logo
२०८१ बैशाख १६ आईतवार



सम्झनामा नित्यराज

शनिवार |


सम्झनामा नित्यराज


विमलेन्द्र मिश्र


संसारमा धेरै मानिस जन्मिन्छन् । तर, ती सबैका बारेमा लेखिँदैन । जसले समाज र राष्ट्रका लागि केही उल्लेख्य कार्य गरेका हुन्छन्, तिनैका बारेमा मात्र लेखिन्छ, पढिन्छ । यस्तै व्यक्तित्वमध्ये पर्नुहुन्छ– नित्यराज पाण्डे पनि । उहाँ नेपाली साहित्यिक र प्रशासनिक क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँको पहिलो रचना लुम्बिनी भ्रमणको संस्मरण हो । यसपछि थुप्रै फुटकर रचना र पुस्तक प्रकाशन भए । जागिरे जीवनको कुरा गर्दा उहाँ २०५१ सालमा निजमती सेवाकोे सहसचिबबाट अवकाश हुनुभएको थियो । जागिरकै क्रममा उहाँले नेपालको ७० वटा जिल्लाको भ्रमण गर्नुभयो ।
काठमाडौँको धोबीधाराको पूर्वी भेगमा
कुमारीस्थान पर्छ । यो स्थानबाट अझ पूर्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि जन्मघर रहेको छ । नित्यराज पाण्डेले बाल्यकालदेखि महाकवि देवकोटालाई देखेका थिए । यसैले होला उहाँले महाकवि देवकोटाको जीवनी ‘महाकवि देवकोटा’ ग्रन्थ तयार पार्नुभयो । यो ग्रन्थले २०१६ सालमा मदन पुरस्कार प्राप्त ग¥यो । उहाँले मदन पुरस्कार पाउँदा पुरस्कारको रकम चार हजार रुपियाँ थियो । त्यसबखतको नियमअनुसार एक हजारको किताब छपाउनुपर्ने र तीन हजार लेखकले स्वयम् खर्च गर्न पाउने थियो । तर, उहाँले चार हजार रुपियाँको नै किताब छपाउनुभयो । आफ्नो व्यक्तिगत खर्चका लागि यो पुरस्कारबाट कुनै रकम छुट्ट्याउनुभएन । उहाँका यस्ता घटना र परिघटना धेरै छन् ।
नित्यराजका पुर्खाहरूको थलो भारतको कुर्माञ्चलको भीमताल अर्थात् नैनीतालनजिक वडाखोला भन्ने स्थानमा रहेछ । भारतमा मुसलमानहरूको आक्रमण हुँदा नित्यराजका पुर्खाहरूलाई पनि त्यहाँ गुजारा गर्न गाह्रो भई यताउति छरिएछन् । करिब बाइसौँ पुस्ता अगाडि पुख्र्यौली थलो छाडेर ती पुर्खाहरू सुदूरपश्चिम नेपाल हँुदै गोरखा र तनहुँमा बसोवास गर्न आइपुगेछन् । उहाँका पुर्खा गोरखकालीका मुख्य पुजारीसमेत भएका थिए रे । तत्पश्चात् पाल्पाका सेन वंशका राजाको मुख्य गुरु पुरोहित भई कार्य गरेबापत रूपन्देहीको तत्कालीन मानमटेरिया गाविस–१ भगलापुर गाउँमा विर्ता पाएका थिए । त्यसैगरी, पाल्पाको धरमपानी गाउँमा पनि विर्ता पाएका थिए ।
उहाँको जन्म १९८८ साल पुस २० गते काठमाडौँको नक्साल भगवतीबहालमा भएको हो । तर, १९८९ सालको आखिरीतिर तत्कालीन प्रधानमन्त्री भीमशमशेरले आफ्नी महारानी सीतालाई दरबार बनाउन अधिग्रहण गरेको जग्गामा उहाँ जन्मिएको घरजग्गा पनि परेछ । यसपछि उहाँका बाबु सिद्धिराजले काठमाडौँको धोबीधारा (त्यतिखेर कमलपोखरी ठटुनटी भनिन्थ्यो) मा घर किन्नुभयो । अनि यहीँ नै उहाँको जीवन बित्यो ।
नित्यराज नौ वर्षको हुँदा उहाँका बाबु सिद्धिराजको दम र निमोनियाका कारणले निधन भयो । यति सानै उमेरमा बाबुको निधन हुँदा उहाँलाई ठूलो चोट प¥यो । त्यतिखेर बाबुको शव दाहसंस्कार गर्न पशुपति आर्यघाट जाँदाको सम्झना उहाँ बारम्बार गर्नुहुन्थ्यो । दागबत्तीपश्चात् ‘बुवाको जुँगा डढ्यो’ भन्दै रुँदै कराउँदै आफू चिच्याएको कुरा कहिल्यै बिर्सन सक्दिनँ भन्नुहुन्थ्यो ।
