logo
२०८१ बैशाख १५ शनिवार



च्याम्प र मेजर पनि ह्वाइट हाउस प्रवेश गर्दै

शनिवार |


च्याम्प र मेजर पनि ह्वाइट हाउस प्रवेश गर्दै


कृष्णराज खनाल

‘तिमी मेरो, मेरी श्रीमती र मेरो परिवारको आलोचना गर्न सक्छौ तर मेरो कुकुरको आलोचना नगर ।’
आफूले पालेको कुकुरको आलोचना हुँदा अमेरिकाका ३२औँ राष्ट्रपति फ्रेङ्कलिन डी रुजबेल्टले यसो भनेर जवाफ फर्काएका थिए । रुजबेल्टको यो भनाइले पनि अमेरिकामा कुकुरको मान, भाउ र सम्मान ज्यादा छ भन्ने कुरा पुष्टि हुन्छ ।
अमेरिकी राष्ट्रपति र कुकुर एक परम्पराका रूपमा रहँदै आएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उहाँकी पत्नी जिल बाइडेन कुकुरप्रेमी हुनुहुन्छ । उहाँहरूका दुइटा कुकुर छन् । जनवरी २० देखि उहाँहरू सँगसँगै यी कुकुरहरूले पनि राष्ट्रपति भवन अर्थात् ओभल अफिसको वेस्ट विङमा आतिथ्यता प्राप्त गर्नेछन् र त्यहाँको चौरमा बुर्कुसी मार्नेछन् । त्यसो त अमेरिकाका प्रायः सबै राष्ट्रपति कुकुरप्रेमी छन् । राष्ट्रपतिमात्र होइन, अधिकांश अमेरिकी नागरिक कुकुरप्रति पे्रम र सद्भाव राख्छन् । अनि आफ्नो घरमा कुकुर पाल्छन् । कुकुरसँगको दोस्ती वा सम्बन्ध अमेरिकीहरूका लागि कुनै नौलो होइन । कुकुरले मान्छेको बिस्तारादेखि खानाको टेबलसम्म, अङ्कमाल र गाडीको सयरसम्मको सुविधा पाउने भएकाले होला अमेरिकामा कुकुरलाई भाग्यमानी मान्ने र भन्ने चलन छ ।
कुकुर मान्छेको सबैभन्दा नजिकको पशु हो । यसैले पनि होला हिन्दुहरू पनि तिहारको अवसरमा कुकुरलाई यमराजको दूतका रूपमा मानेर यसको पूजा गर्छन् । त्यसो त महाभारतमा पनि यसको वर्णन गरिएको छ । विशेष गुणहरू भएका कारण मानवहरूका लागि घरपरिवारमा रहेर यो जनावर सदीयौँदेखि साथी वा मित्रका रूपमा चिनिँदै आएको छ । यही गुणधर्मका कारण अमेरिकीहरूले कुकुरलाई विशेष महŒव दिन्छन् र आफ्नो समय र पैसा यसको रेखदेखमा खर्च गर्छन् ।
कुकुरको उत्पत्ति स्थान एसियालाई नै मानिएको छ । करिब १५ हजार वर्षपहिले कुकुर एसियाबाट अमेरिका स्थानान्तरण भएको भन्ने भनाइ छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा ह्वाइट हाउसमा कुकुरले प्रवेश पाएन । राष्ट्रपति ट्रम्प कुकुरप्रेमी हुनुहुन्थेन । त्यसैले विगत चार वर्ष वेस्ट विङको चौरमा कुकुर दौडिएन । यो एउटा घटनाका रूपमा रहेको छ । कुकुर नपाल्ने अमेरिकाका थोरै राष्ट्रपतिहरूको सूचीमा ट्रम्पको नाम आउँछ । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा ट्रम्पले आफू राष्ट्रपतिको कार्यमा बढी व्यस्त हुनुपर्ने र कुकुरलाई बढी ध्यान दिनुपर्ने भएकाले कुकुर नपालेको प्रतिक्रिया दिनुभएको थियो ।
अमेरिकी राष्ट्रपतिहरूमा सबैभन्दा पहिले कुकुरलाई ह्वाइटहाउसमा प्रवेश गराउनेमा दोस्रो राष्ट्रपति जोन एडम्सलाई जान्छ । पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको समयमा ह्वाइट हाउस बनिनसकेकाले एडम्सलाई यसको श्रेय गएको हो । तथापि वासिङ्टनसँग पनि दुइटा कुकुर थिए । त्यसयता थोरै अपवादबाहेक अधिकांश राष्ट्रपतिले कुकुरलाई ह्वाइटहाउसमा राख्दै आएका छन् ।
