logo
२०८१ बैशाख १५ शनिवार



सम्मोहनको जुनेली रात

शनिवार |


सम्मोहनको जुनेली रात


नरेन्द्रराज पौडेल

कुरा २०२९ साल फागुनतिरको होे । त्यतिखेर दुई दिनको बिदामा घरको काम छोप्न सीपापोखरे गएको थिएँ । घर पुग्नेबित्तिकै “मावलीबाट हजुरबाले भेट्न बोलाउनुभएको छ” भन्नुभएथ्यो आमाले ।
भोलिपल्ट बिहान सबेरै तीनघरे मावली जाने हुटहुटी दिमागमा बोकेर सुतेको । निद्रामा पनि बाल्यकालमा तीनघरे बस्दा खट्पाबिसी फाँटमा गोरु जुधाएका, डण्डीबियो र कान्ला फट्किने खेलमा बाजी मारेका, इन्द्रावतीका दहपिच्छे दिनदिनै चहारेर जेठको धूपमा पौडी खेलेका अनि तातो बालुवामा लडिबुडी गर्दै काँचा आँप टिपेर थेबे कुट्तै जिब्रो फट्कारेर खाँदै गरेका, गोठालाहरूका आँखा छलेर गोठभित्र झुण्ड्याएका ठेकीबाट दही चोरेका आदि नानाथरी सपना देखेछु । मावली बस्दाको बाल्यकालका ती मिहिन सम्झनाहरू किशोरकालको वय सन्धिमा आइपुग्दा पनि अवचेतनको स्मृतिसरणीमा गैरीखेतको मार्सीधानझैंँ झुलिरहेका । झल्याँस्स बिउँझिँदा घरकै ओछ्यानमा रहेछु । हत्तपत्त झ्याल खोलेँ । कँुडारका केरा, आँप, कटहर, मेवा र कोइरालाका हरिया पातपातमा उज्यालो नाचिरहेको । तलको फराक बगर इन्द्रावतीको प्रवाहलाई नीलो सुर्केटीका बनाएर प्रफुल्ल हाँसिरहेको । मण्डन, तिमाल, देउपुर, नालदुमका डाँडाहरू आआफ्ना साँधसीमाभित्र हरियो कान्तिमा एकाकार शान्त, मौन थुपुथुपु बसिरहेका । बगरमाथि माझी, दनुवारका गाउँघरहरू शान्त मौन बनेर निदाइरहेका । आकाशमा टहटह जुन छचल्किरहेको । धर्तीमा एकछत्र उज्यालो टप्किरहेको । झ्यालबाट देखिने यो मनमोहक दृश्यावलीबाट आँखा एकछिन त्यसै लठ्ठिएछन् ।

खाटबाट जुरुक्क उठेर खुरुक्क तल झरँे । गाग्रीबाट एक अम्खोरा पानी सारेर आधाले मुख धोएँ, आधा ठाडो घाँटी लगाएर कलकल पारेँ । साटसुट्ट लुगा फेरेर मूलढोकाको आग्लो खोेलँे । बाहिर आँगनमा निस्किँदा अभैm उज्यालो थपिएजस्तो लाग्यो । रातको जूनमाथि दिनको उज्यालो पनि थपिएर धर्ती चुम्न आइपुगेको हो कि ? आपैmँलाई सोधी हेरेँ । जूनको मात्र उज्यालो यति चहकिलो यति भास्वर अवश्य हुँदैन, दिन उदाएकै हो । नाडीको घडी हिजै कटेराको दुलाभित्र आफैँले छोडेको थिएँ । काठमाडौँबाट पुग्नेबित्तिकै सुँगारोबारी खन्न लाग्दा फुकालेको घडी यतिबेर पो सम्झनामा उदाउन भ्याएछ । त्यसको आवश्यकताले दिमाग अँचेट्न थाल्यो तर जति जे नै भए पनि अहिले त्यसलाई लिन सुँगारोतिर जानुभन्दा मावलीतिरै लाग्नु वेस भन्ने लाग्यो । आँगनबाटै कौलासेरले भनँे, “आमा म तीनघरे गएँ,” तर आमा भएको चोटाबाट प्रत्युत्तर आएन । बाहिरबाटै ढोका ढप्काइदिएर बाटो लागेँ । शायद आमा बिउँझिनुभएकै थिएन । हिजोअस्ति चाँडै उठ्ने आमा आज यतिबेरसम्म किन बिउँझिनु भएन ?

