logo
२०७७ जेष्ठ १६ शुक्रवार

साहसका पर्याय युगकवि

शनिवार |


2020-05-16-14477


डा. फणीन्द्रराज निरौला

क्रूर राणाशासनको समयमा निर्भीकताका साथ आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आदि पक्षका विकृति र विसङ्गति औँल्याउन ठूलै साहस चाहिन्थ्यो । यो साहस गर्ने व्यक्तिमध्ये युगकवि सिद्धिचरण श्रेष्ठ पनि अग्रपङ्क्तिमा छन् । कविताका माध्यमबाट समाजका विकृति र विसङ्गति जनसमक्ष पु¥याउन यिनले गरेको साहस अतुलनीय छ ।
पाश्चात्य रुमानी शैलीलाई अनुशीलन गरी यिनले काव्ययात्रा प्रारम्भ गरेका थिए । यिनी मानसिक रूपमै अत्यन्त स्वाभिमानी तथा बलशाली भएकाले यस्तो कठिन मार्ग अवलम्बन गर्ने साहस गरे । मातापिताले गरेको देशसेवा, मानवता प्रतिको लगाव, ईश्वरप्रतिको अटल आस्था र निष्ठाबाट उत्प्रेरित भई यिनले युवाको अन्तर आवाजलाई सिर्जनान्तक रूप दिने प्रयत्न गरे । क्रान्ति, विद्रोह, मानवता, स्वतन्त्रता, समानता, देशप्रेम, प्रकृतिप्रेम आदि पक्षलाई मियो बनाई आजीवन सिर्जना कर्ममा समर्पित सिद्धिचरणले चौध÷पन्ध्र वर्षको उमेरदेखि काव्ययात्राको प्रारम्भ गरेको पाइन्छ ।
नेपालको इतिहासमा मानवताविरोधी क्रियाकलापका दृष्टिले राणाकाल अन्धकार युग मानिन्छ । यिनले त्यस्तो विषम परिवेशमा काव्य रचनाको थालनी गरेका हुन् । त्यस युगको विषाक्त पीडाबोध किशोरावस्थादेखि नै यिनलाई हुँदै आएको बुझिन्छ । फलतः यिनले स्वतन्त्रता र मानवताविरुद्ध जनताका मुखमा भोटेताल्चा लगाइएको कठोर युगमा तत्कालीन अनुदारवादी राज्यसत्ता र विषम सामाजिक अवस्थाप्रति १९८४ सालमा रचित ‘सन्ध्या’ शीर्षकको कवितामा यस्तो अभिव्यक्ति दिएका छन्–

सौन्दर्यकै नद समान पहाडमाला
झल्किरहेछ अहिले पिई प्रेम प्याला
आनन्दमय सब छन् सुखले प्रमत्त
साँच्चै भनूँ तर कुनै पनि छैन नित्य ।
उपर्युक्त उद्धरणको सोझो अर्थ हो सन्ध्याकालीन समयमा पहाडी हिमशृङ्खलाको सौन्दर्य अद्वितीय र मनमोहक देखिने गर्छ । यस समयमा पहाडी शृङ्खला प्रेमका प्याला लिएर उन्मत्त भएका छन् तर यस्तो अतुलनीय सौन्दर्य राशी सधैँ स्थायी रूपमा देख्न सकिन्न । उक्त पङ्क्तिमा कविले प्रकारान्तरले पहाडको विम्बका माध्यमबाट राणाकालीन युगरूपी सन्ध्यामा पहाडका उच्च हिमशृङ्खला समान उच्च वर्गका मानिस आनन्दविभोर भएर वैभव एवं विलासमा डुबेका छन् । तिनको यो विलास क्षणिक हो भन्ने अभिव्यक्तिबाट कविले राणाकालीन वैभव एवं विलासपूर्ण युगको समाप्ति अवश्यम्भावी छ भन्ने आत्मविश्वासको प्रस्तुति अत्यन्त साहसका साथ उल्लेख गरेको मान्न सकिन्छ ।
तत्कालीन समयमा निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा आवाज उठाउन सक्ने अनुकूल अवस्था पटक्कै थिएन । यदाकदा स्वदेशभित्र र बाहिर (भारतका बनारस, दार्जिलिङ आदि) का कविबाट जागरणका स्वर नसुनिएका होइनन् तर क्रान्तिका कुरा गर्ने साहस त्यसबेला कसैमा थिएन । प्रतिकूल समयमा त्यस्तो साहस गर्ने व्यक्ति केवल सिद्धिचरण मात्र देखापर्छन् । १९८४ मा रचित ‘वर्षा’ शीर्षकको कवितामा जगलाई हाँक दिँदै हुङ्कार गर्छन् र संसारका सबै अशुभ वस्तु नाश हुने अभिव्यक्ति दिन्छन् । त्यसैले घोर क्रान्तिपश्चात् नै शान्ति आउने कुरा गर्दै यिनले साहसका साथ यस्तो अभिव्यक्ति दिएका छन् ः

