logo
२०८१ बैशाख १५ शनिवार



कान्छाबाको बटौली यात्रा

संस्मरण

शनिवार |


कान्छाबाको बटौली यात्रा


रामप्रसाद पन्त

कान्छाबाले एकपटक मात्र बटौलीको यात्रा गर्नुभएन, पटकपटक गर्नुभयो र प्रत्येक यात्राका फरक फरक अनुभव हासिल गर्नुभयो । कान्छाबाको बटौली यात्रा सामान्यतया चारपाँच दिनको हुन्थ्यो । चारदेखि पाँचदिनको यात्रा हुनुको पछाडि मुख्यतः फरक बाटोको कारण थियो र दोस्रो कारण थियो– समय र मौसमको ।
कान्छाबाले चारवटासम्म बाटो प्रयोग गर्नुभएको रहेछ बटौली यात्रा गर्दा । वर्षामास यात्रा गर्नुपर्दा खोलाको बाटो प्रयोग गर्न सकिँदैनथ्यो । अनि डाँडाको बाटो हिँड्नुपर्दा बढी समय लाग्थ्यो । त्यसैले डेढ दिनमा पुगिने बटौली दुई दिन लाग्थ्यो । भारी बोकेर घर फर्किंदा लाग्ने दुई दिनको बाटोमा एक दिन बढी खर्चनुपथ्र्याे ।
कान्छाबा भनेपछि मेरै गाउँ दार्सिङबास (गुल्मी)मा बसोवास गर्ने तेह्रदिने बा अर्थात् कान्छाबा । मेरै जिज्यू हजुरबाका पाँच सन्तानमध्ये एउटाका सन्तान कान्छाबा । कान्छाबा भनौँ या जेठा बा, आफ्नै बा भनौँ या गाउँले अन्य बाहरू, साँध सिमानामा या पानी बाँडफाँटका कुरामा झगडा गर्थे, तँतँ र मम गरेर गाउँटोल हँसाउँथे तर जब गाउँमा सामूहिक सहयोग (विवाह, व्रतबन्ध, पूजाआजा, जन्म र मृत्युसंस्कार) का कुरा उठ्थे वा तीर्थव्रत वा बटौली जाने योजना अगाडि सर्थे, त्यसबेला सबै एकजुट हुन्थे र साथसाथै लाग्थे । एउटै ओछ्यानमा सुत्थे, एउटै कसौँडीमा पकाएर खान्थे र भारी बोक्दा गाह्रोसाह्रो भयो भने एक आपसमा दुःख बाँड्थे ।
मेरा बा र दाइ पनि एकाबिहानै उठेर भात पकाई खाएर ढकनी, सातु, भटमास कुटुरो पारेर घिउ सङ्ग्लिएको छ भने पूरा टिन वा आधा टिन ढाकरमा हालेर नुन–तेल लिन बटौली हिँडेको म अलिअलि सम्झन्छु । त्यसैका साक्षी हुनुहुन्छ अहिले पनि कान्छाबा ।
बटौली जानेमध्ये मेरा ‘दाइ’ नाता पर्नेहरू अहिले पनि धेरै जीवित होलान् तर ‘बा’ नाता पर्नेहरूमध्ये जीवित अरू कोही पनि छैनन्— कान्छाबाबाहेक । त्यसैले एकदुईपटक बटौली जाने दाइहरूभन्दा कान्छाबालाई धेरै अनुभव छ बटौलीको र भिन्न प्रकृतिका बाटाहरूको पनि ।
यद्यपि कम उमेरका दाइहरूलाई बढी संस्मरण हुनुपर्ने हो बटौली यात्रा । तर कान्छाबाले जस्तो खर्खर्ती सर्सर्ती रिठ्ठो नबिराएर वर्णन गर्न सक्तैनन् दाइहरू । दाइहरूलाई त्यसबेलाको बटौलीको दररेट पनि थाहा छैन, जब कि सामानको प्रत्येक मूल्य ठ्याकठ्याकती भन्न सक्ने क्षमता कान्छाबाको छ । आजभन्दा ७५ वर्षअघिको सामानको मूल्य भन्नसक्ने कस्तो स्मरणशक्ति हो कान्छाबाको ?
