logo
२०८१ बैशाख १४ शुक्रवार



सातो राखिने भीर

शनिवार |


सातो राखिने भीर


दीपेन्द्र राई


त्यतिबेला गाउँ–गाउँमा स्वास्थ्यचौकी थिएन । चिकित्सक हुने त कुरै भएन । स्वास्थ्यचौकी नभए पनि धामीझाँक्रीलाई चिकित्सकसरह मानिन्थ्यो । उनीहरूले चिकित्सकको काम गर्थे भन्दा कसैलाई अनौठो नलाग्ला ।
मानिस बिरामी हुन्थे । बिरामी भएपछि धामी बोलाइन्थ्यो । उनले बिरामीलाई जडीबुटी खुवाउँथे । झारफुक पनि गर्थे । बिरामीको सातो गएको सुनाउँथे । सातो फर्काउन धामीझाँक्रीको सहारा लिइन्थ्यो । हिजोआजसमेत लिइन्छ । धामीझाँक्रीले कहाँबाट र कसरी बिरामीको सातो फिर्ता ल्याउँछन् ? धेरैलाई थाहा हुँदैनथ्यो । सातो कसले र कहाँ लगेको हुन्छ ? भनेर थाहा पाउनु त झन् परको कुरा भयो ।

मानिस बिरामी भएमा सोलोमाले सातो लगेको धामीझाँक्रीले सुनाउँथे । ‘सातो फर्काउन सकिएन भने बिरामीको ज्यानै जान सक्छ,’ हलेसी तुवाचुङ नगरपालिका–९, सल्ले माथिल्लो चिचिङ्गा भूतखर्क निवासी नछुङ (धामी) उत्सवकुमार राई भन्नुहुन्छ, ‘आवाज निकालेर राति आकाशमा उडिहिँड्ने सोलोमाले मानिसको सातो समातेर लैजान्छ । उसले लगेको सातो सोलोमा पाखामा राख्छ ।’
‘कान्छा धामी’समेत भनेर चिनिने राईका अनुसार सोलोमाले मात्रै होइन, भूतप्रेत, मसान, जागित्रले समेत सातो लैजान्छ । ‘भूतप्रेत, मसान, जागित्रले लगेको सातो फिर्ता ल्याउन बलि दिनुपर्दैन,’ उहाँले थप्नुभयो, ‘सोलोमाले समातेर हलेसी तुवाचुङ नगरपालिका–९, माथिल्लो चिचिङ्गा सिरानटोलमा रहेको सोलोमा पाखामा राखेको सातो फिर्ता ल्याउन त्यति सजिलो हुँदैन । धामीले लाख बिन्ती गरेर बिरामीका सातो फर्काउन प्रयास गर्छन् । सातो फिर्ता दिन नमानेपछि सोलोमालाई कुखुराको बलि दिइन्छ । बलि दिँदा कुखुरातिर झम्टेको मौका छोपी धामीझाँक्रीले सोलोमाबाट बिरामीको सातो खोसेर ल्याउँछन् । त्यसपछि बिरामी जाती हुन्छन् ।’

सोलोमाबाट सातो फिर्ता ल्याउँदैमा बिरामी जाती हुन्छन् भन्ने छैन । किन ? ‘सोलोमाले लगेको सातोमा चोट लागेको हुनुहुँदैन,’ उहाँले जानकारी गराउनुभयो, ‘सातोमा चोट लागेको छ भने बिरामी जाती हुँदैनन् ।’
सोलोमा पाखालाई ‘साङ्केतिक पाखा’समेत भनेर चिनिन्छ । ‘पहिले–पहिले सोलोमा पाखामा मध्यरातमा बत्ती बलेको देखिन्थ्यो रे । स्थानीय लालसुन्दर राईले सोलोमा पाखामा दर्छिन ढुङ्गाजस्तै बलेको, त्यही ढुङ्गा खसेको आफूले देखेको र सुनेको हामीलाई सुनाउनुहुन्थ्यो,’ भूतखर्क निवासी गोपाल राईको कथन छ, ‘गाउँमा अनिष्ट हुनुअघि सोलोमा पाखामा विभिन्न किसिमका आवाज सुनिन्छन् । त्यस्तो सुनिएको केही दिनपछि गाउँमा अशुभ खबर सुन्नुपर्छ ।’
स्थानीय किरात राई समुदायले सोलोमालाई सिकारीका रूपमा पूजा गर्छन् । सोलुखुम्बुतिरका किरात राई धामीहरूले मृतात्मालाई सोलोमा पाखा हुँदै दूधकोसी पछ्याएर उँभो लैजान्छन् । सोलोमा पाखालाई ‘खेप्लोखा’समेत भनिन्छ । आदिम पुरुष खोक्चिलिपासँग खेप्लोखा जोडिएर आउँछ ।

‘आफूले खाइरहेको केरा हातैमा दिन अनुरोध गरेर मलम्दिमा (धामीज्ञान भएकी गुफामा बस्ने किराती पुर्खा)ले खोक्चिलिपालाई समातिन् । खोक्चिचिपा भाग्न खोजे,’ माथिल्लो चिचिङ्गानिवासी अजम्बर राईले भने, ‘संयोगवश खोचेली (खोक्चिलिपा) मलम्दिमाको हातबाट फुत्के । ज्यान जोगाउन उनी भाग्दै गए । मलम्दिमाले लखेट्दै गइन् । भाग्ने क्रममा अहिलेको सोलोमा पाखा पुगे । खोक्चिलिपाले सोलोमा पाखामा मलम्दिमालाई खेप्लो (हाँडी) प्रहार गरिन् ।’
‘खोक्चिलिपाले सोलोमा पाखामा मलम्दिमालाई खेप्लो प्रहार गरेकाले खेप्लोखा भनिएको हो,’ तल्लो चिचिङ्गाका सुन्दरबहादुर राई थप्छन्, ‘खेप्लोखामा हिजोआज पनि हाँडी फुटेपछिको जस्तो ढुङ्गा भेटिन्छन् ।’
सोलोमा पाखा पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ । टाढाबाट हेर्दा डरलाग्दो ढुङ्गेभीरजस्तै देखिन्छ तर गर्नेले यहाँ घाँस, दाउरा, गोठाला गरिरहेकै छन् । सोलोमा पाखाको फेदतिर सामान्य पहिरो जानु अस्वाभाविक होइन तर सोलोमा पाखाको स्वरूप परिवर्तन हुने गरी पहिरो नगएको स्थानीय गोपाल राईको भनाइ छ । ‘सोलोमा पाखालाई सांस्कृतिक पर्यटकीय स्थल बनाउँदै छौँ,’ राईले खुसी साट्नुभयो, ‘जानियो भने भीरपाखा पनि मानवनिर्मित सम्पदा बराबर हुँदोरहेछ । सोलोमा पाखाकै काखमा भलिबल ग्राउन्ड बनाउँदै छौँ । सोलोमा पाखाको थाप्लोमा वनभोज स्थल बनाउन लागिरहेका छौँ । सोलोमा पाखामा पवित्र स्थल बनाउँदै छौँ । त्यस्तै रक क्लाइम्बिङको सम्भाव्यताबारे पनि अध्ययन हुँदै छ ।’
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?