logo
२०७७ श्रावण २८ बुधवार

स्मृति कतिकति

शनिवार |


2020-02-08-8376



नारायण तिवारीलाई नेपाली साहित्यजगत्मा नचिन्ने कमै होलान् । तिवारी सबै विधामा कलम चलाउनुहुन्छ । तर पनि उहाँ मुख्यतः आख्यानकार हुनुहुन्छ । कथा, लघुकथा तथा निबन्ध विधामा उहाँको कलम प्रखर छ । ‘स्मृति कतिकति’ संस्मरण कृतिचाहिँ उहाँको जीवनका आरोहअवरोहको अवलोकन गरिएको भञ्ज्याङ चौतारी हो । कृतिमा मानवीय रहर पनि बौरिएको छ । कहर पनि रौसिएको छ ।
‘स्मृति कतिकति’ मा जम्मा १६ अध्याय छन् । हरेक अध्यायमा उपअध्याय शीर्षक बनेर उदाएका छन् । आमा बित्दाको वर्षको आफ्नो जन्मदिनको मनोवैज्ञानिक द्वन्द्वबाट स्मृति लेखन सुरु भएको छ र वर्तमानको बुढ्यौलीउन्मुख तर्कनामा सकिएको छ । स्मृतिकारको जीवन भोगाइ नै स्मृति कतिकतिको विषयवस्तु हो । स्मृतिकारका स्मृतिहरू मूलरूपमा छ प्रकारका विहङ्गम सामल बोकेर आएका छन् ।
स्मृतिको सुरुवात आफ्नो पुख्र्यौली थलो तत्कालीन सप्तरी र हालको सिराहा जिल्लाको राघोपुर गाउँबाट सुरु भएको छ । आफ्नी एकल हजुरआमाको जोश, जाँगर र मूलतः बसाइँ सर्ने आँटलाई सलाम गरिएको छ । हजुरआमाले स्मृतिकारका पाँचवर्षे बालक पितालाई बोकेर विराटनगरमा बसाइँ सर्ने आँट गर्नु साँच्ची नै गर्व गर्न लायक छ । यसपछिको थलो विराटनगरको शङ्करपुर देखिन्छ ।
सीतागञ्जमा जन्मेपछि बाल्यकालका मनोरम क्षणहरू स्मृतिमा छताछुल्ल भएर पोखिएका छन् । ती कहर पनि छन् र सुरम्य पनि छन् । आज वर्तमानमा हराएका नेपालका रैथाने बालखेल र गीतहरू जस्तै डोल बगैँचा, छुर, कपर्दी, इन्चुमिन्चु डाइवर सिं, मै प्यारो रोम रोम, यति यति पानी घग्गे रानी, गुच्चा आदिको प्रसङ्गले पाठकलाई हिजोको नेपालमा पु¥याउँछन् । टेङ्ग्रा खोला, बाँध, धूलेबाटो, गोरुगाडा र यस्तै यस्तै तराईको ग्रामीण जीवन सर्लक्क आएको छ । यो पढ्दा तराई मधेसको तत्कालीन सभ्यता, संस्कृति र प्रचलनका नाममा रहेको सामाजिक चेत सुरम्यले बुझ्न सकिन्छ ।
सायद सबैलाई यस्तै लाग्दो हो बाल्यकाल । न शोक छ, न तृष्णा । न असन्तुष्टि छ जीवनसँग । न जीवनको कुनै कहरलाग्दो योजना छ बाल्यकालसँग । आहा कति मीठो । यी कुरा सरर आएका छन् । पढ्दा आनन्दानुभूति हुन्छ । उहाँको जीवन विराटनगरमा बितेको छ । गरिबी छ । अभाव छ तर उमङ्ग छ । स्कुले जीवनका उच्छ्वासहरू सिनेमाका पर्दाका रोमाञ्चक पटकथा जस्तै सरर आएका छन् । त्यहाँ ओ¥याइँहरू पनि छताछुल्ल भएर देखापरेका छन् । आहा कति मीठो जीवन ? तर खोई जीवन त्यहाँ टक्क अडिएर बस्दोरहेनछ । पढाइपछि लगत्तै आइहाल्छ जागिर खाने लेठो । जागिरका दौरान धरान, चैनपुर र फेरि धरान छ एउटा शृङ्खला औलो उन्मूलनमा । अर्को छ नेपाल बैङ्क लिमिटेडमा । नेपाल बैङ्क लिमिटेडको जागिर विराटनगर, सुनसरीको अमाही बेल्हा, ताप्लेजुङ, जनकपुर, लाहान, काठमाडौँ हुँदै