भाइ केशवसहित म कान्छाबाको घरमा पुग्दा उहाँ घरमा हुनुहुन्(नथ्यो । कोसका माइँला र कान्छा आएका छन् भन्ने थाहा पाएपछि ९२ वर्षीय कान्छाबा बारीबाट घाँसको भारी पिठ्युँमा बोकेर घर आउनुभयो र कथा कथ्न थाल्नुभयो । कति सुन्नु सत्तरी–असी वर्षअघिका कान्छाबाले जीवनमा भोगेका कथाहरू ! तीमध्ये विशेष प्राथमिकता पाएको थियो– बटौली यात्राको वर्णनले ।
त्यतिबेला बटौलीसँग जोडिएको एउटा गीत प्रचलनमा थियो —
बटौलीको बजारैमा सुकाधार्नी बोसो
बोसो खान पाइनँ भनी त्यति लामो चासो ...।
त्यसबेला मानवीय आवश्यकताका उपभोग्य सामान प्रायः गाउँमै उत्पादन गरिन्थ्यो । गाउँमा उत्पादन नहुने सामानहरू थिए– नुन, मट्टितेल, कपडा र धातुका सामानहरू । कपडा ल्याइन्थ्यो र दमाईंलाई सिलाउन दिइन्थ्यो । फलाम ल्याइन्थ्यो र कामीलाई औजारहरू तयार गर्न लगाइन्थ्यो । सुन, चाँदीका गहना गाउँघरमै सुनारहरूबाट तयार गरिन्थे । जुत्ताहरू पनि सार्की समुदायले गाउँमै मरेका गाईभैँसीको काँचो छाला प्रशोधन गरेर तयार गर्थे । काठका भाँडाहरू चुनाराले कुँद्थे । तामा र चरेशका भाँडा तयारी अवस्थामा कारिकोट (स्याङ्जा)बाट गाउँगाउँमा बिक्रीका लागि ल्याइन्थे । गुलियोको ठाउँमा खुदो (उखुको रस पकाएर बनाएको महजस्तो पदार्थ) प्रयोग गरिन्थ्यो । मलाई स्पष्ट थाहा छ– चिनी र चियापत्ती पछिल्लो चरणमा मैले जान्नबुझ्न थालेपछि प्रयोग गर्न थालिएको हो ।
यसबाट के स्पष्ट हुन्छ भने करिब साठी वर्षअघिको मेरो गाउँको छाकै रोकिने चीज भनेको नुनमात्र थियो । मट्टीतेल नभए तोरी सस्र्यूंको तेल वा सल्लाको दियालोले पनि काम चलाइन्थ्यो । फलाम र कपडा भनेका समय र पर्वविशेषले निम्त्याउने कुरा थिए । यस कारण हाम्रा बाआमाहरूलाई नुन सिद्धिन थाल्यो कि छटपटी हुन्थ्यो र बटौली जाने योजना बनाउनुहुन्थ्यो ।
मैले भनिसकेँ, मभन्दा अघिल्लो पुस्ताका एउटै कान्छाबामात्र जीवित हुनुहुन्छ र कान्छीआमा पनि । कान्छीआमालाई गाउँभन्दा बाहिरको कुरा थाहा छैन र गाउँको अनुभव वर्णन गर्न पनि उहाँको संस्मरण शक्तिले दिँदैन । हुन पनि एक वर्ष बढी उमेरकी कन्या भन्ने जानेरै विवाह गर्नुभएको थियो कान्छाबाले । पछि पो थाहा भयो– त्यतिमात्र होइन रहेछ कान्छीआमाको उमेर । कान्छाबाभन्दा चार वर्ष बढी उमेर खाइसक्नुभएको रहेछ कान्छी आमाले । अहिले कान्छाबाको उमेर बयानब्बे, कान्छीआमाको छयानब्बे । जे होस् बयानब्बे नै भए पनि छयानब्बे वर्षकी कान्छी आमाको सेवा गर्ने क्षमता राख्नुहुन्छ कान्छाबाले । यतिमात्र होइन, सत्तरी–असी वर्षअघिको घटना अहिल्यै देखेभोगेजस्तो गरी मुखाग्र वर्णन गर्न सक्ने शक्ति राख्नुहुन्छ कान्छाबाले । यसैले त एकादेशको कथाजस्तो लाग्ने यथार्थ कथा कथ्दै हुनुहुन्छ बटौली यात्राको कान्छाबाले ।
