logo
२०८१ बैशाख १४ शुक्रवार



‘बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति   

समाज |




काठमाडौँ, मङ्सिर ११ गते । शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि पाँच कृति उत्कृष्ट छनोटमा परेका छन् ।

छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ र दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ छन् । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ ।    

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालका अनुसार पुरस्कारका लागि कृति बुझाउन आह्वान गर्दा प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँचमा परेकाबाट थप छनोट गरी पुरस्कृत गरिने जानकारी दिनुभयो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको संस्थाले जनाएको छ ।

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार प्रदान हुने भएको हो । सो कृति पहिलो संस्करणमै १३ हजारप्रति प्रकाशन भएको थियो ।

अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुने जनाइएको छ ।    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?