logo
२०८१ बैशाख २० बिहीवार



‘गीत गाउन... अनुरोध गरेँ है !’

शनिवार |


‘गीत गाउन... अनुरोध गरेँ है !’


प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ

लिम्बू जातिको प्रमुख लोकनृत्य धाननाच हो । यसलाई छत्थरे लिम्बूमा ‘चालाक्मा’ भनिन्छ । तर ‘चालाक्मा’को वास्तविक नेपाली अनुवाद भने ‘धान कुल्चिनु’ हुन्छ । ‘चा’को अर्थ धान र ‘लाक्मा’को अर्थ ‘कुल्चिनु’ । मानक लिम्बूको रूपमा प्रयोग हुँदै आएको पान्थरे लिम्बूमा यसलाई ‘यालाक्मा’ वा ‘याराक्मा’ भनिन्छ । ‘या’को अर्थ ‘धान’ र ‘लाक्मा’को अर्थ ‘कुल्चिनु’ । ‘या’ र ‘लाक्मा’ समास भएर दोस्रो अक्षरको सुरुमा आउँदा ‘ल’ र ‘र’ ऐच्छिक रूपमा प्रयोग हुन्छन् । धाननाच शब्दको शाब्दिक अर्थ दिने गरी हिजोआज ‘यालाङ्’ शब्द प्रयोग भएको पनि पाइन्छ । धान झार्न गाउँका युवा खेतमा धानका बालालाई गाना गाउँदै कुल्चने अभ्यास गर्दा धाननाचको सुरुवात भएको भन्ने किंवदन्ती छ ।
धाननाच खासगरी रगतको नाता नपर्ने युवक र युवतीबीच एकअर्काको हात समातेर पाल्लाम गाउँदै नाचिने नाच हो । उनीहरू थोरै भए रेखाकार र धेरै भए गोलाकारमा एकअर्काको हात समाएर समूहमा नाच्छन् । तर त्यो समूहका सबै सहभागीले प्रेमीप्रेमिकाको जोडीलाई नै उनीहरूको सवालजवाफको गीतमा साथ दिएर सहयोग गर्छन् । अर्को जोडी युवकयुवती भए उनीहरू अलग्गै नाच्छन् । उनीहरूलाई साथ दिन अरू महिला पुरुष पनि जोडिन सक्छन् । तर यसरी जोडिँदा नाता लाग्ने महिलापुरुषले एकअर्काको हात समात्न हुँदैन । विवाह, बरखी, मेलापर्व र अन्य ठाउँमा पाहुना जाँदा युवकयुवतीको भेटघाट हुन्छ र उनीहरू नाच्ने गर्छन् । १ नम्बर प्रदेशका नौ जिल्लाका पहाडी भेगमा यो नाच नाचिन्छ । १७÷१८ वर्षको भएपछि बेलायती सेनामा भर्ती हुन जान्थे । यसमा असफल भए भारतीय सेनामा जान्थे । भर्ती भएकाहरू प्रत्येक तीन वर्षमा ६ महिनाको छुट्टी लिएर घर आउँथे । त्यस बेला उनीहरूले लुगाकपडा, सुन, पैसा आदि ल्याउने गर्थे । भारतीय सेनमा भर्ती हुनेको तुलनामा बेलायती सेनामा भर्ती हुनेको तलब धेरै हुन्थ्यो । त्यसैले बेलायती सेनामा जागिर पाएकालाई हाम्रो समुदायले भाग्यमानी सम्झन्थ्यो । कतै नलागेकाहरू हलोकोदालो र बनिबुतो गरेर जीविका चलाउँथे । यसबाट उनीहरू मुस्किलले जीविकोपार्जन गर्थे । नगद आर्जन गर्न सक्दैनथे ।
छोरीहरू पनि हुर्किएपछि घरबाट निकै टाढा रहेको कुवा वा धाराबाट पानी ल्याउने, आँगन बढारकँुढार गर्ने, घर लिपपोत गर्ने, खाना पकाउने, भाँडाकुँडा सफासुग्घर गर्ने, घाँस काट्ने आदि काम गर्दथे । उनीहरूको प्रायः १७÷१८ वर्षमा त विवाह भइसक्थ्यो ।