भन्दै हुनुहुन्छ– ‘हामी आकाशका तीनतारे हेरेर रात कति बाँकी छ भन्ने पत्ता लगाउँथ्यौँ र जुनेली रातमै घरबाट निस्कन्थ्यौँ । कहिले रिडी पुग्दा उज्यालो हुन्थ्यो, कहिले अर्गली त कहिले साँचा पुग्दा छ्याङ्ग हुन्थ्यो । यसरी हामी कहिले पाल्पाको सर्देवा, भकार्लुङ, तालगाउँ, रानीठाँटी र नुवाकोट हुँदै बटौली ओर्लिन्थ्यौँ । कहिले रिडी, सर्देवा, सिद्धिकोट, धुस्टुङ, पाटन, सुकेताल हुँदै बटौली पुग्थ्यौँ । कहिले भने अहिलेको मोटरबाटो (तानसेन–माडी–डुम्रे–केराबारी–दोभान) हुँदै बटौली पुग्थ्यौँ । धेरैजसो हामी पाल्पाको हार्थाेक, चकल्दीखोला, डुम्रे, मस्याङ, सिस्नेखोला हुँदै दोभान ओर्लेर कुइरेभिर (अहिलेको सिद्धबाबा)को बाटो बटौली पुग्थ्यौँ ।’
‘सकेसम्म बटौली पुगेकै दिन रातसाँझ गरेर भारी कस्थ्यौँ र अर्काे दिन बिहानै हिँडिहाल्थ्यौँ । त्यसबेलाको बटौलीको भाउ अहिले पनि मलाई सम्झना छ । हामीसँग केही रुपियाँ हुन्थ्यो, केही घिउ । मोहोर मानो घिउ थियो त्यसबेला । आधा टिनदेखि एक टिनसम्म बोकेका हुन्थ्यौँ हामीले । त्यो घिउ, नुन–मट्टीतेलसित साटासाट गथ्(र्याैँ । बाँकी लत्ताकपडा र अरू खित्रिमित्री सामान (फलाम, चिनी, मिस्री, नरिवल, मसाला, चप्पल, डोरी, (महिलाले कपाल बाट्ने धागो) काइँयो, सलाई) हरू रुपियाँ तिरेर लिन्थ्यौँ । त्यसबेला कागजी नोटको चलन थिएन । थैलामा बाँधेर, कम्मरमा कसेर मोहोर–सिक्काहरू बोकिन्थ्यो । सामान्यतया मैले दश पाथी नुन, आधा टिन मट्टीतेल, एक धार्नी चिनी, एक धार्नी फलाम, केही थान कपडा र मरमसाला बोक्ने गर्थें । अरूले पनि त्यसैको हाराहारीमा बोक्थे ।’
कान्छाबाले भनेको सामानको भाउ सुनेर विश्वास गर्न गाह्रो भएको थियो मलाई– ‘मोहोर पाथी नुन, तीन रुपियाँको आधा टिन (सात कुरुवा) मट्टीतेल, पाँच रुपियाँको एक धार्नी जीरा । लुगाफाटोको भाउ भने हेरीहेरी थियो, बढी माग हुन्थ्यो कोराको । एकदुई थान कोरा ल्याएपछि दौरा सुरुवाल, पटुका, कछाड, लगौँटी, सिरक–डसनाको खोल सबै पुगिगो । दुईचार गज नैनसुत भएपछि टोपी, कमिज, कोट, इष्टकोट