logo
२०७८ कार्तिक ४ बिहीवार



नेपाली फुटबलमा नयाँ प्रयोग

एनएसएल

शनिवार |
खेलकुद |


नेपाली फुटबलमा नयाँ प्रयोग


प्रजित शाक्य

भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) खेल र व्यापारका रूपमा सफल भएपछि विश्वका लगभग ठूला क्रिकेट राष्ट्र यसप्रकारको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न अगाडि सरे । अस्ट्रेलियामा बिग बैस, वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बीपीएल, पाकिस्तानमा पीएसएल, श्रीलङ्का प्रिमियर लिग आदि । विदेशमा मात्र होइन, नेपालमा पनि टी–ट्वान्टी प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल), एभरेष्ट प्रिमियर लिग (ईपीएल) र पोखरा प्रिमियर लिग हुने गर्छ । फ्रेन्चाइ क्रिकेटको अनुशरण गर्दै पहिलोपटक नेपालमा फ्रेन्चाइ फुटबल नेपाल सुपर लिगको आयोजना भएको छ ।
यस्ता प्रतियोगिताको विशेषता हुन्– फ्रेन्चाइ (टिम मालिक)को मोडल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी लिलामीद्वारा टिम तयार पार्नु, ठूलो धनराशिमा टेलिभिजन प्रसारण अधिकारको बिक्री, अनि सहभागी टोलीले पनि थुप्रै प्रायोजकलाई संलग्न गराएर आफ्नो टिमको ब्रान्डिङ गर्नु । एनएसएलको पहिलो संस्करणमा नै प्रत्यक्ष रूपमा टिमहरूसँग थुप्रै प्रायोजक संलग्न भए । यसैगरी, यस्ता लिग टेलिभिजनका दर्शकलाई लक्षित गरी बनाइन्छ भन्दा पनि फरक पर्दैन ।
एनएसएलको पहिलो संस्करण सही अर्थमा टेलिभिजन दर्शकका लागि नै भयो । एनएसएलको मुखैमा कोरोना भाइरसको महामारीले खेलकुद गतिविधि बन्द गर्ने सरकारको आदेश जारी भयो । यद्यपि, एनएसएलका लागि भने सरकार खुकुलो बन्यो । एनएसएल दर्शकविना, कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक मापदण्ड अपनाएर खेलाउन सकिने भनियो । जसले गर्दा बाहिर बन्दाबन्दी भए पन रङ्गशालामा फुटबल चालु भयो ।  
खाली रङ्गशालामा खेलाइए पनि पहिलो संस्करणको एनएसएलको चर्चा व्यापक बन्यो । कोरोना कहरबीच भएको एकमात्र खेल गतिविधिका कारणमात्र होइन, सहभागी सातै टिमबीचको तीव्र प्रतिस्पर्धा र स्तरीय खेलका कारण एनएसएलबाट नेपालले फुटबलमा छुट्टै पहिचान बनायो । एनएसएलको लिग चरणका प्रत्येक खेलमा प्रत्यक्ष रूपमा युट्युबमा मात्र औसत १६÷१७ हजारभन्दा बढी दर्शकले हेरे । प्लेअफमा युट्युबमा प्रत्यक्ष दर्शकको सङ्ख्या ३०÷३५ हजार थिए भने फाइनल खेल प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढी दर्शकले हेरे । यसबाहेक टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने लाखौँ दर्शक बेग्लै छन् ।
एनएसएल सुरुमा नितान्त नयाँ प्रयोग थियो । अझ एनएसएल सुरु हुनै लाग्दा कोरोना सङ्क्रमणले निषेधाज्ञा जारी गरियो । यस्तो वातावरणमा आयोजक पनि यसको सफलतामा विश्वस्त हुन सकिरहेको थिएन । तर, पहिलो संस्करण सकिएपछि दोस्रो संस्करणको भव्यता र नेपाली फुटबलको स्तरीयतालाई लिएर अहिले नै हल्लाखल्ली भइसकेको छ ।
फुटबलर पनि एनएसएलको प्रशंसा गरेर थाकेका छैनन् । एनएसएलमा खेल्न खेलाडीले तुलनात्मक रूपमा राम्रो मूल्य पाए । यसबाहेक प्रत्येक खेलमा ‘इमर्जिङ प्लेयर’लाई दस हजारसहित उपहार र ‘प्लेयर अफ दी म्याच’लाई एक लाख रुपियाँ प्रदान गरियो । फाइनलमा सर्वश्रेष्ठ प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही एक लाख रुपियाँ प्राप्त गरे । प्रतियोगिताका लागि खेलाडी पाँचतारे होटलको सुविधामा रहे । फुटबलरले पहिलोपटक यस खेलमा व्यावसायिकताको अनुभव गरे । त्यसैले खेलाडीले विगतमा भन्दा मिहिनेत गरेर खेलेको पनि देखियो । प्रायः सबै खेल स्तरीय र रोमाञ्चक बने ।
एनएसएलको सफलताले अब भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिसजस्ता अन्य खेलमा पनि फ्रेन्चाइ लिग हुने सम्भावना देखिएको छ । छिमेकी देश भारतमा यी सबै खेलको फ्रेन्चाइ लिग हुने गर्छ । त्यहाँ क्रिकेटमात्र होइन, सबै खेलका खेलाडीलाई पूर्ण रूपमा व्यावसायिक बनाउन सहयोग पु¥याएको छ । नेपालमा पनि अन्य खेलका खेलाडीको यस्तै दिन आउला भन्ने अपेक्षा गरिएको छ । जेहोस् एनएसएलले नेपालमा फुटबल पूर्ण रूपमा व्यावसायिक हुन सक्दैन भन्ने सोचाइ गलत बनाएको छ ।

