logo
२०८१ बैशाख १५ शनिवार



मदिरा नियन्त्रणमा सचेतना जगाउन सांसदको नेतृत्वमा पदयात्रा

समाज |


मदिरा नियन्त्रणमा सचेतना जगाउन सांसदको नेतृत्वमा पदयात्रा


प्रकाशचन्द्र भट्टराई
दमौली, फागुन ७ गते । तनहँुको देवघाट गाउँपालिकाले सञ्चालन गरेको मदिरा व्यवस्थापन तथा लागु औषध नियन्त्रण कार्यक्रममा ऐक्यबद्धता जनाउन तनहँु क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देल पदयात्रामा निस्कनु भएको छ ।

देवघाट गाउँपालिकाले पछिल्लो समय सञ्चालन गरेको मदिराको व्यवस्थापन तथा लागु औषध नियन्त्रण गर्ने अभियानमा आफ्नो ऐक्यबद्धता जनाउन तथा ग्रामिण जनतालाई सचेतना जगाउन पदयात्रामा निस्किएको सांसद सिग्देलले जानकारी दिनु भयो । देवघाट गाउँपालिकाले मंगलबार वडा नम्बर ३ को नाल्दीघाटबाट सो वडाको कार्यालय छिपछिपे भन्ज्याङसम्मको यात्रामा सांसद सिग्देलले गोरखकाली आधारभुत विद्यालय र बालकेश माविका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई मदिरा र लागु औषधको सेवनबाट हुने हानीको बारेमा सचेत गराउनु भएको थियो ।

सो अवसरमा सांसद सिग्देलले घरमा आउने पाहुनालाई मदिराले नभई दुध चियाले स्वागत र सत्कार गर्नु पर्नेमा जोड दिँदै यसो गर्दा स्वास्थ्य पनि राम्रो हुने, धन पनि जोगिने र विभिन्न हिंसाबाट समेत बच्न सकिने बताउनु भयो । पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत युवाह लागु औषधको दुव्र्यसनमा परेको हुँदा त्यसबाट युवाहरुलाई जोगाई राष्ट्र निर्माणमा लाग्नु पर्नेमा समेत जोड दिनु भयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले हिन्दुहरुको पवित्र धामको रुपमा रहेको देवघाट गाउँपालिकालाई नै मदिरा मुक्त गाउँपालिका बनाउने आफुहरुको चाहाना रहेको हुँदा त्यसमा सबैको साथ र सहयोग जुटाउन र जनतालाई सचेतना दिन ग्रामिण पदयात्रा गरिएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सई एकनारयण आचार्यले मदिराको प्रयोग हुने घरमा बढि हिंसाका घटनाहरु हुने गरेको हुँदा हिंसाबाट जोगिन पनि मदिराको उपभोग गर्न नुहेन र लागु औषधको प्रयोग गैरकानुनी भएको बारेमा जानकारी गराउनु भएको थियो ।
पदयात्राको क्रममा सांसद सिग्देलले देवघाट गाउँपालिकाको वडा नम्बर ३ को १६३० मिटरको उचाईमा रहेको घन्टाचुलीमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्नु भएको थियो । घन्टाचुली पर्यटन विकास समितिको आयोजनामा आगामी फागुन २३ देखी २७ गते सम्म दोश्रो घन्टाचुली पर्यटन महोत्सव आयोजना हुने भएको हुँदा झन्डोत्तोलन गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो । घन्टाचुलीबाट १७ जिल्लाका विभिन्न स्थानहरु देख्न सकिने अध्यक्ष थापाको भनाई छ ।

त्यसैगरि छिपछिपेमा साना किसान सहकारी संस्था मार्फत सञ्चालन गरिने सुन्तला ब्लक समितिका उपभोक्ताहरुलाई सांसद सिग्देलले सम्बोधन गर्दै कृषिको माध्यमबाट आर्थिक समृद्धीकोलागि काम गर्नु पर्ने बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?