logo
२०७७ जेष्ठ १६ शुक्रवार

अछामको मियाँपुरमा छैन छाउगोठ

मुख्य समाचार |


2020-02-09-8426


शान्ति लामा

अछाम, माघ २६ गते । सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन ।
इस्लाम धर्मावलम्बीको बाहुल्य रहेको मियाँपुरमा विगतदेखि नै छाउगोठको अस्तित्व नरहेको मदरसा दारुल कुरआन प्राथमिक विद्यालयका शिक्षक शम्भु मियाँले जानकारी दिनुभयो ।
लामो समय हिन्दूका बीचमा बसेको हुनाले मियाँपुरका मुस्लिमको रहनसहन वरिपरिका हिन्दूका जस्तै देखिन्छन् । अछाममा व्याप्त छाउगोठ प्रथामा भने उनीहरू पूरै फरक छन् ।
महिनावारीका बेला गाउँका हिन्दू महिला छाउगोठमा बसेको देख्दै आउनुभएको हो, २२ वर्षकी यशोदा मियाँले । उहाँले आफूले कहिल्यै छाउगोठ बस्नु नपरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कुनै पनि मियाँको घरमा छाउगोठ छैन । हामी महिनावारी हुँदा घरमै बस्छौँ र सबै खानेकुरा खान्छौँ । ’’ छाउगोठ प्रचलन नभए पनि महिनावारी भएको बेला भान्छामा जान भने हिच्किचाहट महसुस हुने यशोदाको सुनाउनुभयो ।
तराईका मुस्लिमझैँ यहाँका मुस्लिम महिला बुर्का पनि लगाउँदैनन् । झट्ट हेर्दा बोल्दा मुस्लिम हुन् झैँ लाग्दैनन् । लामो समय बहुसङ्ख्यक हिन्दूको नजिक बसेकाले रहनसहनमा हिन्दू प्रभाव छ । लवाइखवाइ उस्तै देखिए पनि धर्म संस्कारमा मुस्लिमहरू फरक रहेको मियाँपुरका अगुवा तथा मुस्लिम राजनीतिज्ञ केशर मियाँले बताउनुभयो ।
पछिल्लो तीन दशकमा मुस्लिमले आफ्नो धर्म संस्कृतिको खोजी र संवद्र्धन गर्न थालेका छन् । गाउँमै मस्जिद र मदरसा स्थापना गरी इस्लाम धर्म र संस्कार सन्तानलाई पनि सिकाउन थालेका छन् । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले झण्डै २५–३० घर जति मुस्लिम धर्मावलम्बीको बसोवास रहेको मियाँपुरमा छाउगोठको परम्परा नरहेको बताउनुभयो ।
प्रमुख कुँवरले भन्नुभयो, ‘‘आठ सय वर्षदेखि उहाँहरू यहाँ बस्दै आएको भन्ने भनाइ छ । यहाँको मुस्लिममा छाउगोठ नमान्ने राम्रो परम्परा छ, धेरै रहनसहनमा हिन्दूको प्रभाव रहेपछि छाउगोठले पनि यो समुदायले छोएको रहेनछ । ’’
अगुवा केशर मियाँ यहाँ इस्लाम धर्मावलम्बी अल्पसङ्ख्यक समुदायका रूपमा रहेका हुनाले महिलालाई छाउगोठमा नराख्ने जस्ता राम्रा संस्कार अरूले सिक्न नसकेको विश्लेषण गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘‘बहुसङ्ख्यक हिन्दूसँग नङमासुको सम्बन्ध छ तर अल्पसङ्ख्यक मुस्लिमको संस्कारको प्रभाव अन्य समुदायमा कम प¥यो । ’’
महिनावारीका बेला घरमा बस्नु सुरक्षित हुनु हो भन्ने कुरा आफ्नो समुदायका महिलाले राम्रोसँग बुझेको मियाँ बताउनुहुन्छ । उहाँले छोरीबुहारीलाई महिनावारी भएको बेला कुनै कुरा वर्जित छैन, त्यसैले उनीहरूलाई कहिले महिनावारी हुन्छ भन्नेसमेत हामीलाई थाहा हुँदैन । ’’
त्यस्तै, महिलालाई लवाइखवाइ र कामकाजमा कुनै विभेद गर्ने चलन मियाँपुरका मुस्लिम समुदायमा नरहेको शिक्षक शम्भु मियाँले बताउनुभयो ।
चुरा र शृङ्गारका सामग्री बेच्दै धेरै पहिले तराईबाट मुस्लिमहरू अछाम आइपुगेको केशर मियाँले बताउनुभयो । अछामका कुँवर शासकहरूले हतियार बनाउने सीप भएका मुस्लिमलाई पहाडमै बसोवासको व्यवस्था गरी बसालिएको बताइन्छ ।
चुरा बेच्ने मुस्लिम बसेको हुनाले गाउँको नाम नै चुडेली गाउँ रहन गयो । समयक्रममा चुरा बेच्ने काम छाडेपछि यहाँ बसोवास गर्ने मियाँहरूले आफू बस्ने ठाउँलाई ‘मियाँपुर’ भन्न थालेको मुस्लिम अगुवा केशर मियाँले बताउनुभयो ।
छाउगोठ नष्ट गर्ने सरकारको पछिल्लो अभियानमा अछाम जिल्लाभरि अहिलेसम्म चार हजार ८४४ वटा छाउगोठ भत्काइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?