सबै काम चलिगो । छिटको गुन्यु तीन मोहोरमा पाइन्थ्यो । घलेक, चोलोको दाम अलिकति बढी थियोे । यिनै त हुन् हामीलाई चाहिने लुगाफाटा । डाङ्ग्राका जुत्ता गाउँकै सार्कीले सिलाउँथे । एक मोहोर वा एक माना धान दिएपछि जुत्ता लाउन पाइन्थ्यो । कसै कसैले चप्पलको रहर पनि गर्थे । त्यो चप्पलको दाम त्यसबेला बटौलीमा दुई सुकामात्र थियो । बटौली जाँदा र फर्कंदा कम्तीमा एक एक दिन बाटोमा बास बस्नुपथ्र्याे । कहिले भने फर्किंदा दुई रात पनि बस्नुपर्ने बाध्यता हुन्थ्यो ।’
दाजुभाइहरूको भित्री स्वभाव पनि थाहा पाउने अवसर मिल्थ्यो रे त्यसबेला ! भात पकाउने पालो पर्दा कसले के कैफियत गथ्र्याे ! खर्च गर्नुप¥यो भने कसले कति सानो चित्त बनाउँथ्यो ! दाउ प¥यो भने हात लामो पार्न पनि कोही किन पछि पर्थे ? कसको कति सहयोगी भावना थियो ! को कति स्वार्थी थियो ! सबैको स्वभाव थाहा पाउने अवसर मिल्थ्यो रे त्यसबेला !
एकपटक त बटौलीको नुन पसलबाट नुन भर्दाभर्दै सात पाथी नुन गायब भएछ । पसले साहुले ‘राम राम राम, दुई दुई दुई, तीन तीन तीन’ भन्दै सन्ताउन्न पाथी भ¥यो तर दश पाथीको दरले ढाकर–ढाकरमा बाँड्दै जाँदा सात पाथी नुन पुगेन । अचम्म भयो । हल्लिखल्ली भयो । भएछ के भने कान्छाबाका एकजना भतिजले कसैलाई थाहा नदिइकन सात पाथी नुन आफू बास बसेको ठाउँमा पु¥याइसकेछन् । एक जनाको बदमासीले गर्दा टोलीकै नाम, बदनाम !
फेरि एकपटक नुन बोकेर फर्कने क्रममा मस्याङमा बास बसेको बेला एकजनाको एक मोहोर हराएछ । भरियाटोलीमा नै होहल्ला भयो । अन्त खसेको छैन, बास बसेकै बेला कसैले कैफियत ग¥यो । तामो–तुलसी हातमा लिएर ‘दुर्गा लक्ष्मीले भस्म पारून्’ भनेर भकाउने कुरा चल्यो तर त्यो काम बाटोमा हुन नसक्ने भएकोले घर पुगेर गर्ने सहमति भयो । यसैबीच अर्गली पुग्दा एक जना भरियाको ढाकरबाट टङरङ्ग भुइँमा खस्यो मोहोर । विश्वास नलाग्दा नलाग्दै पनि डोकामा अल्झेको भनी चित्त बुझाइयो । चोरीकाण्डले उग्ररूप लिन पाएन ।
कान्छाबासँग बटौली यात्राको मात्र सम्झना छैन, गाउँघरका अनन्त सम्झनाहरू छन् । छिमेकी गाउँ घुम्दाका घटनाहरू छन् । उहाँले आफ्ना बाजेदेखिका प्रसङ्गहरु कोट्याउन सक्नुहुन्छ–