अनायासै ठूलीआमा बस्ने पल्लो घरको बलेसी नाघेर उँभो लाग्ने गौँडातिर पाइला चले । घरैछेउ बाटापरिको चिलाउनेको बुढो रुख युगौँदेखि हाम्रो घरको पहरेदारी गरेर उभिएको थियो । वायव्य दिशाबाट बेलाबेला आउने ठुल्ठुला आँधीहुरीबाट हाम्रो घरलाई फरिको ओढाएर जोगाउने त्यही विशाल वृक्ष थियो । पुर्खाकै पालादेखि पूजाआजा गरिआएका कुलदेवताको थातथलो चिनाउने र छहारी दिने विधाता पनि त्यही बुढो रुख थियो । त्यसका अनगिन्ति टोड्काहरूमा परेवा, ढुक्कुर, कौवा आदि चराहरू आआफ्ना फुल कोरल्ने र बचेरा हुर्काउने ध्याउन्नमा हुन्थे । गँुडमा हुर्किंदै गरेका चल्ला, बचेराको सिकार गर्न आउने मलसाँप्रा, बाज, चील, हुच्चीलका जमातलाई रैथाने चराहरू मिलेर मज्जैले घेरा हालीहाली लखेट्ने गर्दथे । बाजले चल्ला छोपेको र कौवाको जमात मिलेर प्रतीकार गर्दाको भिडन्त निकै लामो समय चलिरहन्थ्यो । फुल चोर्न आउने चिबेचरालाई कौवाले लखेटेको र सानो भइकन पनि चिबे चराले आफ्ना चल्ला चोर्न आउने कौवामाथि झम्टिने तरिका देखेर हामी छक्कै पर्दथ्यौँ ।

बाटो लाग्दा शीतल, शान्त थियो मन । आफ्नै घरको रुँगालु त्यो चिलाउने वृक्षको छहारी नाघेर बरबोटे चउरतिर अगाडि बढेँ । अलिक उच्च मैदान परेको बरबोटे चउरबाट वारिपारि चारै दिशा शान्त, सौम्य, धवल प्रकाशमा छाछट्ट खुलेका देखिए । सयौँ वर्ष पुरानो त्यो विशालकाय वरवृक्ष पनि आफ्नै गौरव गरिमा कायम गर्दैै उच्च शिरमा उभिएको थियो । त्यसैको बाक्लो छहारीमुनि हामी केटाकेटी छँदा कहिले गुन्द्री ओछ्याएर चीँ मुसी चीँ खेल्ने गर्दथ्यौँ, कहिले ससाना दर्शनढुङ्गा बटुलेर गट्टा खेल्दथ्यौँ । कहिले पुराना पैसा चोरेर गाउँले दौँतरी भेला गर्दै म खोपी पनि खेल्थेँे । कहिले भने आफ्नै छिमलका अपरिचित केटाकेटी त्यो बाटो हिँँडेको देखे बारबाट सिमाली, निम्तेलका हाँगा भाँचेर पिछा गर्दै लखेट्ने गर्दथ्यौँ । अक्सर तिथिसरादछेक भान्दाइ, भञ्जीदिदी, भाञ्जेभाइहरू हाम्रो घर आएको बेला उनीहरूकै सहकार्यमा यस्ता उदण्डताका वारदात हुने गर्दथे । केउरिनीकी मिट्ठू भाञ्जीदिदी भने सबै दाइभाइलाई तह लगाएर यस्ताखाले वारदात गर्न र दादागिरी देखाउन अघि सर्थिन् ।

