logo
२०८१ बैशाख १५ शनिवार



१६ वर्षपछि शिव र भुवन साथै

शनिवार |


१६ वर्षपछि शिव र भुवन साथै


राजन घिमिरे

अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एकसाथ पर्दामा देखिनुहुने भएको छ । शिव र भुवन यसअघि २०६२ सालमा प्रदर्शनमा आएको सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘राजु राजा राम’मा सँगै देखिनुभएको थियो । १६ वर्षपछि फेरि निर्देशक सोभित बस्नेतले नै चलचित्र ‘डाँडाको वरपीपल’मा उहाँहरूलाई एकसाथ लिनुभएको हो । ६० दिनमा छायाङ्कन सक्ने योजनाका साथ काम गर्ने तयारी गरिरहेको यो चलचित्र समूहले काठमाडौँ र चित्लाङ आसपासका क्षेत्रमा छायाङ्कन गर्ने जनाइएको छ । चलचित्रका अन्य कलाकारमा गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, अस्मि थापालगायत छन् । यस चलचित्रको कथा रामकाजी घिमिरेले लेख्नुभएको हो ।

युवराज पन्ध्र वर्षपछि फर्कंदै
अभिनय, निर्माण तथा निर्देशन तीनवटै विधामा सशक्त उपस्थिति जनाएका कलाकर्मी हुनुहुन्छ युवराज लामा । नेपाली चलचित्र क्षेत्रसँग लामो नाता गाँसेका लामा करिब डेढ दशकको अन्तरालपछि फेरि चलचित्र क्षेत्रमा फर्कने योजनामा हुनुहुन्छ । १५ वटा चलचित्रको निर्माण र १७ वटा चलचित्रको निर्देशन गरिसकेका लामाले पछिल्लोपटक चलचित्र धर्मात्मा बनाइसकेपछि कलाकारिता क्षेत्रबाट केही समय विश्राम लिनुभएको थियो । ‘अब भने चलचित्र क्षेत्रमा डटेर लाग्ने योजनाका साथ आएको छु । अहिले चलचित्रको कथा लेखनमा व्यस्त छु । चलचित्रसम्बन्धी पूरा जानकारी चाँडै गराउने छु,’ लामाले भन्नुभयो । करिब डेढ दशकपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्न लाग्नुभएका लामाको यो सक्रियतालाई चलचित्र वृत्तमा सकारात्मक रूपमा लिइएको छ ।

सर्ट फिल्म फेस्टा–२०२१
छायाँछवि क्रिएसनले आयोजना गरेको ‘पाँचौँ काठमाडौँ सर्ट फिल्म फेस्टा–२०२१’मा विभिन्न सर्ट फिल्मले अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवराज बु्ढाथोकी निर्देशित ‘हाउस हजवेन्ड’ले ‘इन्करेजमेन्ट अवार्ड’, लक्ष्मण सुवेदी निर्देशित ‘मेहन्दीको रंग’ले ‘बेस्ट कन्सेप्ट स्क्रिप्ट अवार्ड’, दीपेन्द्र लामा निर्देशित ‘सावधान’ ‘पब्लिक च्वाइस अवार्ड’, सरोज खनाल निर्देशित ‘बिहानीमै अस्ताएको सूर्य’ले ‘जुरी अवार्ड’, कल्याण अधिकारीले ‘सर्ट फिल्म निर्देशक अवार्ड’, पुरन जोशी निर्देशित ‘महः पुजा’ले ‘उत्कृष्ट डकुमेन्ट्री’ र अभिनव श्रेष्ठ निर्देशित ‘स्विट सिक्सटिन’ले ‘उत्कृष्ट सर्ट फिल्म अवार्ड’ जित्यो ।
कार्यक्रममा रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवं फिल्मी पत्रिका फिल्मीखबरको नाममा स्थापना गरिएको ‘फिल्मीखबर–सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार’ म्युजिक खबर डटकमका पत्रकार सुमन वैरागीले पाउनुभयो । पुरस्कारको राशि १० हजार १० रुपियाँ रहेको छ ।

‘तिम्रो मेरो साथ’ तयार

चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनका लागि तयार भएको छ । चलचित्रको सम्पूर्ण काम सकिएको छ । आफ्नो युनिट यो चलचित्रको प्रदर्शनका लागि सही मिति कुरेर बसेको जानकारी चलचित्रका निर्माता, गीतकार तथा निर्देशक रमेश एम. के. पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय प्रदर्शनका लागि तयार भएर बसेका चलचित्रहरूको भीडमा चर्चामा रहेको ‘तिम्रो मेरो साथ’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, सन्दीप क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको लेखन र कार्यकारी निर्माण सबिर श्रेष्ठको रहेको छ ।

बन्ने भयो ‘एक्स नाइन लेबल १’
अभिनेता अनमोल केसीले एक्सन थ्रिलर चलचित्र ‘एक्स–नाइन लेवल १’ मा अभिनय गर्नुहुनेभएको छ । यो चलचित्रमा अनमोलसँगै सौगात मल्ल पनि अनुबन्धित हुनुभएको छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायाङ्कन पुसको तेस्रो सातादेखि क्यानडा, युरोप र नेपालमा हुनेछ ।
सौगातले यसअघि निर्देशक भट्टसँग सिनेमा ‘लप्पन छप्पन’मा काम गर्नुभएको थियो । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पार्नुभएको हो । दिनेश भट्ट कार्यकारी निर्माता तथा राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री निर्माता रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?