logo
२०८१ बैशाख १४ शुक्रवार



आमा (कविता)

शनिवार |


आमा (कविता)


विजय कट्टेल छहरा

आमाको छ ठूलो विराट ममता आमाबिनाको पल
आमा नै सबथोक हो जगत्मा आमाबिना के छ र ?
दुख्यो दिल अनि चसक्क मन भो आमा पुकारी रुने
जाग्दा भोक पनि म पुग्थेँ नजिकै आमा अगाडि हुने ।

मेरो दिलभरि छ यो गजबको आमा बसेको मन
आमाकै ममता ठूलो जगत्मा आमा ठूलो जीवन
आमाकै सँगमा म पुग्थेँ खुसीले उफ्री रमाएँ पनि
आमाकै सब प्यारमा म भुलिएँ लुक्थेँ डराए पनि ।

मेरा दुःख जति सबै हरिदिने सृष्टि दिने ज्यानको
निद्रा, पीर, भय, अभाव सहँदै शिक्षा दिने ज्ञानको
मेरा अङ्ग अनि यी ढङ्ग सबमा तिम्रै ठूलो सीप छ
मेरा लक्ष्यसँगै सधैँ लहरिने तिम्रै मिठो गीत छ ।

सुक्दा ओठ रसाउने गजबको, धारा पिलायौ मिठा
तिमी वृद्ध भयौ म छु गजबको, ऐले जवानी ठिटो
तिम्रो ऋण सबै म तिर्छु जननी, हाँसो खुसीमा हुनू
छोरो काँतर भै ढल्यो यदि भनेँ मात्रै तिमीले रुनू ।।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?