आँखा डुल्दै गर्दा बरबोटभन्दा अलिपर मालदह आँपको पोथ्रो हलक्कै बढेर झ्याम्मै गुदुमुने भइसकेको हुन्थ्यो । यसै बर्खादेखि फल पनि लागिसक्यो भन्नुभएथ्यो आमाले । बरबोटे चउरको शोभा बनेको बर्खेआहाल नाघेर पाइला उँभो बढ्दै गए । अबको बाटो अलि दम्स्याइलो पाराको उकालो थियो । बेलाबोटमाथि चौतारीमा पुगेर एकछिन विश्राम लिएँ । दिन हो कि रात, साँझ हो कि बिहान ! रुवा फट्कारेझैँ उज्यालो छरिएको देखिन्छ इन्द्रावती उपत्यकाभरि । अनिर्वचनीय रूपमा शान्त, शालीन र भव्य देखिने त्यो परिवेश साँच्चै रमणीय लाग्दथ्यो । गोडा पुनः चलायमान बने । बर्खे बाढीले खोलेर औडेखौडे बनेको भलको बाटो सावधानीपूर्वक ढिस्का खुट्किलामा पाइला राखेर पार हुँदै गएँ । मोहोरपानीको पँधेरो आइपुगेछ । पानी भरेर डमडमती पेट फुलाउँदै निदाइरहेका थिए तल्लो माथिल्लो भनिने जातले प्रयोग गरी आएका दुई अलग कुवा । तिनलाई हिउँद बर्खैभरि ओत र स्रोत दिँदै आएका आधादर्जन भीमकाय कटुस, चिलाउनेका रुखहरू भने जातपात, साँधसीमाको झैझगडा नगरी भद्र पाराले कुवामाथि शान्त मौन उभिएका । तिनका हाँगापातका अन्तरबाट झरेको जूनको प्रकाश छिर्बिरे तन्ना बनेर जमिनमा फिँजारिएको । पँधेरो नाघेर दम्स्याइलो बाटो एकैछिन हिँड्दैमा सुनारगाउँ आइपुगेछ । त्यसलाई पनि नाघेर तेर्सो फराक बाटोमा पाइला चले । कार्कीछापतिर जाने गाँैडो काटेर तीनपिप्ले पुग्दा जूनमा टल्किएर छ्याङ्गै खुलेको हिमाल देखियो । मनले कताकता कावा खाँदै त्यही सेतो हिमालको काखमा लुटपुटिन पुगेको भान भयो ।

“न वा त्यो चरी हो न वा त्यो परी हो ! न वा विश्व सौन्दर्यको चातुरी हो !” महाकवि देवकोटाको काव्यपङ्क्ति याद आयो । गणेश हिमाल, लाङटाङ जुगल हिमालका काखमा बसेका सुनसान नीरव मौन गाउँबस्तीहरू यतिबेर अनौठो हरियाली र आभाको बिस्कुन छर्दै गरेजस्ता देखिन्थे । “ओ सोलीच्युड ह्वेयर इज दाइ चार्म ?” भवानी सरले पढाएको अङ्ग्रेजी कविता बल्ल सार्थक लाग्यो । सरलाई पनि यो दृश्यावली देखाउन पाए कति मज्जा आउने थियो भन्दै थियो मनले । करेसाको बाटो गाउँ नाघेर पल्लो छेउ पुगेँ । उँभो जाने मूलबाटो छोडेर डण्डूर परेको गहिरो खोल्साबाट झर्नुपर्ने ! बर्खा पानी पर्दा र हिउँदमा शीत झर्दा हदैसम्म चिप्लो हुन्थ्यो त्यो बाटो । कुनै बेला उस्तैउस्ता हामी केटाकेटी एकले अर्काको हात समातेर पार हुन लाग्दा खुट्टा चिप्लिएर दुवैथरी डङ्ग्रङ्गै पधारिएका हुन्थ्यौँ । अनि शीघ्रातिशीघ्र बल्ड्याङ खाँदै खोल्सातिर मुख जोत्न पनि भ्याइहाल्थ्यौँ । कहिले भने बाटाको यो छेउ र त्यो भित्तो टेक्दै हिलोमा मुन्टो जोतिने दुर्घटनाबाट आआफैँले बचाएका थियौँ । बाल्यकालको त्यो साहसिक यात्रा नै रमाइलो पहेली बनेर यतिखेर एक्लो ज्यानलाई हँसाइरहेको थियो ।