काठमाडौँ रेजर्स च्याम्पियन
एनएसएलको पहिलो संस्करणमा काठमाडौँ रेजर्स एफसी च्याम्पियन बन्यो । विकेश कुथूको नेतृत्वमा रहेको काठमाडौँ रेजर्सले धनगढी एफसीलाई फाइनल भिडन्तमा १–० ले हराएर पहिलो संस्करणको च्याम्पियन बन्ने गौरव हासिल ग¥यो । प्रतियोगितापूर्व सबै टिमलाई दाबेदारका रूपमा हेरिएको थियो । यद्यपि, कागजमा टिमको संरचना र खेलाडीको नामलाई हेर्दा विराटनगर सिटी एफसी र धनगढी सिटीलाई बलियो मानिएको थियो । विराटनगर राम्रो खेल्दाखेल्दै पनि अन्तिम दुई खेलमा चिप्लिएपछि लिग चरणबाटै बाहिरियो । धनगढीले भने अपेक्षाअनुरूप फाइनलसम्मको यात्रा तय ग¥यो तर काठमाडौँविरुद्ध अन्तिम यात्रा पार गर्न सकेन ।
काठमाडौँको उपाधि जितपछि प्रशिक्षक बालगोपाल महर्जनको उचाइ अझ बढेको छ । नेपाललाई यु–१९, बङ्गबन्धु, गोल्डकप, एएफसी सोलिडारिटी कप, साग फुटबल र थ्री नेसन्स कपको उपाधि दिलाइसकेका प्रशिक्षक महर्जनको घरेलु भूमिमा भने यो पहिलो ठूलो उपाधि जित भएको छ ।
लिगमा पनि काठमाडौँ रेजर्स नै शीर्षस्थानमा रहेको थियो । यद्यपि, काडमाडौँले लिग चरण र प्लेअफमा धनगढीसँग हार बेहोर्नुप¥यो । जुन दुई हारले मात्र काठमाडौँको प्रदर्शनमा दाग लगाएको थियो । लिग चरणबाट काठमाडौँ रेजर्स र धनगढी एफसीसँगै ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्लेअफमा पुगे । विराटनगर एफसी, पोखरा थन्डर्स र एफसी चितवनको यात्रा राउन्ड रोविनमै सकियो ।
काठमाडौँ रेजर्स विजेता बनेपछि उसले ट्रफीसँगै ३५ लाख नगद पनि पायो । उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ प्राप्त ग¥यो । यद्यपि, टिमहरूले पुरस्कार राशिभन्दा आफ्नो टिमको ब्रान्डिङ गरेर आम्दानी गर्न खोजे । एक टिममा एक दर्जनसम्म प्रायोजक रहेका थिए । सबै क्लबले फेसबुक, यु्ट्युब, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्चालको उपयोग गरेर ठूलो मात्रामा समर्थक कमाए । एनएसएलसँगै सही अर्थमा नेपालमा सिटी फुटबलको प्रतिद्वन्द्विता पनि सुरु भएको छ । जुन हामीले विश्वका अन्य ठुल्ठूला लिगमा मात्र देख्न पाउँथ्यौँ ।

