logo
२०८१ बैशाख १४ शुक्रवार



सायद म आकाश हुँ

शनिवार |


सायद म आकाश हुँ


रमेश श्रेष्ठ

सायद म आकाश हुँ
त्यसैले ताराहरूका निम्ति
गाढा नीलो भएर तिर्खाइरहन्छु,
र बिर्सन्छु
आफैसँगको रङ पिएर
आफ्नै नीलोपनलाई,
बिर्सन्छु
आफँैसँगका नीला समुद्र र
नीला अक्षरहरूलाई
जो आकाशसँगै आकाश जस्तै फैलिरहन्छ
आकाशकै आँखामा ऐना हेरेर
फेरि बिर्सन्छु
आफ्नै रूप आफ्नै चेतनाको मुहानलाई,

सायद म आकाश हुँ
मलाई पखेटाहरू ज्यादै मन पर्छ
मेरो व्याप्ति नाप्न खोज्ने
त्यो सुन्दर उडानलाई
म आफ्नै हृदयले आकाश धानेर
उज्यालोलाई झैँ पर्खिरहन्छु
हरेक उडानलाई
सपनाहरूको स्रोत सम्झन्छु
र आफ्नै औँठाछापको अनुहारमा
आफँैलाई साक्षी राखेर
सोच्न थाल्छु
म आकाश नभएको भए के हुने थिएँ होला !
सायद म आकाश हुँ
त्यसैले म यस्तो सोचिरहन्छु ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?