‘हाम्रा बाजे नन्दराम दिगामबाट दार्सिङबास आई बसेका । उहाँलाई कृषि कार्यका अतिरिक्त कर्मी काम (काठको काम) पनि आउँथ्यो अरे ! उहाँलाई खोज्न अरू गाउँबाट पनि आउँथे अरे ! बाहिरफेर हिँडिरहँदा बज्यै झर्कीफर्की गर्थिन् अरे ! त्यसै झोँकमा कसैलाई थाहा नदिईकन बिसौनातिरकी कान्छी श्रीमती सुटुक्क बिहा गरेर माइतीमै राख्नुभएको रहेछ । पछि दार्सिङबासमा आई बुद्धिबल रानाको घरपाटो छ सय रुपियाँमा उधारोमा पास गरेपछि त्यसै घरमा कान्छी बज्यैलाई भित्र्याउनुभएछ । पछि आफ्नै पौरखले तिर्नुभएको अरे छ सय रुपैयाँ ! तिनैका सन्तान हामीहरू । जेठीतिरका सन्तान खोलापारि दिगामका ।’
‘जेठीतिरका छोराहरूले कचकच गरेपछि बाजे नन्दरामले भात पकाउने पाँचमाने ताउली, पन्यु, ओदान, एउटा गाग्री, ओढ्ने ओछ्याउने एकएक थान सिरक–डसना र पाँचवटा फूल (सुनका शिरफूल) मध्ये दुईवटा फूलबाहेक अरू केही लिनुभएन रे ! तिनै कर्मयोगी बाजेका प्रतापले आज दार्सिङबासको डाँडो ढाकिएको छ । करिब तीस घरधुरी छन् अहिले दार्सिङ्बासमा चाडपर्वहरूमा बढी खर्च गर्ने र मोजमस्ती गर्ने मगरहरू नन्दरामको अगाडि टिक्न सकेनन्, घरबारी बेच्दै गए र लाखापाखा लागे । आज पचभैया र पुनबाहेक अरू मगरहरूको अस्तित्व छैन यस गाउँमा । भएका जति छन्, ती सबै विपन्न अवस्थामा छन् ।’ ‘पाँच भाइ बाहरूका सन्तानमध्ये जेठा बाको अपुताली परेको जग्गा बले रानाको । माहिला बाका सन्तानले भोग गरेको जग्गा सहवीर सोमै र धने सारुको । साहिँला बाका सन्तानले भोग गरेको जग्गा जगवीर सोमैको । काहिँला (हाम्रा बा) का सन्तानहरूले भोग गरेको जग्गा सुर्ता मगरको । कान्छाबाका सन्तानहरूले भोग गरेको जग्गा गेने सोमैको ।’
हो, वास्तवमा कान्छाबाजस्ता अरू बाहरू गाउँ छोडेर अन्यत्र जानुभएन तर एउटा युग भोग्नुभयो र अर्काे युग देख्नुभयो । वैद्य डाक्टर पनि उहाँलाई आवश्यक परेनन् । औषधीपानी घरेलु नै प्रयोग गर्नुभयो । बिरामी पर्दा गरिने उपायबारे सोध्दा कान्छाबाले दुईचारवटा कुरा सुनाउन भ्याउनुभएको थियो तर आफ्नै हतारोले सबै सुन्न भ्याइएन । कान्छाबाले घर लिपपोत गर्नका लागि कमेरो माटो लिन उल्लिखोला जाँदाको कथा, रातो माटो लिन ढुकुरखोला जाँदाको कथा, घर बनाउनका लागि दार लिन दुई डाँडापारि चारपाला पुग्दाको कथा, छापो लिनका लागि भट्कुवासम्म पुग्ने गरेका कथा र रातारात हिँड्दा भूत–किचकन्यासँग जम्काभेट भएका थुप्रै कथाहरू कथ्नुभएको थियो । ती सबैको सविस्तार वर्णन अहिले सम्भव भएन । वर्णन गरियो भने प्रत्येक विषयका अलगअलग कथा हुन्छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?