logo
२०८१ बैशाख १५ शनिवार



बुवाले एक महिनाअघि खसी ल्याउन छाड्नुभयो

शनिवार |


बुवाले एक महिनाअघि खसी ल्याउन छाड्नुभयो


दीपक

हाम्रो समाज यति छिटो परिवर्तन भइरहेको छ कि हाम्रा चाडपर्वहरू बाल्यकालमा जसरी मनाइन्थ्यो, त्यो अहिले छैन । त्यो बेला मनाइने चाडपर्व र अहिले मनाइने चाडपर्वमा आकाश–जमिनको फरक छ ।
सानो छँदा हजुरबुवाले भन्नुहुन्थ्यो, “बजारमा यति पैसाले लुगा किन्थेँ, यति पैसाले यो किन्थेँ, यति पैसाले त्यो किन्थेँ ।” हजुरबुवाको कुरा सुनेर अचम्म लाग्थ्यो तर पछि थाहा भयो कि यस्ता कुरा निकै प्रिय हुने रहेछन् । हिजोआजका पिँढीलाई पनि मैले मेरा कुरा सुनाएँ भनेँ उनीहरूलाई अचम्म लाग्छ । यही कुराले पनि प्रस्ट हुन्छ कि पहिलेका दशैँ र अहिलेका दशैँमा निकै अन्तर आइसक्यो ।


बाल्यकालका दशैँ हामीले अभावमा मनायौँ तर त्यो अभावमा मनाएको दशैँको जुन सम्झना छ; त्यो लाखौँको छ, करोडौँको छ । त्यति बेला मैले थोरै पैसाले प्राप्त गर्ने आनन्द अहिले सुविधा नै सुविधाले भरिएको जिन्दगीमा प्राप्त हुन सक्दैन । एक त जिम्मेवारीले पनि हुन सक्छ, अर्को ती चीजहरू जुन सांस्कृतिक मान्यताहरूसँग जोडिएका छन्, ती नष्ट हुँदै गएर पनि होला । पिङमा मच्चिएर लिने आनन्द अहिले दुई क्वाटर खाएर झुल्ने आनन्दमा परिणत भएको छ । लङ्गुरबुर्जा खेलेर लिने आनन्द अहिले म्यारिजमा परिणत भएको छ । मालश्री धुन वा दशैँका धुनहरू सुनेर आनन्द लिएको अहिले देख्न पाइँदैन । यी सबै चीज अब केवल सम्झनामा मात्र सीमित छन् । दशैँ मनाइरहँदा म यी चीजहरू ‘मिस’ गरिरहेको हुन्छु ।


काठमाडौँको काँठ क्षेत्रमा जन्मिएँ । काठमाडौँ भए पनि निक्खर गाउँको जीवनशैली जस्तो हुन्छ, त्यस्तै नै थियो मेरो गाउँ पनि । बत्ती, बाटो ढिला पुगेको । गाई, गोठ, भकारो, खेतीपातीसँग मेरो बाल्यकाल बित्यो । पछि मात्र सडक पुग्यो, रहनसहन फेरियो । सहरीकरणको हावा पनि लाग्यो । अहिलेका युवालाई त टेलिभिजनले नै पोसाकदेखि सबै कुरा सिकाएको छ । एक किसिमले भन्ने हो भने टेलिभिजनले उनीहरूको दिनचर्या नै फेरिदिएको छ ।


दशैँमा पिङ त कहीँ–कहीँ मात्र देख्न पाइन्छ । पहिला–पहिला हरेक टोलमा एक–एकवटा पिङ हालिन्थ्यो । रोटे पिङ पनि खेलियो । अब रोटो पिङ त सायद पुराना–पुराना सिनेमामा मात्र देख्न पाइन्छ होला । परिवर्तनको यो क्रम जारी छ । यो परिवर्तनमा हामीले अलिकति सांस्कृतिक पक्षचाहिँ गुमाउँदै छौँ, त्यो अलि दुःख लागेको कुरा हो । अझ दशैँभन्दा तिहारको बिजोग छ । तिहारमा यति धेरै हाम्रा सांस्कृतिक चिजहरू जोडिएका छन्, जुन हामीसँग अब छैन ।