बाइडेनले चुनाव जित्नुमा कुकुरको पनि योगदान छ भन्दा पत्यार लाग्दैन होला । तर, विश्लेषकहरूले यो कुरालाई साँचो मानेका छन् । अमेरिकी समुदायमा कुकुर नपाल्ने मानिसलाई राम्रो नजरले हेरिँदैन । उहाँले चुनावी अभियानमा कुकुरलाई साथ लिएर हिँडेका आधारमा नै कतिपय मतदाताले बाइडेनलाई मतदान गरेको उनीहरूको विश्लेषण छ । निर्वाचनको केही दिनअघि बाइडेनले कुकुरसँग बसेर खिचिएको भिडियो ट्वीटमा राख्नुभएको थियो र यो भिडियो २० लाख मानिसले हेरेका कारण पनि यो कुरामा सत्यता छ भन्न सकिन्छ । अझ रोचक कुरा त के छ भने एउटा कुकुरप्रेमी समूहले रिपब्लिकन वा स्वीङ स्टेट भनेर चिनिएका राज्यमा उनीहरूलाई प्रोत्साहन गर्न कुकुरसँग बसेको बाइडेनको भिडियो बनाएर बाइडेन एउटा कुकुरप्रेमी मानिस हुन्, त्यसैले उनलाई यो समयमा ह्वाइटहाउसमा ल्याउनुपर्छ भनेर लबिइङसमेत गरेका थिए । इतिहासकार एन्डु हागेजका अनुसार, कुकुरप्रति राष्ट्रपतिले आत्मीयता देखाउनु जनावरप्रतिको सौहार्द पनि हो । त्यसैले पशु उद्धारकहरू पनि कुकुरको प्रवेशबाट थप खुसी भएका छन् । कहिलेकाहीँ तपाईंले मलाई त कुकर मन पर्दैन भन्नुभयो भने त त्यो मानिस तपाईंसँग निकै बेखुस हुनेछ ।
बाइडने सँगसँगै दुइटा कुकुरको प्रवेशले वेस्ट विङको चौर गुल्जार बनाउनेछ । कुकुरलाई डुलाउन जाँदा वा कुकुरसँग खेल्दा कतिपय मानिस लडेर घाइते भएको घटना अमेरिकाका लागि नौलो होइन । कुकुरकै कारण गत डिसेम्बरको पहिलो हप्तामा निर्वाचित भइसकेपछि लडेर बाइडेनको खुट्टा समेत भाँचिएको थियो । बाइडेनका दुइटा कुकुरमा एउटाको नाम च्याम्प हो भने अर्कोको नाम मेजर । यी दुवै जर्मन सेफर्ड हुन् । जर्मन सेफर्डलाई चङ्ख कुकुरका रूपमा लिइन्छ । ओबामा परिवारमा पनि वो र सन्नी नामक दुइटा कुकुर थिए ।
च्याम्प ह्वाइटहाउसका लागि नितान्त नौलो पाहुना भने होइन । २००८ मा खरिद गरिएको यो कुकुरले करिब आठ वर्ष राष्ट्रपति भवन नजिकै बस्ने शौभाग्य प्राप्त गरेको थियो । किनकि त्यसबेला बाइडेन उपराष्ट्रपति हुनुहुन्थ्यो । तर, मेजर भने दुई वर्षअघि मात्र किनिएकाले नयाँ हो । बाइडेनको गृहनगर डिलाबेरको मानवीय संस्थाबाट उहाँले यो कुकुर ल्याउनुभएको थियो । च्याम्पको साङ्केतिक अर्थ छ । बाइडेन सानै भएको बेलामा उहाँका बाबुले बाइडेनलाई बारम्बार जीवन चुनौतीपूर्ण छ, त्यसैले उठ, जाग च्याम्प भनेर भन्ने गरेकाले यो नाम रोजेको उहाँको भनाइ छ । कतै उत्तिष्ठत जाग्रत.....भन्ने हाम्रो पूर्वीय शास्त्रीय मान्यताबाट अभिप्रेरित त होइन ? शङ्का आइरहन्छ ।
अमेरिकी राष्ट्रपतिहरू पनि अचम्म–अचम्म स्वभावका छन् । कुकुर त धेरैलाई मन पर्छ । यसबाहेक गाई, सर्प, गिनी पिग, कङ्गारु, चरा, बाघ, मुसा, सँुगुर, बाख्रा, बिरालो, माछा र लाटोकोसेरो आदि मन पराउने राष्ट्रपति पनि छन् । फ्रेङ्कलिन डी रुजबेल्टले त राष्ट्रपति भवनमा आठवटासम्म कुकुर राख्नुभएको थियो ।
अर्को रोचक प्रसड्ढ छ– २७औँ राष्ट्रपति विलियम हवार्ड टाफ्को । टाफ्को गोठमा दुइटा गाई पालिएको थियो । उहाँ र उहाँको परिवारले यही गाईको दूध खानुहुन्थ्यो । यही गाईको घिउ खाना खाने टेबलमा राखिएको हुन्थ्यो ।

अमेरिकामा कुकुर
अमेरिकामा कुकुर कति होलान् ? यो एक जिज्ञासा छ । यसको आधिकारिक संस्थाका अनुसार, अमेरिकामा करिब आठ करोड कुकुर छन् भने छ करोड जति बिराला छन् । हाम्रो आहानअनुसार कुकुर र बिराला भेट भएपछि झगडा गर्छन् । तर, अमेरिकामा यो उखान लागू हुँदैन । यी दुई मिलेरै बसेका हुन्छन् । अमेरिकामा नै उत्पादन गरिएका कुकुरमा सर्वाधिक प्रचलित अलास्कन हस्की, अलास्कन क्लिका र अलास्कान मालामुते रहेका छन् भने ल्याब्राडोर, जर्मन सेफर्ड, रिट्राइभर्स र फ्रेन्च बुल्डोग अमेरिकीहरूले मन पराएका कुकुरहरू हुन् ।
अमेरिकामा यसको व्यापार पनि निकै ठूलो छ । यसको खाने, खेल्ने र यसलाई राख्ने ठाउँको व्यवस्थापनले यसको महŒव र गरिमा अझ बढाउँदै गएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?