logo
२०८१ बैशाख १४ शुक्रवार



गणेश पूजनोत्सव चौठचन्द्र

शनिवार |


गणेश पूजनोत्सव चौठचन्द्र


रामदयाल राकेश

भाद्र कृष्णपक्ष चतुर्थीको पावन अवसरमा चौठचन्द्र पर्व बडो उत्साह एवं उमङ्गसाथ मनाइन्छ । चन्द्रमा शीतलता प्रदान गर्ने देवताका रूपमा वेद र उपनिषद्मा वर्णित छन् । भदौको अँध्यारो पक्षमा चन्द्रमा क्षितिजमा उदित भएर केही प्रहरका लागि शीतलता विकीर्ण गर्ने गर्दछन् र प्रकाश पनि । यो चाड सम्पूर्ण तराई–मधेसमा मनाउने परम्परा अद्यापि विद्यमान छ । जब कि चन्द्रमाको सतहमा मानिसले पाइला टेकेको पनि धेरै भइसकेको छ तर पनि मानिसको आस्था र विश्वासमा केही कमी आएको छैन । आज पनि बडो उमङ्ग र उत्साहका साथमा यो पर्व मनाउने परम्परा अद्यापि जीवित छ । यो चौठचन्द्र एउटा प्रसिद्ध एवं प्रिय लोकपर्वका रूपमा आज पनि मनाइन्छ । एकाबिहानैदेखि व्रतालु महिला नुहाइधुवाई गरेर यसको सङ्कल्प गरेर दिनभरि उपवास गर्ने गर्दछन् । दिनभरि प्रसादका अनेक परिकारहरू बनाउनमा परिश्रम पनि उत्तिकै गर्ने गर्दछन् ।

प्रसादका विभिन्न परिकार बनाउन चहिने चामल र गहुँ चार दिन अघिदेखि पिँधेर तयार पारिन्छ । यस पूजाका लागि प्रयुक्त हुने कलश तथा प्रसाद राख्ने भाँडो धोएर पूजा गर्ने ठाउँमा प्रसादसहित राख्ने गरिन्छ । चन्द्रमा चौथीको मुहूर्तमा पश्चिमी क्षितिजमा देखापरेपछि प्रथम व्रतालु महिलाले चन्द्रमाको पूजा गर्छिन् र ढोग्ने विधिविधान पनि सम्पन्न गर्ने गर्छिन् । धार्मिक मान्यताअनुसार साँझमा चन्द्रमा उदाएपछि हातमा फलफूल र प्रसादका परिकारहरू लिएर पवित्र श्लोक पढेर चन्द्रमाको पूजाआजा गर्ने गर्दछिन् । यस अवसरमा पढ्ने श्लोक यस प्रकार रहेको छ :

‘सिंहप्रसेन मवधीत सिंहो जाम्बताहतः
सु्कुमारक मारो दीपस्तहस्य स्यमन्तकः
दधि शङ्ख तुषारा मम क्षीरोदार्णव संत्रवः
नमामि शशिनः भक्त्वा शंभु मुर्कुट भूषणम् ।’

यसलाई गणेश चतुर्थीका रूपमा सम्पूर्ण तराई–मधेसमा बडो धूमधामसित मनाउने गरिन्छ । यहाँ बस्ने महिला आफ्नो भाकल र मनोकामना पूरा गर्नका लागि यस पर्वको अनुष्ठान गर्ने गर्दछन् । मीठा परिकारहरू दिउँसोदेखि नै पकाउन प्रारम्भ गरिन्छ । परम्परागत रूपमा मनाइने यो पर्वले चन्द्रमा आराधनामा धर्मको निर्वाह र प्रकृतिप्रतिको सदाशयता दुवैलाई पुष्टि गर्दछ । प्रकृति पूजाको परम्परा सृष्टिको उषाकालदेखि नै प्रचलित हुँदै आएकाले पवित्र तिथिमा यसको पूजाआजा गर्ने विधान छ ।

व्रतालुहरू निराहार बसेर पुरी, पुवा, खीर र मिष्ठान्न तथा विभिन्न मौसमी फलफूलहरू लिन्छन् । साँझपख आँगनको निश्चित ठाउँलाई शुद्ध र स्वच्छ बनाउँछन् । त्यसमाथि अरिपन लोकचित्रकला निर्माण गरेर पूजाआजाको सबै परिकार केराको शुद्ध पातमा राखेर चन्द्रोदयको प्रतीक्षामा बस्ने गर्दछन् । चन्द्रोदय भएपछि अरिपनमा अष्टदल कमलको साथसाथै कुमुदिनी फूल, नैवेद्य आदि लिएर हात उठाएर चन्द्रमाको शुभदर्शन गरिन्छ । दूध, दहीको विशेषाकर्षक व्यवस्था गरिएको हुन्छ । व्रतालुले सर्वप्रथम पूजा एवं प्रसादका परिकारहरू चढाएपछि परिवारका अन्य सदस्यहरू पनि हातमा फलफूल र प्रसादका अन्य परिकार लिएर चन्द्रमातिर हात उठाएर उनलाई समर्पण गर्दछन् । खाली हात यस तिथिमा चन्द्रमाको दर्शन सदीयौँदेखि वर्जित गरिएको छ । चन्द्रमाको दर्शन सुखप्रद र शुभप्रद मानिन्छ ।

