logo
२०८१ बैशाख १४ शुक्रवार



नेपालद्वारा नेदरल्याण्ड्स समक्ष २०७ रनको लक्ष्य प्रस्तुत

क्रिकेट |
खेलकुद |


नेपालद्वारा नेदरल्याण्ड्स समक्ष २०७ रनको लक्ष्य प्रस्तुत
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ७ गते । नेपालले नेदरल्याण्ड्स समक्ष दुई सय सात रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला अन्तगर्तको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्स बिरुद्ध पुरै २० ओभर खेल्दै छ विकेटको क्षतिमा २०६ रनको योगफल तयार गरेको हो ।
टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै दोस्रो सर्बाधिक ठूलो योगफल हो । यसअघि नेपालले दक्षिण एशियाली खेलकुदमा भुटान बिरुद्ध २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो । तर टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरियतामा नेपालभन्दा तीन स्थान मात्रै मुनि रहेको नेदरल्याण्ड्स बिरुद्धको प्रदर्शनले नेपालको ब्याटिंगमा सुधार आएको देखाएको हो ।
नेपालले नेदरल्याण्ड्स बिरुद्ध तयार गरेको योगफल प्रतियोगिताको सर्बाधिक ठूलो योगफल हो । यसअघि नेदरल्याण्ड्सले मलेसिया बिरुद्ध १९२ रनको योगफल तयार गरेको थियो ।
सुरुवाती र मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले १२ औं ओभरदेखि १७ औं ओभरको बीचमा ७१ रन जोडेपछि महत्वपूर्ण चार विकेट गुमाउन पुग्दा अपेक्षाकृत योगफल जोडन सकेन ।
नेपालको ब्याटिंगमा सोमपाल कामी र बिनोद भण्डारी अविजित रहनुभयो । सोमपाल मात्र १३ बलमा २१ रन तथा बिनोद भण्डारी सात बलमा सात रन बनाएर अविजित रहनुभयो ।
यद्दपी नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन कुशल भुर्तेलले प्रतियोगितामा लगातार तेस्रो अद्र्धशतक लगाउनुभयो । उहाँले मात्र ४१ बलमा आफ्नो अद्र्धशतक पुरा गर्नुभयो । १३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तको बलमा छक्का लगाएर उहाँले अद्र्धशतक पुरा गर्दा नेपालले दुई विकेटको क्षतिमा ११७ रन जोडेको थियो । १५ औं ओभरको तेस्रो बलमा कुशल भुर्तेल भिभियन किंग्माको बलमा डी लीडको हातमा क्याच थमाउनुअघि ६२ रनको योगदान दिनुभयो । उहाँले ४६ बलमा आठ चौका र एक छक्का लगाउनुभयो ।
दिपेन्द्रसिंह ऐरीले अर्को छेऊबाट साथ दिएपछि नेपालले सम्मानजनक योगफल तयार गर्न सफल भयो । भुर्तेलले ऐरीसँग तेस्रो विकेटका लागि मात्र ४५ बलमा ७८ रनको साझेदारी गर्नुभयो ।
ऐरीले मात्र २८ बलमा अद्र्धशतक लगाउनुभयो । उहाँले १६ औं ओभरको पहिलो दुई बलमा दुई छक्का लगाएर अद्र्धशतक पुरा गर्नुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा यो उहाँको पहिलो अद्र्धशतक हो । ओभरकै अर्को बलमा ३० बलमा तीन चौका र पाँच छक्का लगाएर ६० रनको ब्यक्तिगत् योगफलमा उहाँ पेभेलियन फर्किनुभयो । पीटर सीलरले उहाँलाई भिस्सीको हातबाट क्याच आउट गराउनुभयो । ऐरी पेभेलियन फर्किदा नेपालले १५ ओभर तीन बलमा १५४ रन जोडेको थियो । ऐरीपछि ब्याटिंग गर्न आउनुभएका कुशल मल्लले मात्र सात बलमा तीन छक्काको सहयोगमा १८ रन बनाएर पेभेलियन फर्किनुभयो । मल्ल पेभेलियन फर्किदा नेपालले १७ ओभरमा पाँच विकेटको क्षतिमा १६ ओभर चार बलमा १७६ रन बनाएको थियो । करण केसी मात्र एक रन बनाएर पेभेलियन फर्किनुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको नेपालले २० रनमै आशिफ शेषको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । कुशल र आशिफको ओपनिङ जोडीले यसअघि प्रतियोगिताको दुबै खेलमा शतकीय साझेदारी गरेर उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । आशिफ भिभियन किंग्माकै बलमा डक आउट हुनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन बनाएर पेभेलियन फर्किदा नेपालले सात ओभरमा ६३ रन जोडेको थियो । मल्लले १४ बलमा दुई चौका र एक छक्का लगाउनुभयो ।
नेदरल्याण्ड्सका लागि पीटर सीलर र भिभियन किंग्माले सामान दुई दुई तथा बास डे लीड र आर्यन दत्तले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?