आमाको मृत्यु पनि उहाँ सानोछँदा नै भयो । १९९९ साल भदौमा माइती गएको बखत उहाँकी आमा विद्याकुमारीको निधन भएको थियो । मृत्युको खबर १२ दिनपछि मात्र काठमाडौँमा आइपुग्यो । त्यसबखत उहाँको मामाघर कुरिनटार पुग्न सात दिन लाग्थ्यो । नित्यराजका मामाहरूले पठाएको रजिष्टरी पत्रको ठेगाना लेखराज पाण्डे गुरुघराना, डिल्लीबजार थियो । तर, हुलाकीले घर खोज्दाखोज्दै त्यत्रो दिन लागेको रहेछ । केही सीप नलागेपछि हुलाकीले एकराज पाण्डे गुरुघराना बिचारी थिए भन्ने थाहा पाएर उनलाई सोध्न गएछ । एकराजले लेखराज भनेको मेरो भाइ हो भनेपछि चिठी बुझाइयो । मरेको खबरको चिठीमा त्यसबखत धागोले बाँध्ने गरिन्थ्यो । चिठीमा नित्यराजको आमा बितेको खबर थियो । चिठीको भरले मात्र बेमात्रीतिरका भाइ लेखराज र नित्यराजलाई किरियामा राख्न नहुने ठानी कमलपोखरीमा रहेका त्यसबखतका सुब्बा नूरदेव पन्तलाई यस मामलामा सोध्न जाँदा उनले तिम्रा भाइहरूको कुरिनटारमा कसैसँग रिसराग त छैन भनी सोध्नुभयो । त्यस्तो त केही पनि छैन भनेपछि लेखराज र नित्यराजलाई किरिया बस्न लगाए हुन्छ भने र उनीहरू किरिया बसेका थिएका थिए रे ।
यो घटनाले पनि नित्यराजलाई ठूलो चोट प¥यो । फेरि त्यतिबेला नेपालमा श्री ३ जुद्घशमशेर थिए । उनले इस्तिहार जारी गर्दै अबदेखि १३ दिनभन्दा बढी कसैले पनि सेतो लुगा लगाई बरखी नबार्नू, कसैले त्यसो गरेमा कारबाही गरिनेछ भनेर नियम बनाएका थिए । मातृभक्त नित्यराज र उनका परिवारले त्यस नियमको बेवास्ता गरिरहेका थिए । एक दिन सेतो लुगा लगाएर हिँडिरहेको बखत उहाँलाई गुप्तचरहरूले समाएर कालभैरव अगाडि रहेको पुलिस गोश्वारामा लगे । त्यहीबखत कताबाट हो, घरमा उहाँलाई पुलिसले पक्रिएको छ भनेर खबर पुग्यो । अनि बेमात्रीतर्फका दाजु एकराज पाण्डेले पाँच हजार रुपियाँ जरिवाना तिरी उहाँलाई सकुशल घर लग्नुभएको थियो ।
नित्यराजको बाल्यकालका साथी र खेलकुद त्यति देखिँदैनन् । तर, धोबीधारानजिकै घर रहेका श्रीरङ्ग पाठक, चन्द्रदेव पाठक, गेहेन्द्रदेव पाठक, बद्री खनाल र सिंहबहादुर (बाबुकाजी) लाई साथीका रूपमा उहाँ सम्झनुहुन्थ्यो । त्यसैगरी, उहाँका सहपाठीहरूमा लोकबहादुर विष्ट, यदुनन्दन केसी आदि थिए । त्यस्तै आफूलाई पढाउने शिक्षकहरू बोधराज पन्त, शङ्करदेव पन्त, तीर्थप्रसाद ढुङ्गाना र यादवप्रसाद पन्तका व्यक्तित्वबारे उहाँ सधैँ चर्चा गर्नुहुन्थ्यो । दाजु लेखराजसँग पहिलोचोटि थापाथलीको सिनेमाघरमा हिन्दी सिनेमा हेरेको सम्झनुहुन्थ्यो ।
नित्यराज सहयोगी र इमानदारको प्रतिरूप नै हुनुहुन्थ्यो । छिमेकी, साथीभाइ वा इष्टमित्र जसलाई पनि सुखदुःखमा साथ दिन उहाँ कहिल्यै पछि पर्नुहुन्नथ्यो । उहाँ आफ्नो कारणले अरूलाई दुःख नहोस् भनी सधैँ सचेत हुनुुहुन्थ्यो । अरूको खान नपरोस् भन्ने भावना पनि उहाँमा थियो । एकपटक टोलमा धाराबाट पानी आउन छोड्यो । अनि उहाँले आफ्नो घरको पुरानो इनार सफा गर्न लगाउनुभयो । इनार सफा गर्नेक्रममा एउटा तामाको लोटा फेलाप¥यो । त्यो लोटा यस पङ्तिकारको मुमाले पानी लिनेक्रममा इनारमा झरेको रहेछ । लोटा इनारमा झरेको पनि पचास वर्षभन्दा बढी भइसकेको रहेछ । तर, लोटा फेलापरेपछि उहाँले ‘तपाईंहरूको लोटा हो’ भनी पु¥याउन ल्याउनुभएको थियो ।