बाल्यकालमा दशैँ आउन लागेको एक महिनाअघिदेखि क्यालेन्डर हेरेर हरेक दिन आज सकियो, भोलि सकियो भन्दै घटस्थापना कहिले आउँछ भनेर चिह्न लगाउँथँे । नयाँ नानाको रहर नि ! त्यति बेला एक जोर पोसाकको महŒव पनि धेरै थियो । अभावमा मानिस सानो–सानो कुरामा पनि धेरै खुसी हुने रहेछ जस्तो लाग्छ अहिले । हामीसँग भौतिक सुविधा त आयो तर हामीबाट हाम्रा धेरै चिज नासिँदै गयो ।


सानोमा नयाँ लुगा किन्न गएको, कुन लुगा किन्ने होला भनेर छानिरहेको याद आउँछ यति बेला पनि । बुवाले धेरैजसो स्कुलकै ड्रेस किनिदिनुहुन्थ्यो । दोहोरो फाइदा भएर नि । स्कुल ड्रेस लगाएर दशैँ मनाइन्थ्यो । अहिले लुगाहरू धेरै छन् तर सन्तुष्टि कम छ । गत दुई वर्षदेखि नवदुर्गाको व्रत बस्न थालेको छु । त्यसकारणले घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म एक छाक, त्यो पनि सेवई खाएर बस्छु । नवमीको दिन पूजा गरेपछि मात्र मेरो दशैँ सुरु हुन्छ तर यस पटक जुठो परेको छ । ठूलीआमा बित्नुभयो । यसैले व्रत र पूजाआजा यसपालि हुँदैन । त्यसैले परिवारसँग कतै घुम्न जानुपर्छ कि भन्ने पनि लागिरहेको छ ।


यसैगरी दशैँका लागि भनेर बुवाले एक महिनाअघि नै खसी किनेर ल्याउनुहुन्थ्यो । बिहान उठ्नेबित्तिकै त्यो खसीलाई जिस्क्याउने, घाँस ल्याएर हाल्ने गर्थें । खसीसँग जिस्कँदा जिस्कँदै अष्टमीको दिनसम्म मेरो खसीसँग ‘लभ’ परिसकेको हुन्थ्यो । खसी काट्दा म रुन्थेँ । एक वर्ष त मैले खसी काट्न नै दिइनँ । धेरै झगडा गरेँ । त्यसपछि बुवाले दशैँको एक महिनाअघि खसी ल्याउन नै छाडिदिनुभयो । दशैँको खसी बुवाले एक÷दुई दिनअघि मात्र ल्याउन थाल्नुभयो । अहिले त म शाकाहारी भएको छु । घरमा मासु खानेले खान्छन् । भान्साचाहिँ छुट्टै छ । सँगै बसेर पनि खान मन लाग्दैन ।


लगभग ६० जना एकै ठाउँमा बसेर हामी दशैँको टीका लगाउँछौँ । यति धेरैको जमघट हुने भएपछि एकजनासँग टीका थाप्न नै पन्ध्र÷बीस मिनेट कुरेर बस्नुपर्छ । जुठो परेको हुनाले यसपालि टीका लगाउने कुरै भएन । सँगै बसेर खानेपिउनेचाहिँ हुन्छ । खासमा अहिलेको दशैँ नै खानेपिउनेमा गएर अड्किएको छ । जुन हामी सधैँ गर्छौं । परम्पराचाहिँ सकियो, खानेपिउने काम मात्र भएको छ ।


पहिलेका दशैँ सम्झँदा अर्को कुरा गाउँका सबै जना चौतारीमा जम्मा हुन्थे । रमाइलो गर्थे । कोही लङ्गुरबुर्जा खेलिरहेका हुन्थे । कोही टीका लगाएर ओहोरदोहोर गरिरहेका हुन्थे तर अहिलेको टीका पनि ‘सेलेक्टिभ’ भएको छ । टीका पनि दाम हुनेसँग, प्रतिष्ठा हुनेसँग मात्र बढी थापिन्छ । कुनै साइनो नै नपर्ने मानिसकहाँ पनि म त हजुरको आशिष् थाप्न आएको भन्दै पुग्नेहरू पनि छन् तर मावली, बूढो मावलीका हजुरबुवा नाति आउँछ कि भनेर कुरिरहेका हुन्छन्, त्यहाँ टीका लगाउन जाँदैनन् । नेता, उच्च पदमा आसीन व्यक्तिकहाँ साइनो लगाउँदै पुग्छन् । यसरी दशैँको टीका पनि चाकडीमा परिणत भएको छ । यस्ता कुरा मलाई पटक्कै मन पर्दैन । मलाई के गरेर फाइदा हुन्छ भनेर सोच्ने हुनाले दशैँको टीकामा समेत विकृति आएको छ ।