कान्लैकान्लाको ओरालो बाटो फड्का हालेर बाँकटे हान्दै गडगडे धारामाथि पुग्दा छेउको खिर्राको बोटमा आँखा अडिए । ठूलै पहराको डिलमा उभिएको जब्बर देखिने भीमकाय त्यो बोटले शिशु अवस्थामा मेरो ज्यान जोगाएको थियो रे । कुरा के भएछ भने दुईमहिने शिशु अवस्थाको मलाई कोक्रामा बोकाएर आमा माइत जाँदै गर्दा भरियाकेटी सान्नानी कान्लाको डिलमा कोक्रो ठोस्सिएर हुत्तिँदै पछारिन पुगिछ । अनि कोक्रो उछिट्टिएर पहरामाथि खिर्राको बोटमा अल्झिएछ । आमा, सानिमा दुवैले आत्तिएर गुहार मागेपछि मिजारटोलबासी खम्बासिं तामाङका माइला छोराले त्यो धरापमा अड्किएको कोक्रो सरक्क झिकेर आमाको जिम्मा लगाएका रहेछन् । अनि बल्ल पो आजसम्म यो संसार देख्न पाएको रै’छु मैले । माइली सानिमाले धेरैपटक यो कुरा भन्नुभएको थियो मलाई । गडगडे धारोमा ठाडो घाँटी लगाउँदै मज्जैले पानी पिएर पेट छ्वात्ल्याङछ्वात्ल्याङ पार्दै कुइँचामार भएँ ।

अम्बाघारी र सानो फाँट नाघेर अलिबेरमै तिपिनी पुगेछु । नाङ्गो कालो पहराभित्र गहिरो डण्डूर परेको खोल्साबाट छङछङ बग्दै गरेको तिपिनी खोला दिउँसै अँध्यारो लाग्दथ्यो तर रात भएर पनि आज छ्याङ्गै उज्यालो देखियो । खोलो नाघेर पारि भित्ताको छङ्गाछुर भीरको गोरेटोमा फटाफट पाइला चले । त्यो अनकन्टार क्षेत्र एकसासमा पार हुँदै फराक घरघाट लिएर एकनास प्रवाहित भइरहने ठूलोखोलातिर पाइला लम्किए । सबै ऋतु र मौसमपिच्छे एकनासको भद्र गतिमा चल्ने यो खोलो यतिबेर सुकेर मधौरु बनेछ । माथिको सल्लेरी डाँडामा खुइय गर्दै थोरै बेर उभिँदा पनि धेरै आराम मिलेको भान भयो । शीतल हावाले मुसार्दा जिउ चङ्गा भयो । पसिना ओभाए । अन्तमा पहाडी गाउँ हेरी सहरजस्तै लाग्ने तीनघरे गाउँ आज किन यतिबेरसम्म आलस्यमा मग्न बनेर दीर्घनिद्रा निदाइरहेछ ? मनमनै प्रश्न गर्दै गङ्गाहरि हजुरबाको ढोका ढकढक्याउन पुगेथेँ । पहिले त सबै परिवार विलखबन्दमा परेजस्तो लाग्यो । कोही पनि ढोका खोल्न आएन । निकै बल गरेर बोलाउँदै ढकढक्याएपछि माइजूले बल्ल ढोका खोल्नुभयो । त्यतिखेरै हजुरबा र हजुरआमा पनि तल झरेर बाहिर आउनुभयो र फलैँचामा बसेर आकाशको काखमा खेलिरहने पूर्णेको जूनतिर हेरेर भन्नुभयो । ठ्याक्कै आधारात भएछ । सुन्दै म चैँ जिल्ल परेँ । अलि हडबडाएजस्तो गर्दै हजुरबाले सोध्नुभयो, “यो आधा रातमा अनेकथरी खोला, खोल्सा जङ्गल, भीरपहरा पार हुँदै एकलासको बाटो कसरी आयौ ? कि कोही साथी पनि थियो ?”

