logo
२०८१ बैशाख १४ शुक्रवार



विदेशबाट पाँचथर फर्किएका क्वारेन्टाइनमा

समाज |




रवीन्द्र काफ्ले

फिदिम, चैत १६ गते । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए ।

सङ्कलित विवरणका आधारमा हिजोबाट क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवं कोभिड–१९ जोखिम न्यूनीकरण एवं समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहहरुले शुक्रबारसम्ममा १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिबारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले बताउनुभयो ।

शनिबार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै हिलिहाङमा सात, कुम्मायकमा तीन, मिक्लाजुङमा एक र फिदिम नगरपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो ।

फिदिमले बनायो द्रूतकार्य टोली

फिदिम नगरपालिकाकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रूतकार्य टोली गठन गरेको छ । नगरपालिकाको स्वास्थ्य एकाइका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने बिरामीलाई सचेत गराउने, उपचार, उद्धार एवं उपल्ला निकायमा सिफारिश गर्नेछ । नगरपालिकाभित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न फिदिम नगरपालिकाले शनिबारबाट विलिपिङ पाउडर छर्किन शुरु गरेको छ । यहाँका अस्पताल, क्वारेन्टाइन निर्माण भएका स्थल, भीडभाड हुने तथा फोहर जम्मा हुने क्षेत्रमा उक्त पाउडर छर्किन थालिएको हो ।

हरियो साग बाँड्दै वडाध्यक्ष

पाँचथरको फिदिम नगरपालिका–१ ले वडावासीलाई हरियो साग वितरण गरेको छ । फिदिमको शिवालय मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने शनिबारे हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बन्द गरिएपछि वडाले वडावासीलाई साग वितरण गरेको हो । वडाध्यक्ष गजाधर भट्टराईको सक्रियतामा रानीटार, नाम्दु तथा ढोडेनी क्षेत्रमा हरियो साग सङ्कलन गरी वडावासीलाई वितरण गरिएको हो । लकडाउनको पालनाका क्रममा घर बाहिर निस्कन नपाएका जिल्लाको सदरमुकामसमेत पर्ने फिदिम–१ का स्थानीयलाई निःशुल्क साग वितरण गरिएको वडाध्यक्ष भट्टराईले बताउनुभयो । फिदिम बजारवासीले शनिवारे हटियाबाट सागसब्जीको खरिद गर्ने गरेका थिए । तर, आजबाट उक्त हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि बन्द गरिएपछि उपभोक्ता समस्यामा परेका थिए ।

जनप्रतिनिधिको एक महिनाको सुविधा विपत व्यवस्थापन कोषमा

यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाका सुविधा गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले कोभिड–१९ को जोखिम न्यूनीकरण तथा कोभिड–१९ लगायत अन्य महामारी तथा दैवी विपत्तिको रोकथाम, सतर्कता, राहत वितरण तथा उद्धारकार्यका विपत् व्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो । बैठकले उक्त कोषमा गाउँ कार्यपालिकाका सबै सदस्यको एक महिनाको सुविधा जम्मा गर्ने तथा आगामी दिनमा गाउँपालिकाको बजेट र दाताहरुको सहयोगसमेत सङ्कलन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

यस्तै उक्त गाउँपालिकाले कोभिड–१९ को प्रकोप तथा लकडाउनको प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका विपन्न वर्गका श्रमिक तथा मजदूरहरु, विपन्न, असाहाय र अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी राहत दिने भएको छ । पहिलो चरणमा गाउँपालिकाका सात वडामा ५० जनाका दरले मजदूर, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गर्ने तयारी थालिने गाउँपालिका अध्यक्ष कुरुम्बाङले बताउनुभयो ।

गाउँपालिकाले कोभिड–१९ को प्रकोप रहुञ्जेल गाउँपालिकाभित्र खटिने सुरक्षाकर्मीको हौसला बढाउन प्रतिसुरक्षाकर्मी दैनिक रु २०० का दरले प्रोत्साहन भत्ता दिने तथा सवारीमा इन्धनको प्रबन्ध गरिदिने भएको छ । पाँचथर–इलाम सीमावर्ती राँकेबजरमा निर्माण गरिएको क्वारेन्टाइनलाई आवश्यकतानुसार विस्तार गर्ने तथा आवश्यक औजार र उपकरणको प्रबन्ध गर्ने बैठकले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?