logo
२०८१ बैशाख १४ शुक्रवार



बैतडीमा घट्दै जातीय विभेद, ‘दलित’को पसलमा मासु किन्नेको भीड

समाज |


बैतडीमा घट्दै जातीय विभेद, ‘दलित’को पसलमा मासु किन्नेको भीड
बैतडी सदरमुकाममा शेरीराम तिर्वाले संचालन गरेको कुखुराको मासु पसल । तस्वीरः गोकर्ण÷बैतडी


 

गोकर्ण दयाल
बैतडी, भदौ १९ गते । पहिले सार्वजनिक होटल भित्र पस्न बन्देज थियो । छुन समेत हिचकिचाउँथे बैतडीका दलित (कथित) समुदायलाई तर, अहिले जिल्ला सदरमुकाम लगायतका बजार क्षेत्रमा दलित समुदायका आफ्नै पसल खुल्न थालेका छन् ।

दलित समुदायका व्यक्तिले सदरमुकाममा खोलेका मासु पसल र तरकारी पसलबाट अहिले सबै होटल र घरको भान्सामा भोजन पाक्न थालेको छ ।

लोकतन्त्र स्थापनापछि जातीय विभेदमा कमी आउन थालेपछि बैतडीको दरशथ चन्द नगरपालिका वडा नम्बर ४ का शेरीराम तिर्वाले सदरमुकाममा कुखुराको मासु पसल संचालन गरेको बताउनुभयो । सदरमुकाममा मात्रै दलित समुदायका तीन÷चार वटा मासु पसल खुलेका छन् ।

तिर्वाले भन्नुभयो,“ देशमा कुनै राम्रो परिवर्तन भएको छ भने त्यो जातीय विभेदमा आएको परिवर्तन नै हो । ग्रामीण भेगमा अहिले पनि विभेद हुने गरे पनि बजार र सार्वजनिक स्थालमा हुने विभेद हटेको छ । पहिले होटल र पसलमा जाँदा छून पनि दिदैन थिए । अहिले आफ्नै मासु पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । दैनिक १५÷२० किलो मासु बिक्री हुने गरेको छ ।”

यसअघि सामान्य ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आईरहनु भएका शेरीराम तिर्वा पछिल्लो समय घरमै कुखुरा पालन गरेर बजारमा मासु पसल संचालन गरेर जिवीकोपार्जन गरिरहनु भएको छ ।

पहिले जस्तो जातीय विभेदको पीडा खेप्नु नपरे पनि आर्थिक समस्याले ग्राहकको माग अनुसार मासु आपूर्ति गर्न शेरीराम लाई धौधौ परेको छ । उहाँ भन्नुहुन्छ “ आर्थिक समस्याले कुखुरा पालन व्यवसाय बढाउन सकिएको छैन । अहिलेसम्म स्थानीय सरकार र दलित संघ संस्थाबाट कुनै सहयोग मिलेको छैन । ”
दशरथ चन्द नगरपालिकाका उप मेयर मीना चन्दले बैतडी सदरमुकाममा सार्वजनिक पसल संचालन गर्ने दलित समुदायका व्यवसायिलाई मासु स्वच्छ राख्न यो वर्ष फ्रिज लगायतका सामग्री सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीको कुल जनसंख्या दुईलाख ५० हजार मध्ये दलित समुदायको जनसंख्या करिब ५५ हजार रहेको छ । गरिबी, आर्थिक असमानता र जातीय विभेद खेप्दै आईरहेका बैतडीका दलित समुदाय लोकतन्त्र स्थापनापछि जातीय विभेदको थिचोमिचोबाट विस्तारै उम्कदै गरेको पाईएको छ ।

गरीबी र आर्थिक असमानताले थिचीएका दलित समुदायका व्यक्ति आफ्नै बलवुतामा उठ्न नसकिरहेको अवस्थामा स्थानीय तहको सरकारले सहयोग गर्नु पर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुशमा चन्द बताउनुहुन्छ ।

ग्रामीण भेगमा रहेको जातीय विभेद उन्मुलन गर्न शिवनाथ गाउँपालिकाले आफ्नो कार्यालयको भान्सामा दलितलाई भान्से राखेर परिवर्तनको सुरुवात गरेको उपाध्यक्ष चन्दले बताउनुभयो ।

बैतैडीको अर्को दोगडाकेदार गाउँपालिकाले बिजुली बत्ती नपुगेर अँध्यारोमा बस्दै आईरहेका सबै दलित घर परिवारलाई सोलार वितरण गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । त्यसैगरि पञ्चेश्वर गाउँपालिकालाई छुवाछूत मुक्त गाउँपालिका घोषणा गरिएको अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

बैतडीमा रहेको १० वटा स्थानीय तहले जातीय विभेद अन्त्य गर्न पहलकदमी चाल्न सके जातीय विभेदको कलंक मेटिन समय नलाग्ने दलित अगुवाले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?