हुँकार्छु खूब रिसले जगलाई हाँकी
मास्दै सबै अशुभ वस्तु कुनै नराखी
के हुन्छ शान्ति नभईकन घोर क्रान्ति
त्यो शान्ति स्वच्छ नभई कुनै हुन्न भ्रान्ति ।
देशमा विद्यमान विषमताका प्रत्यक्ष द्रष्टा र भोक्ता बनेका कविको मन आकुलव्याकुल बनेको छ । उनमा अन्याय सहन गर्ने धैर्य टुट्दै गएको छ । त्यसैले उनी अन्याय गर्नेलाई नै टुक्रा टुक्रा पारेर सिध्याउने अठोट गर्छन् । कविको यो क्रान्तिको उद्घोष तत्कालीन शासन व्यवस्थाप्रति लक्ष्यित थियो । सामान्य सुधारका कुरा गर्दासमेत गादी ताकेको ठान्ने राणाशासकका लागि विरोधीले गरेको योभन्दा ठूलो हाँक र चुनौती अर्को हुनसक्दैन । सर्वप्रथम यिनले आफ्ना कवितामा ‘क्रान्ति’ शब्दको उल्लेख गर्नु आफैँमा नेपाली साहित्यका लागि मात्र गौरवको विषय नभएर ऐतिहासिक विषय पनि बनेको छ । कृष्णलाल अधिकारीलाई ‘मकैको खेती’ कृति लेख्दा जेल ठोक्ने र मृत्युवरण गर्न बाध्य हुनुपर्ने अवस्थाबाट सिद्धिचरण अपरिचित पक्कै पनि थिएनन् होला । त्यस्तो अति नै विषम परिस्थितिमा ज्यानकै बाजी थापेर क्रान्तिको सगर्व उद्घोष गर्ने यिनको कामलाई सामान्य रूपमा लिन सकिन्न । यो सिद्धिचरणको ज्यादै कठोर साहसको परिणति मान्न सकिन्छ ।
यिनले निरङ्कुशताविरुद्ध दिएको अभिव्यक्तिमा क्रान्ति वा विद्रोह सुरुवाती कालदेखि नै प्रभावकारी बन्दै गएको देखिन्छ । नब्बेको दशकपछि यिनले लेखेका ‘परिचय’, ‘विश्वव्यथा’ जस्ता कविता यसका दसी हुन् । यिनले बेलायती कवि सेली र चिनियाँ नवजागरणका प्रवर्तक लु सुनबाट उत्प्रेरित भई कविता लेखेको पाइन्छ । तत्कालीन परिस्थितिले यिनमा विषमताविरुद्ध लड्ने जोस र साहस बढ्दै गएको देखिन्छ । त्यसैले यिनी उमङ्गका पराकाष्ठामा युगीन विषाक्तताविरुद्ध हाँसीहाँसी फाँसीलाई स्वीकार गर्न यौवन आएको कुरा १९९४ को ‘यौवन’ शीर्षकको कवितामा सहर्ष अभिव्यक्ति दिन्छन् ः
नाची, उफ्री, खेली, हाँसी
सुन सुन भन्दछु ताली बजाई
फाँसीमा पनि हाँसी हाँसी
चढ्न तयारी जोवन आयो ।
यिनको आत्मबल १९९५ पछि अझ तीव्र, सशक्त अनि उच्च बन्दै गएको पाइन्छ । यिनीभित्रको क्रान्तिको आगोको ज्वाला दनदनी दन्किन थालेको देखिन्छ । नेपालीहरूले कुनै युद्धमा हारेको इतिहास छैन । उनीहरूले आफ्नो सबल उपस्थिति जस्तोसुकै कठिन घडीमा पनि देखाउँदै आएका छन् । तसर्थ आफू तिनै बहादुर नेपालीको रगतबाट सिञ्चित भएको हुनाले विषमताको जरो उखेल्न हिम्मतका साथ अघि बढ्ने कुरामा यिनी दृढ देखिन्छन् । त्यसबेला नेपालीहरूको बहादुरीको गाथालाई कसैले पनि कम आँक्ने अवस्था थिएन । विभिन्न युद्ध र महायुद्धमा उनीहरूले देखाएको अतुलनीय साहस कम रोमाञ्चकारी थिएन । ठूल्ठूला अत्याधुनिक अस्त्रशस्त्र र बमबारुदका अगाडि खुकुरीकै भरमा शत्रुलाई हायलकायल पारी लखेटेर कीर्तिमानी गाथा रचेका नेपालीहरूको साहस र देशप्रतिको उच्च समर्पणबाट पनि सिद्धिचरण धेरै नै उत्प्रेरित बनेका देखिन्छन् । त्यसैले यिनले नेपालीको साहस र आत्मबललाई अनुसरण गर्दै, अन्याय, अत्याचार तथा विषमताका विरुद्ध खुकुरी उठाई साहसका साथ जाइलाग्न तयार रहेको कुरा १९९५ को ‘परिचय’ शीर्षकको कवितामा अभिव्यक्ति दिएको पाइन्छ–
नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु,
वैरी नै होस् तर छु बहुतै दीनमाथि दयालु,
तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार ।
यस्तै संसारका जतिसुकै शक्तिशाली शत्रु भए पनि तिनलाई परास्त गर्न आफू समर्थ रहेको कुरा यिनी सगर्व उद्घोष गर्छन् । यिनले अन्यायी, अत्याचारी वा सामाजिक उन्नयनका बाधक तथा देशघातक दुवैविरुद्ध आगो भई जाइलाग्ने उच्च आत्मबलको अभिव्यक्ति दिएका छन्–