उहाँको प्रथम विवाह २००८ सालमा १९ वर्षको उमेरमा प्रेमी तिवारीसँग भएको थियो । पे्रमीको २०५१ सालमा निधन भयो । जेठी श्रीमतीको मृत्युपश्चात् उहाँले २०५३ सालमा मीना कडरियासँग दोस्रो विवाह गर्नुभएको थियो । मीनाले उहाँको अन्तिम अवस्थासम्म निकै स्याहार गर्नुभयो ।
अध्ययनको कुरो गर्दा २००७ सालमा १८ वर्षको उमेरमा उहाँले एसएलसी उत्तीर्ण गर्नुभयो । त्यसैगरी, आईए २०११ सालमा र बीए २०१३ सालमा उत्तीर्ण गर्नुभयो । एमएचाहिँ मदन पुरस्कार प्राप्त गरिसकेपछि उत्तीर्ण गर्नुभएको थियो । एमए उत्तीर्ण भएपछि मदन पुरस्कार गुठीका कमलमणि आदीलाई यो कुरा सुनाउन जाँदा उहाँले एमएभन्दा ठूलो मदन पुरस्कार पाइसक्यौ भनेको कुरा उहाँ सुनाइरहनुहुन्थ्यो ।
नित्यराजको वासस्थान पश्चिमपट्टि यो पङ्तिकारको पनि वासस्थान पर्छ । मेरो ठूलोबुवा टुकराज मिश्र र बुवा पद्मराज मिश्रले नित्यराजलाई नैतिकताको पाठ सिकाएको हो भन्ने कुरा उहाँले बारम्बार गर्नुहुन्थ्यो । त्यतिमात्र होइन, १९९८÷९९ सालतिर मेरी हजुरआमा टीकालक्ष्मी तथा टुकराज—पद्मराज मिश्रबाट पढ्ने लेख्ने प्रेरणा मिलेको कुरा पनि उहाँले आफ्ना लेखहरूमार्फत उल्लेख गर्नुभएको छ ।
निधन हुनु केही वर्षअघिसम्म उहाँ बारम्बार यस पङ्तिकारको घरमा आफ्ना लेखहरू लिएर आइरहनुहुन्थ्यो । लेखलाई पत्रिकामा पठाउनुुप¥यो भन्नुहुन्थ्यो । म उहाँकै उपस्थितिमा ल्यापटपमा लेख टाइप गर्थें र इमेल गरी विभिन्न पत्रपत्रिकामा पठाइदिन्थेँ । सानैदेखिको सङ्गतमा पछिल्ला दिन उहाँसँग अझ मित्रताको गाँठो कस्सिँदै थियो । एक दिन उहाँ मेरो वासस्थानमा आउनुभयो । उहाँमा दमको रोग थियो । दम बढेको थियो । उहाँ धेरै नै कमजोर र थकित देखिनुहुुन्थ्यो । उहाँले भन्न थाल्नुभयो, “बाबुु मैले धेरै वर्ष अघिदेखि डायरी लेख्दै आएको छुु, बाबुुले ती डायरीका कुरा समेटी मेरो जीवनी लेख्नुप¥यो । यो छपाउनका लागि वरिष्ठ पत्रकार भैरव रिसालले पहल गर्छुु भन्नुभएको छ । मेरो स्वाथ्य ठीक छैन, यो काम छिटो सम्पन्न गर्नुप¥यो ।” उहाँका कुराले म के गरुँ, के गरुँ भएँ । सक्दिनँ भन्न पनि सकिनँ, सक्छु भन्न पनि सकिनँ । त्यसबखत म धेरै व्यस्त थिएँ । अन्त्यमा गएर म उहाँको जीवनी लेख्न तम्सिएँ । म पनि उहाँकहाँ जान थालँे । उहाँका अनगिन्ती डायरीका पाना पल्टाउन थालेँ । जहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका रोचक प्रसङ्गहरू थिए । उहाँ पनि नयाँ पुुराना कुरा मलाई भन्नुहुन्थ्यो । उहाँ मलाई सधैँ भन्नुुहुुन्थ्यो, ‘‘मेरा कमजोरी र नराम्रा कुरा पनि लेखिदिनुस् ।’’
हुन त उहाँको जीबनी छापिइसकेको छ । नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने विद्यार्थीले पनि उहाँका बारेमा शोध गर्नुभएको छ । उहाँको ८८ वर्षको उमेरमा २०७६ जेठ ३० गते निर्जला एकादशीका दिन निधन भयो । उहाँको अन्तिम इच्छाअनुसार देवघाटमा दाहसंस्कार गरियो । उहाँको शरीर नभए पनि कृतिहरू हामीमाझ सधैँ रहिरहनेछन् । उहाँले नौलाख रुपियाँको अक्षयकोषको स्थापना गरी त्यसबाट विभिन्न पुरस्कारको स्थापना पनि गर्नुभएको छ । उहाँकै इच्छाअनुसार विभिन्न जिल्लामा गई सो पुरस्कार बाँड्ने काम हुँदै आएको छ । यस कार्यका लागि उहाँकी छोरी सुनिता र ज्वाईं नारायणप्रसाद पाण्डे सक्रिय हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?