logo
२०८१ बैशाख १४ शुक्रवार



पुमा खोलामा पुल नहुँदा समस्या

समाज |


पुमा खोलामा पुल नहुँदा समस्या


सुरेन्द्र खत्री
रुकुम (पश्चिम), असोज ४ गते । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ र २ को सीमानामा रहेको पुमा खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएको छ । लामो वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा पैदल यात्रीहरु केही तल रहेको झोलुङ्गे पुलबाट वारपार गरे पनि सवारी साधनले जोखिमपूर्ण रुपमा खोला वारपार गर्ने गरेका छन् ।

वर्षाको समयमा खोलामा रहेको कल्भर्ट भन्दा माथिबाट पानी बग्न थालेपछि पैदल यात्री तथा सवारी साधन आवतजावतमा समस्या भएको हो । कल्भर्ट भन्दा माथिबाट बग्ने पानीले गाडी नै बगाउने समस्या रहेकोले हाल आफुहरुले गाडी नचलाएको चालक सुनिल बिकले बताउनुभयो । एकसाता अघि उक्त खोलाले सुनिलको गाडी नै बगाएको थियो ।

रातको समयमा खोलाले गाडी बगाएपछि बगेको पाँचघण्टापछि प्रहरीले उहाँ र गाडीलाई उद्दार गरेको थियो । सदरमुकाम मुसिकोट खलंगादेखि बाँफिकोट गाउँपालिका –२ जीपु हुँदै वडा नम्बर १ को लागिम र त्यहाँबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका –३ पोखरासम्मका लागि जीप सञ्चालनमा रहेका थिए । यसबीचमा पर्ने पुमाखोलामा पुल नहुँदा वर्षातको समयमा यसरी नै यातायात सेवा बन्द हुने गर्दछ ।

हिउँदको समयमा खोलामा पानी सानो बग्ने भएकाले यातायात सेवा सञ्चालनमा कुनै समस्या नपर्ने भएपनि बर्षातमा सास्ती व्यहोर्नुपरेको छ । पुमा खोलामा पुल बनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका –३ र ४ का साथै बाँफिकोट गाउँपालिका –१ का स्थानीयलाई मुसिकोट आउजाउमा सहज हुने स्थानीयको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?