“एक्लै हो आएको । नाडीमा घडी थिएन । बिउँझिँदा उज्यालो भएजस्तो लागेथ्यो ।” मैले विवशता पोख्दै भनेथँे । रात्रिमा हिँड्ने अनेकथरी निसाचर, भूतप्रेत, चोर, वनझाँक्रीलगायत प्रसङ्ग झिकेर हजुरबाले मेरो अर्घेल्याइँको झाँको झार्नुभयो । मलाई पनि आफ्नै चालादेखि यतिबेर आएर डर पो लाग्यो । गल्ती महसुस गर्दै अफशोच प्रकट गरेँ ।

माइजूले बार्दलीमा ओछ्यान लगाइदिनुभएछ । गएर भुक्लुक्क सुतेँ । ओछ्यानमा पल्टिएपछि त झन् निदाउनुको सट्टा त्यो भयावह भीरपहरा खोल्सा डण्डूर चिहान आदिको बाटो रातको समयमा पार गरेको सम्झनाले छटपटी लाग्न थाल्यो । आपूm सानै छँदाको कुरा, मोहोरपानीको पँधेरामा बाटो, कुवा सबैतिर ढाकेर हिउँको पहाडजस्तो सेतो ढिस्को तेर्सिएको देखेर फरक्कै फर्किएका माथि गाउँका दुर्गाप्रसाद बा हाम्रै घर बास बसेका थिए । उनी बेँसीबाट ढिलो घर फर्किंदा आधारातमा त्यो घटना भएछ । माथिको तीनपिप्लेको चउरमा रातानीला बत्ती हातमा लिएर बोक्सीहरू आधारातमा नाच्छन् भन्ने कुरा गाउँभरि प्रख्यातै थियो । न्यौपाने गाउँमाथि मैदानमा औँसीपूर्णेको राति भूतले छाडेका सेता घोडा बुर्कुसी मारेर दौडिँदै ओहोरदोहोर गर्छन रे भन्थे । पहराका बीचमा डण्डूर परेको तिपिनी खोलाको घुमाउने दहमा वनझाँक्रीले जलक्रीडा गर्ने गर्छ रे ! अनि एक्लैदुक्लै हिँडेका मानिसलाई घुमाउने दहभित्रको दरबारमा लगेर झाँक्रीविद्या सिकाएर पठाउँछ रे पनि भन्दथे कोही तर वनझाँक्रीले रिसाएर मान्छे लगेको रहेछ भने लाटोे बनाइदिने या ठहरै लास पारिदिने गर्छ रे भन्ने पनि व्यापक हल्ला थियो ।

विचारी सानुबाबु र केशव मामा, ऐँसेलुखर्कको कृष्णाष्टमी जात्राबाट आधारातमा घर फर्किंदा ठाँटीको चउरमा बडेबडे फर्सी र कुबिण्डा बग्रेल्ती गुडेका देखिएछन् । भूतले तर्साएको भन्ठानेर थरथर काम्दै फरक्क फर्किएका मामाहरूले बाटैमुनि बरबोटेको घरमा छिरेपछि बल्ल शान्तिको सास फेर्नु भएछ । एक अम्खोरा पानी कलकल ठाडोघाँटी लगाएपछि बल्ल सास आएको थियो रे ! मामाले घर फर्किएपछि त्यो घटनाको बयान गर्दा हामी सबै जना थर्कमान भएका थियौँ । यतिबेर बार्दलीको बिस्तरामा लडिबुडी गर्दा पनि यस्तै अनेकथरी सोच र सम्झनाले मेरो दिमाग गिजोलिरहेथ्यो । रातको बेला बाटो हिँड्दा लाग्नुपर्ने डर ओछ्यानमा पो पछ्याउन आयो ! चिटचिटे पसिनाले ओछ्यान ओस्सिएछ । यो कोल्टो र त्यो कोल्टो फेर्दाफेर्दै छटपटीमै लामो समय बितिगएछ । “भान्सा ठीक भयो । नुहाइधुवाइ गरेर खान आऊ बाबु !” भन्नुभयो हजुरआमाले । आँखा खोलेर हेर्दा त छानामाथि एक जुवा घाम पो चढिसकेको । चहकिलो न्यानो प्रकाशले लेकबेँसी, डाँडाकाँडा ढाकिसकेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?