गाउँघरमा विवाह हुँदा बेहुली पु¥याउन आउने युवतीहरू (लोकन्दीहरू) दुलहाको घर छेउमा बनाइएको डेरामा एक रात र दुलहाको घरमा एक रात बस्ने चलन छ । विवाहमा आमन्त्रित पाहुनाहरू दुई रात घर छेउमा बनाइएको डेरामा बस्ने चलन छ । यो बेला पनि गाउँका युवकयुवती पाहुनाहरूसँग पाल्लाम गाउँदै धाननाच नाच्छन् । त्यसैगरी मृतकको आत्माले शान्ति पाओस् भनेर वर्ष दिनमा गरिने बरखीमा पनि आमन्त्रित पाहुनाहरूसँग गाउँका युवकयुवती पाल्लाम गाउँदै धाननाच नाच्ने चलन छ । त्यस्तै छोरीचेली आफ्नो घरबाट माइत आउँदा पु¥याउन आउने पाहुनासँग पनि गाउँका युवकयुवतीले नाच्ने गाउने प्रचलन छ । अचेल यो चलन त्यति प्रचलनमा देखिँदैन ।
सबैभन्दा भव्य रूपको धाननाच विभिन्न अवसरमा लाग्ने मेलापर्वमा देखिन्थ्यो । शिवरात्रिका अवसरमा धनकुटामा पर्ने तमोर किनारको सम्म ठाउँमा, ज्येष्ठ पूर्णिमाको बेला धनकुटाको राजारानीमा, फागुपूर्णिमामा धनकुटा र तेह्रथुम जिल्लाको सिमाना छुट्ट्याउने तेलिया खोलामा, बाला चतुर्दशीमा धनकुटा जिल्ला, ताङ्खुुवाअन्तर्गत पर्ने चुलाचुलीमा ठूलो मेला लाग्थ्यो । यी मेला भर्न टाढाटाढाबाट यवकयुवती आउँथे । कुनै कुनै मेला त सात दिन सात रातसम्म पनि चल्थ्यो । उक्त अवधिभर नै पाल्लामको साथमा धाननाच नाचिन्थ्यो ।
नाता नलाग्ने युवक र युवतीबीच आपसमा प्रेमसम्बन्ध गाँस्न र विकसित भइसकेको भए प्रेमले ओतप्रोत भएको भावना व्यक्त गर्न लिम्बू नाच ‘धाननाच’को साथ लयबद्ध रूपमा बिनाबाजागाजा गाइने गीतलाई ‘पाल्लाम’ भनिन्छ । यो गीतमा दुई वा चार हरफको पङ्क्ति हुन्छ । दोस्रो हरफको अन्तिम अक्षर वा अक्षरहरू र चौथो हरफको अन्तिम अक्षर वा अक्षरहरूसँग अनुप्रास मिल्दछ । पहिलो र तेस्रो हरफहरू पाँच अक्षरका हुन्छन् भने दोस्रो र चौथो हरफहरू चार अक्षरका हुन्छन् । प्रथम गायकले पहिलो र दोस्रो हरफ एकपटकमा गाउँछन् । त्यसपछि समूहले दोस्रो हरफलाई सामूहिक रूपमा गाउँछन् । तर पहिलो हरफको अन्तिम अक्षर दोस्रो हरफको अन्तिम अक्षरबीच अनुप्रास मिलेमा दुई हरफको मात्र पनि पङ्क्ति बन्न सक्छ । सुरुको अनुप्रास लाग्ने हरफको सान्दर्भिक अर्थ लाग्दैन । दोस्रो अनुप्रासवाला हरफको मात्र सान्दर्भिक अर्थ हुन्छ । लय उत्पादनका लागि समीपको स्वर वर्ण दोहो¥याइन्छ । जस्तै ः
१.फक् ताङ् लुङ्लुङ् से
मिम् जि फुङ् से

