्छ र राम्ररी चिनजान भएका वा परिचय खुलेका व्यक्तिहरूसँग मात्रै मित्रतामा रहनुपर्छ । साह्रै धेरै रिसराग वा नकारात्मक मात्रै कुराहरू लेख्नेहरूका कुराहरू नपढेर, राम्रो उपयोगी र व्यक्तिगत कुरा, विचार र तर्कहरू लेख्नेहरूलाई पढ्नुपर्छ ।

सोसल मिडियामा खानेकुरा वा बगैचा वा छोराछोरी वा आफ्ना गतिविधिका तस्बिर र भिडियोहरूबाट सीप सिक्न र ती सेयर गर्न सकिन्छ, साथीभाइ र चिनजानका मानिसहरूसँग कुराकानी गर्न सकिन्छ जसले यो असाधारण परिस्थितिमा सहज हुन र समय बिताउन सहयोग हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?