शिक्षा मेरो जगत् भरको गर्नु रक्षा सदैव
दीक्षा यै हो परहित गरुँ आखिरी साससम्म
ज्वाला दन्कोस् दनदन जहाँ मृत्यु आई फुकेको
पापाचारी यदि छ त त्यहाँ माथ नै ताक्छु त्यस्को ।
वास्तवमा यिनलाई निरङ्कुशताको अन्त्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने कुरा राम्ररी थाहा थियो । अझ क्रान्तिका वाहक भनेका युवावर्ग नै हुन् भन्ने यिनलाई पूर्ण विश्वास थियो । त्यसैले तत्कालीन सामन्तवादी राज्यसत्ताविरुद्ध देशका सम्पूर्ण युवालाई क्रान्तिमा सरिक हुन आह्वान गर्दै ‘चम्क युवक’ शीर्षकको कवितामा यस्तो जोसिलो अभिव्यक्ति दिन्छन्–

चम्क युवक अब चम्क न चम्क
छाती फुकाई लम्क न लम्क
कदम कदममा भेट्न नपरोस्
लाखौँ बाधा बज्र कठोर
निर्भय दनदन गोली चलाई
मार्दै जाऊ वैरीलाई ।
१९९६ सालमा आइपुग्दा यिनको निरङ्कुशताविरुद्ध विद्रोह चेत चरमोत्कर्षमा पुग्छ । अब यिनी क्रान्ति गर्ने, हतियार उठाउने कुराबाट अघि बढेर हडताल गर्ने कुरा गर्छन् । हडताल भनेको कुनै पनि निरङ्कुश शासनव्यवस्थालाई तहसनहस पारी जनअधिकार स्थापित गर्ने विश्वव्यापी मान्यता हो । आफ्नो पुत्रवियोगमा रचित ‘विश्वव्यथा’ कवितामा त विद्रोहको ज्वाला नै विस्फोट भएको छ । यस कवितामा यिनी समस्त शोषित तथा पीडित वर्गलाई सङ्गठित भएर सङ्घर्षको अभियानमा सरिक हुन आह्वान गर्छन् । विषाक्त युगका निकृष्ट प्रवृत्तिविरुद्ध र आफ्नो पौरख प्रदर्शनका लागि शङ्खनाद गर्छन् । यति मात्र होइन, विधिको विधान र त्यसको शक्तिलाई समेत चुनौती दिन पछि पर्दैनन् । यिनी अत्यन्त साहस र उच्च मनोबलका साथ यस्तो विचार प्रस्तुत गर्छन्–

आज नखाऔँ नसुतौँ आऔँ
सब मिली हडताल मचाऔँ
कसरी चल्ला विधिको सृष्टि
लौ त्यसको पाइन हेरौँ ।
यसरी युगका ज्वलन्त समस्यालाई साहसका साथ उजागर गर्ने विशिष्ट प्रतिभा हुन् सिद्धिचरण । निरङ्कुशताका विरुद्ध उथलपुथल सिर्जना ागर्न सङ्गठित रूपमा गरिने क्रान्ति वा हडताल, विश्वमा बहादुरको नाम कमाएर शिर उच्च बनाई गौरवका साथ परिचय दिने नेपालीहरूको सान र गौरव ‘खुकुरी’ जस्ता शब्दलाई सर्वप्रथम नेपाली कवितामा प्रयोग गर्ने व्यक्तित्व यिनै हुन् । शहीद गङ्गालाल, राजनीतिका शिखरपुरुष वीर गणेशमान सिंह र मनमोहन अधिकारीका प्रेरणाका स्रोत र राजनीतिका पथप्रदर्शक समेत बनेका सिद्धिचरणले अन्याय, अत्याचार र शोषणविरुद्ध सामन्तको शिरच्छेदन गरी नरमुण्डका माला लगाई हुङ्कार गरेकै कारण राणा शासकले अठार वर्षको कठोर कालकोठरीमा राख्ने काम ग¥यो । यिनले काव्ययात्राको प्रारम्भिक चरणमै सिर्जनाका माध्यमबाट दिएको दूरगामी अभिव्यक्ति र अमर शहीदको गौरवपूर्ण योगदानकै परिणामस्वरूप आज देशमा लोकतान्त्रिक व्यवस्था स्थापित भएको छ । यस्ता स्वाभिमान र साहसका पर्याय बनेका युगकवि सिद्धिचरण श्रेष्ठको १०९औँ जन्मोत्सवको पावन अवसरमा कविप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?