वर्तमानमा निवृत्त भएको छ । यो खण्डका स्मृतिहरू टिभीका सिरियलजस्तै सलल बगेका छन् । कतै जीवन रमाएको छ । कतै कहरिएको छ । कतै रौसिएको छ । कतै उदासिएको छ । नेपाल बैङ्कसँग कृतज्ञ छन् । बैङ्क डुबाउने घुस्याहा तत्वसँग आक्रोशित छन् । पारिवारिक जीवनको ऊहापोह सुन्दर बनेर प्रयुक्त भएको छ । बाबुआमा, श्रीमती, छोराछोरी तथा सामाजिक परिवेशसँग दायित्वबोध गरेर सम्मोहित हुनुभएको छ स्मृतिकार । छोराछोरीका लागि आफ्नो उच्च चेत मात्र होइन सम्पूर्णता नै सुम्पिएका छन् । आखिर आध्यात्मिक जीवन भन्नेहरू पनि भौतिक जीवनकै सहारामा कुर्लने न हुन् ।
अहिले आएर नेपाल बैङ्कबाट सेवानिवृत्त जीवन बिताइरहनुभएको छ स्मृतिकार । बसाइ काठमाडौँमा छ भाडामा । स्मृति बाहिरको कुरो, अहिले छोरो छ नेपालमा । छोरी अमेरिकामा । बिहेदान गराइसक्नुभएको छ । एकप्रकारले निवृत्त । तर व्यवहारमा निवृत्त हुन कहाँ पाइन्छ ? यही छोरा, छोरी, पेन्सन र श्रीमतीसहितको भावी आरोग्य जीवनको कामनामा छ ।
प्रायः स्मृतिहरूमा निजी कथ्यौलीहरू मात्र आएका हुन्छन् । आत्मरतिका भेलहरू आउँछन् । गुणगान र लिपनपोतनहरू आइदिन्छन् । तस्बिरहरू एल्बमझैँ राखिन्छन् । त्यसले स्मृतिलाई पढ्न दुरुह र अरुचिकर बनाउँछ तर तिवारीको यो ‘स्मृति कतिकति’मा तिवारी आफैँ यसबारेमा सजग देखिनुभएको छ ।
भाषा पाकेको छ । मीठो छ । भाषा स्मृतिका पानाभरि सुन्दर बनेर लिपिबद्ध भएर कुदेका छन् । सरल र सलिल छन् । आफूलाई घागडान ठान्ने लेखकले भाषालाई दुरुह र क्लिष्ट बनाउने गरेको बोझ यहाँ बोक्नु परोइन । बोधगम्य प्रस्तुति छ । अधिकांश शीर्षक र उपशीर्षकले स्मृतिभित्र प्रयुक्त साहित्यिकतालाई धान्न नसकेको बोध हुन्छ । स्मृतिहरू गज्याङ्गुजुङ् भएर आएको हो कि जस्तो पनि लाग्छ । छिनछिनमा विषय प्रसङ्गले फड्को मार्छन् । स्मृतिभरि अनीश्वरवादी देखिएका छन् । ‘स्मृति कतिकति’को आवरणपृष्ठ वरिष्ठ कलाकार मुकेश मल्लको रहेछ । अमूर्तरूपमा पोतिएका आवरणपृष्ठका रङहरू सायद जीवनका विविध भोगाइका रङ होलान् । प्रकाशक साझा प्रकाशन बधाईको पात्र छ । प्रकाशकीय यान्त्रिक छ । ‘पूर्वकथन’ शीर्षकमा स्मृतिकारको रचनागर्भको प्रस्टोक्ति छ । कसैको भूमिका छैन । कृतिको अन्तिम पाटोमा स्मृतिकार तिवारीको फोटो, सामान्य परिचय र प्रकाशित केही महìवपूर्ण कृतिको आलेख छ । अहिले स्मृतिकार मिर्गौलाको बिरामी । यसले धेरै तर्कनाहरू दिएको छ । भोग्नेले भोगेकै छ र पनि समग्र परिवेश अँध्यारिन्छ । सबै भन्छन्, जीवन एउटा यात्रा हो । यात्राको समापनका लागि एउटा बहाना बनिदिन्छ कारण । कारण अर्कै पनि हुनसक्छ । कसले देखेको छ र ? जीवको पटाक्षेप भए पनि कृतिहरू सञ्जीवनी बोकेर हिँड्नेछन् । हिँडिरहेछन् । शुभकामना ।

 खेमराज पोखरेल  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?