यसैगरी दशैँ फेसबुकका वालमा सीमित रह्यो । यहीँबाट शुभकामना आदानप्रदान हुन्छ । एउटा धुन हालेर पठायो अनि अर्कोले ‘सेम टु यु’ भनेर बस्छ । यसले आत्मीयता कम औपचारिकता मात्र निर्वाह गरेको छ । समाजको मानसिकता नै एकदमै स्वार्थी भएको छ । के गर्दा आपूmलाई फाइदा हुन्छ, त्यही मात्र गर्ने गरिएको पाइन्छ ।

स्मरणीय दशैँ


अहिले टेलिभिजन आयो, म १४÷१५ वर्षको हुँदा रेडियो मात्र थियो । यही बेलादेखि ममा कलाकारिताको भूत सवार थियो । दशैँमा नाटक मञ्चनका लागि साउनदेखि नै मैले एउटा समूह बनाउँथेँ । नाटक लेख्थेँ । रिहर्सल गर्थें । दशैँको नवमीको दिन यो नाटक मञ्चन हुन्थ्यो । मञ्चन गर्नका लागि स्टेज बनाउँथ्यौँ । स्टेज बनाउन बाँस काटेर ल्याउँथ्यौँ । त्यति बेला गाउँमा बिजुली बत्ती पनि थिएन । राति मइन्टोल बालेर नाटक मञ्चन गथ्र्यौं । गाउँभरिका सयौँ आमाबा, दाजुभाइ, दिदीबहिनी जम्मा भएर हामीले बनाएको नाटक हेर्नुहुन्थ्यो । नाटक हेरेर तिहारसम्म पनि उहाँहरूले हाम्रो प्रशंसा गरिरहनु हुन्थ्यो । टीका लगाउँदा पनि ‘केटा तैँले त हिजो साह्रै हँसाइस् है’ भन्नुहुन्थ्यो । यसरी हामीले चार÷पाँच साल नाटक मञ्चन ग¥यौँ । प्रशंसा बटुलेका कारण ती दशैँ अहिले पनि मेरा लागि स्मरणीय बनेर बसेका छन् । त्यो बेला दशैँमा नयाँ लुगा लगाउनेभन्दा पनि नाटक गर्ने जोश थियो । यही कुराले नै मलाई आज यहाँसम्म पु¥याउन मद्दत पनि ग¥यो भन्ने लाग्छ ।

नरमाइलो दशैँ

आमा नभएपछि मलाई हजुरबाले नै हुर्काउनुभएको हो । सानोमा म हजुरबासँग बार्दलीमा सुत्थेँ । एक पटक दशैँको नवमीका दिन राति हजुरबुवा ओछ्यान सम्झेर बार्दलीको बाहिर सुत्न पुग्नुभएछ । एक तला माथिबाट लड्दा हजुरबा डेढ महिनासम्म थला पर्नुभयो । यो दशैँ खल्लो भयो । यो दशैँ अहिले पनि नरमाइलो दशैँको रूपमा सम्झनामा आइरहन्छ ।
कोरोनाले मनोरञ्जन क्षेत्र त तहसनहस नै पा¥यो । यो क्षेत्र अहिलेसम्म उठ्न सकेको छैन । भाग्य भन्ने कि दुर्भाग्य, मेरो पेसा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित छ । मनोरञ्जन भन्ने विषय मानिसको अन्तिम प्राथमिकतामा पर्छ । कोरोनाले वर्षभरि नै पीडा दिएपछि दशैँ मात्र राम्रो हुने भन्ने कुरै भएन । कोरोनाकालको दशैँ सबैका लागि नरमाइलो भएर बित्यो । हामी पीडा चाँडै भुल्छौँ । भुल्नु पनि पर्छ । निराशामा सधैँ बाँच्नु पनि हुँदैन । अहिले मानिसको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको भीड लागेको छ । अब केही आशा पलाएको छ । कति ऋणमा होलान्, कतिले पढ्न पाएनन् होला, कतिले दुःख पाए होलान् । त्यसैले कोरोनाले दशैँलाई मात्र होइन, सम्पूर्ण जीवनलाई नै थला पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?