चन्द्रमा धेरै सुन्दर देवताका रूपमा सर्वविदित छ । उनलाई आफ्नो सौन्दर्यमाथि धेरै घमण्ड थियो । उनले गणेशलाई एकपल्ट हेर्दा उनको मुखबाट हाँसो फुट्यो । यसबाट गणेश धेरै क्रोधित हुन पुगे र उनलाई श्राप पनि दिए । आजदेखि तिमीलाई जसले हेर्छ, उसलाई कलङ्क लाग्नेछ । त्यसपछि चन्द्रमा कुमुदिनी फूलमा गएर लुके । उनले ब्रह्माजीसँग यस अभिशापबाट मुक्ति पाउनका लागि उपाए सोधे । ब्रह्माजीले गणेशको अभिशापबाट मुक्त हुनका लागि उनको पूजाआजा, श्रद्धा एवं आस्थासाथ गर्न भने । चन्द्रमाले गणेशको पूजा त्यस्तै विधिअनुसार गरेपछि गणेश धेरै प्रसन्न भएर उनलाई श्राप मुक्त गरिदिए । गणेशले यो पनि भने, जो मानिस यस तिथिमा श्रद्धापूर्वक मेरो पूजाआजा गर्नेछ त्यसलाई यो कलङ्क लाग्दैन ।
यस व्रत गर्नाले मिथ्या कलङ्कबाट मुक्ति, सुख, शान्ति र समृद्धि फलको प्राप्ति हुन्छ भन्ने लोकविश्वास छ । विघ्नहर्ता गणेशको पूजाआजा अद्यापि पनि प्रचलित छ । संस्कृत भाषामा यो स्लोकको पाठ नियमित रूपमा गर्ने गरिन्छ । जसबाट परिवारमा सुख समृद्धिको साम्राज्य पनि स्थापित हुन्छ–

“मङ्गलम् भगवान् विष्णु मङ्गलम् गरुड्ध्वज
मङ्गलम् पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ।।”

काठमाडाँै उपत्यकामा पनि नेवार समुदायले यस पर्वमा गणेशको पूजाआजा गर्ने परम्परा प्रचलित छ । यो एउटा पारिवारिक पर्व हो । जसमा परिवारका सबै सदस्य भाग लिने गर्दछन् । संस्कृतिविद् जिम गुडम्यानले आफ्नो पुस्तक ‘गाइड टु इन्ज्वय नेप्लिज फेस्टिभल्स’मा चन्द्रमालाई ‘मुन गडेस’ भनेका छन् ।
तराई मधेसमा लोकभाषामा यस पर्वलाई ‘ढेला चौथ’ भनिन्छ । यो व्रत गर्नाले झुटो कलङ्कको दोषको निवारण हुन्छ । यहाँ पनि माटोको डल्लो घर–घरबाट फ्याँकिन्छ । अरू केही नभए पनि बारीबाट काँक्रो चोर्ने गरिन्छ । गणेश, विष्णु, शङ्कर, सूर्य र भगवती देवीलाई पञ्चदेवता भन्ने गरिन्छ र यसमध्ये सर्वप्रथम गणेशको पूजा गर्ने परम्परा अझै जीवित छ ।

विधिविधान
गणेशको प्रतिमा स्थापना गरेर उनको पूजाआजा गरिन्छ । गणेशलाई गणाधिप, उमापुत्र, अघनाशन विनायक, ईशपुत्र, सर्वसिद्धप्रद, एकदन्त, œयम्बकम्, मूषकवाहन र कुमार गुरु नाम लिएर दूबो चढाइन्छ । गणेशलाई दूबो खुब मन पर्छ । यी १० नाम उच्चारण गरेर गणेशको चरणमा दूबो र मोदक (लड्डु) प्रसाद अर्पण गरिन्छ । दहीले परिपूर्ण कलश तथा फलफूल लिएर गाईको पैतालामा गाईको दूधमा चन्द्रमाको प्रतिविम्बको दर्शन गर्ने परम्परा अद्यापि जीवित छ । पहिलादेखि नै तयार पारेका प्रसादका प्रकारहरू चढाइन्छ । २१ लड्डुको प्रसाद अर्पण गरिन्छ । पाँच गणेश मूर्तिमा प्रसाद चढाइन्छ । पाँचवटा लड्डु ब्राह्मणलाई अर्पण गरिन्छ । तदुपरान्त परिवारमा यस प्रसादको वितरण गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?