विदेशी खेलाडीको प्रभाव
प्रतियोगतापूर्व नै प्रशिक्षकले उपाधि जित्न टिमलाई विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने धारणा राखेका थिए । जुन सही साबित पनि भयो । एनएसएलकै बहानामा यसपालि स्तरीय विदेशी खेलाडीको सहभागिता रह्यो । त्यसो त विदेशी खेलाडी नेपाली फुटबल लिगको एक हिस्सा पहिले नै बनेका थिए । अफ्रिकी मूलका अश्वेत खेलाडी विशेषतः नाइेजेरियाली खेलाडी नेपाली फुटबलमा सक्रिय छन् । भारत र बङ्गलादेशी खेलाडीले पनि नेपालमा लिग खेलेका छन् । अन्य देशका खेलाडीको कुरा गर्ने हो भने ब्राजिलियाली, कोरियाली, युरोपेली, अमेरिकीले पनि नेपाली फुटबलमा खेलिसकेका छन् । यद्यपि, व्यावसायिक रूपमा भन्दा अन्य प्रायोजनले युरोपेली, अमेरिकी खेलाडीले नेपालको लिग खेलेका थिए ।
यसपालि विगतमा जस्तो अफ्रिकीमूलका खेलाडीको जगजगी भएन । यद्यपि, सात टोलीमा सहभागी २० मध्ये दस आयातीत खेलाडी अफ्रिकीमूलकै थिए । यसबाहेक स्पेनका पेड्रो मान्जी, क्रोएसियाका भिलिम पोसिनकोभिक, अजरवैजानका नुरलान नोब्रोजोभ जाहिद, गोरान जोकोभिच, इजिप्टका अहमद मोहम्मद इल सेड सबानजस्ता फुटबलरले एनएसएलमा आफ्नो खेल कौशल देखाउनुभयो । यसपटक एनएसएलमा हाइप्रोफाइल भएका विदेशी खेलाडी सहभागी भए । त्यसैले एनएसएलमा नेपाली फुटबलमा स्तरीय विदेशी खेलाडीलाई पहिलेको तुलनामा बढी महŒव दिइयो । यसपालि उत्कृष्ट विदेशी खेलाडीसँग खेलेर नेपाली खेलाडीको खेलकौशल र अनुभवमा पनि फाइदा पुगेको हुनुपर्छ । विदेशी खेलाडीबीच पनि तुलना गर्दा नेपाली भूमिमा युरोपेलीभन्दा अफ्रिकी खेलाडी नै प्रभावशाली देखिएका छन् ।
क्यामरुनी मेसौके ओलोमोउले आठ गोल गरेर लिगमा आफ्नो छाप छोड्नुभयो । सर्वाधिक गोकलर्ताको सूचीमा रहेका मेसौकेको छेउछाउमा पनि कोही थिएन । स्पेनी फरवार्ड पेड्रो मेन्जीले पनि आफ्नो स्तरीय गोलबाट नेपाल दर्शकलाई मोहित पार्नुभयो । उहाँले गरेका चारवटै गोल निकै दर्शनीय थिए । पेड्रो मेन्जी सन् २०१८–१९ मा चेन्नई एफसी च्यामिपयन बन्दा गोल्डेन बुट जित्ने खेलाडी हुनुहुन्छ । विराटनगर एफसीले त आफ्नो टिममा विदेशी प्रशिक्षकका रूपमा भारतीय यान ललाई अनुबन्धित गरेको थियो । भारतीय फुटबलमा नाम कमाइसकेका यान लको टिम विराटनगरले सबैभन्दा आकर्षक फुटबल खेलेर उपाधि दाबेदारका रूपमा प्रस्तुत पनि भयो । तर, काठमाडौँविरुद्ध ५–४ ले हारेपछि विराटनगरले लय गुमायो । विराटनगरका प्रशिक्षक यान ल र अफिसियलले अनुशासनको मामिलामा नराम्रो छाप छोडे ।

रेफ्री विवादमा
विराटनगरका प्रशिक्षक यान लले हरेकपटक नेपाली रेफ्रीको क्षमतामा शङ्का व्यक्त गर्नुभयो । उहाँले एनएसएलका सबै पक्ष उत्कृष्ट भए पनि रेफ्री स्तरीय नभएको भन्ने आरोप लगाउनुभयो । यान लमात्र होइन, सबैजसो टिमका प्रशिक्षक खेलपछि रेफ्रीप्रति आक्रोशित बनेको देखियो । अधिकांश खेलपछि रेफ्रीका निर्णयप्रति प्रश्न तेर्सिएका थिए । कहिले पेनाल्टी नदिएको, कहिले नदिनुपर्ने दिएको भन्दै प्रशिक्षक र खेलाडी रेफ्रीमाथि खनिएका थिए । आलोचना धेरै हुँदैमा रेफ्री इमानदार थिएनन् भन्ने होइन । उनीहरूबाट पनि गल्ती भएका हुन सक्छन् । तर, रेफ्रीका केही विवादास्पद निर्णयले जित–हारमै असर परेकाले सुधार भने जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?