२.फाङ्जङ्नु कोक् मा
लाम् मेत् तुम् लो
आनिसे मिम् जि
साम् मेत् तुम् लो

३.ता दि गेन् सेप् माङ्
लो ओ खुम् लो
मिम् जि रेन् चो लुङ्
फो ओ खुम् लो

४.माङ् गे ना लुङ् धुङ्
चाङ् धुङ् पोङ् ल
आ नि से मिम् जि
मुन् धुम् पोङ् ल

५.यक्माहिम्तेहिम्
लुङ् मा प हिम्

६.माङ्हिम्ओपेक्मा
माङ् से वा रो
हुक् सो दिङ् सि भाक्
आ से वा रो ।
उपर्युक्त गीतको ठ्याक्कै नेपालीमा अनुवाद गर्न गाह्रो छ । यसको भावार्थ भने ‘गीत गाउनका लागि हात जोडेर अनुरोध गरेँ है’ भन्ने हो । माथिको पहिलो र पाँचौं नम्बरका पहिलो र दोस्रो हरफका अन्तिम अक्षरको अनुप्रास मिलेकाले तिनीहरू दुई हरफका पङ्क्ति बनेका हुन् । बाँकी अरूमा भने चार हरफका पङ्क्ति छन् । ती पङ्क्तिमा दोस्रो र चौथो हरफको अनुप्रास मिल्छ । १ नम्बर र ५ नम्बर पङ्क्तिका पहिलो हरफ दोस्रो हरफमा लय उत्पन्न गराउन मात्र प्रयोग गरिएका हुन् । तिनीहरूले कुनै सान्दर्भिक अर्थ व्यक्त गर्दैनन् । ४ नम्बरको दोस्रो र चौथो हरफमा अक्षर निर्माणका लागि ‘ओ’ भन्ने स्वर थपिएको छ ।
युवकयुवती घाँस काट्न, दाउरा लिन र गाईबाख्रा चराउन वनजङ्गल जाँदा आफ्ना प्रेमीप्रेमिकाको मायामा डुबेर विह्वल भई वन नै गुञ्जने गरी मायाप्रीतिले भरिएको गीत गाउँथे । आफ्ना साथीभाइसँग भेट हुँदा प्रायः आआफ्ना प्रेमीप्रेमिकाका बारेमा कुरा गरेर आनन्द लिन्थे । मेला, बजार आदि जानेबारे सल्लाह गर्थे । समूह मिलेर एकअर्काको काममा सहयोग गर्थे । यसलाई ‘पर्म’ खेल्ने भनिन्थ्यो ।
प्रायः लिम्बू युवती तानमा पुरुषका लागि ढाकाका टोपी र सादा लुगा अनि महिलाका लागि ढाकाका बर्की बुन्ने गर्थे । बिहानदेखि बेलुकासम्म एकै ठाउँमा बसेर बुन्ने काम गर्दा यिनीहरूलाई दिक्क लाग्थ्यो र थकित पनि हुन्थे । थकाइ बिर्साउन र मनलाई आनन्दित बनाउन यिनीहरू विभिन्न मेलामा आफूसँग नाच्ने तन्नेरीले आफूलाई सम्बोधन गर्दै गाएका गीत र उत्तरका रूपमा आफूले गाएका गीतहरू सम्झँदै मसिनो स्वरमा तिनीहरूलाई दोहो¥याउने गर्थे । वास्तवमा लिम्बू परिवारमा तान बुन्ने कार्य अर्थोपार्जनको महŒवपूर्ण स्रोत थियो ।
बिस्तारै लिम्बू समुदायमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने भावना जागृत भयो । फलतः उनीहरूले छोराछोरीलाई विद्यालय पठाउन थाले । विद्यालयमा उनीहरूको सङ्गत गैरलिम्बूसँग भयो । घरको काम र पढाइको कामले उनीहरू सधैँ व्यस्त रहने भए । यसले गर्दा उनीहरू मेलापर्व गएर पाल्लाम गाउने र धाननाच नाचेर समय व्यतीत गर्न असमर्थ हुँदै गए । सन् १९९० पछि आएको विश्वव्यापीकरण, बजारीकरण र उदारीकरणले विश्वबजार खुला भयो । त्यसपछि यो समुदायका युवा कामका लागि विदेश जान थाले । गाउँमा युवा करिब शून्य नै हुन थाले । २०५२ सालबाट सुरु भएको १० वर्षे माओवादी द्वन्द्वले विभिन्न पर्वमा लाग्ने मेलाहरूमा रोक लगायो । त्यस बेलादेखि आम रूपमा धाननाच नाच्ने चलन बन्द भएको छ ।
२०४६ सालपछि मुलुकमा आएको परिवर्तनले लिम्बू जातिका विशेष गरेर युवकयुवतीमा आफ्नो जातिको इतिहास, भाषा, लिपि, धर्म र संस्कृतिप्रति रुचि र चासो जागेको पाइन्छ । संसारका विभिन्न देशमा रोजगारीका क्रममा विदेशिएका युवकयुवती जुम वा अन्य माध्यमबाट आफ्नो पाल्लाम प्रसारण गर्छन् । पहिले पहिले पाल्लामसँग कुनै बाजागाजा बजाइँदैनथ्यो । तर अचेल बाँसुरी, गितार र अन्य प्रकारका बाजा पनि बजाएको देख्न पाइन्छ । गाउँघरका मेलापर्वमा विशेष रूपमा गाइने पाल्लाम र नाचिने यालाङ अचेल लिम्बू विद्यार्थी मञ्चको तŒवावधानमा विश्वविद्यालय, कलेज र विद्यालयका सभाकक्ष तथा किरात याक्थुङ चुम्लुङको माध्यमबाट विभिन्न जिल्लाका सदरमुकाम र विदेशका विभिन्न ठाउँमा गाइन्छ, नाचिन्छ । खेतको खलाबाट सुरु भएको यालाङ् गाउँघर हुँदै अहिले सहर केन्द्रित बन्न पुगेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?