logo
२०८१ बैशाख १४ शुक्रवार



दीर्घजीवन

शनिवार |


दीर्घजीवन



कमल रिजाल

प्रायः मिष्ठान्न भोजनको प्रशंसा गर्छन् मानिस । सायद तपाईं हामी पनि गर्छौं, गर्छौं मात्र होइन बढी नै गर्छौं तर आफैँमा त्यति राम्रो भने होइन यो । प्रथमतः आयु घटाउने काम गर्छ यसले । दोस्रो कुरा जति माया ग¥यो त्यति पर भइदिन्छ यो । जति मीठो भयो त्यति बढी खान सकिँदैन । थोरैमा चित्त बुझाउनुपर्छ, थोरैमै अमन गराउँछ यसले । तपाईं जति माया गर्नुहुन्छ, चाट्न खोज्नुहुन्छ उति हेर्नै मन नलाग्ने भइदिन्छ यो, परपर गराइदिन्छ । जति नजिक ल्याउन खोज्नुहुन्छ, त्यति भाग्न खोज्छ । यस्तो चीजको पनि प्रशंसा गर्ने गर्छौं भने योभन्दा गलत अर्को नहुन सक्छ सायद । मीठो हुँदैमा राम्रो हुँदैन, हुन्छ भन्न सकिँदैन । आफ्नो भन्ने र ठान्ने कुरो पनि आउँदैन । बरु नमीठो नै आफ्नो भइदिन्छ प्रायः मानिसका लागि, जसले तपाईं हामीलाई भाउ दिएको हुन्छ, साथ र सम्मान पनि दिएको हुन्छ । तपाईं हामी जति जति पर गर्न खोज्छौँ, उति उति नजिक भइदिन्छ यो । जो परपर गर्न खोज्दाखोज्दै पनि नजिक हुन्छ, हुन खोज्छ भने सम्भवतः योभन्दा नजिकको मित्र अर्को हुन सक्दैन ।
तपाईं हामी पाहुनालाई मीठोमीठो चीज खुवाउन चाहन्छौँ । सकेसम्म मीठो खुवाएर बढी तृप्त पार्न खोज्छौँ उनीहरूलाई । पाहुना भनेका देवतासमान हुन्छन् भन्ने मान्यता छ हाम्रो संस्कृतिमा । उनीहरूलाई देवता जस्तै मान्नुपर्छ भन्ने उपनिषद् वाक्य छ । यसै भनेका छन् तैत्तिरीयोपनिषद्मा ऋषिकुमारहरूले । पाहुनालाई जति बढी सन्तुष्ट पार्न सकियो त्यति बढी देवता खुशी हुन्छन् भन्ने यसको भाव हो तर सन्तुष्ट पार्ने भन्ने कुरो त्यति सहज छैन खासगरी मानिसलाई । जति बढी पायो, त्यति बढी पाउन चाहन्छ मानिस । एउटा घर नहुँदा पनि चलेकै हुन्छ, दुईवटा घर भएर पनि पुग्दैन । एउटा पाएको हुन्न, त्योभन्दा राम्रो अर्कोको चाहना भइसकेको हुन्छ । घर, बङ्गला, गाडी धन, सम्पत्ति सबैमा यही सूत्रले काम गरेको हुन्छ । यो मानवीय प्रवृत्ति नै हो । यो र ऊ भन्ने छैन । सबैको अवस्था यस्तै हो । संसारभरिकै धन, सम्पत्ति पाए पनि मानिसको मन अघाउँदैन भनेका छन् व्यासजीले भागवतमा ।
लोभको भाँडो कहिल्यै भरिन्न । एकपछि अर्को खडा भइसकेको हुन्छ, भइरहेको हुन्छ । यस्तो हुनु कदापि राम्रो होइन । मूलतः यसबाट दुईवटा नतिजा निस्कन्छ । कि प्राप्त हुन्छ कि हुँदैन । यी दुवै राम्रा होइनन् । प्राप्त भए पुनः लोभ बढ्छ र तत्कालै अर्को चीजको आवश्यकता भइसक्छ, जसको अन्त्य कहिल्यै हुँदैन । लुतो कन्याउनु र यो उस्तै हो । प्राप्त नभए क्रोध बढ्छ । त्यति ठूलो दुःख गरियो तैपनि प्रतिफल पाइएन भन्छ भित्रभित्रै भुतभुतिन्छ, मुर्मुरिन्छ मानिस । क्रोधले मोहलाई जन्माउँछ, मोहले स्मृति भ्रंश गराउँछ । स्मृति भ्रंश भएपछि बुद्धिनाश हुन्छ । त्यसपछि सर्वनाशका निम्ति अर्को बाटो खोज्नुपर्दैन । जेजे गर्नुपर्ने हो, त्यसैले नै काम तमाम गरिरहेको हुन्छ । गीतामा कृष्णले यसै भनेका छन् ।
यो कुरा प्रायः सबैलाई थाहा छ, थाहा भएको हुन्छ । तैपनि त्यसैको पछि लाग्न छाड्दैनौँ हामी । मानवीय स्वभाव नै यसैमा गएर रुढ भएको छ, रुढ हुन पुगेको छ । यस्तो अवस्थामा धन, सम्पत्ति दिएर कसैलाई सन्तुष्ट पार्ने भन्ने कुरा र आकाशको फल उस्तै हो । मानिसलाई सन्तुष्ट पार्ने भनेको अन्नले नै हो, त्यो पनि काँचै दिएर होइन । धर्मशास्त्रमा अन्नको विशेष महìव गाइएको छ । यसको अर्थ पनि यही हो । पौराणिक ग्रन्थहरूमा यसको विशेष व्याख्या गरेका छन् व्यासजीले । उनका अनुसार प्रशस्त दान पुण्य गरेका भए पनि अन्नदान (भोजन) गराउन नसकेका कारण मरेपछि खान नपाएर आफ्नै लासको मासु खान परेको थियो रे अघि कुनै बेला कुनै एक सज्जनलाई । अन्नलाई उपनिषद् दर्शनले ब्रह्म भनेर सम्मान गरेको छ ।
हाम्रो समाजमा पाहुनालाई खुवाउनुपर्छ, त्यो पनि मीठो मीठो भन्ने मान्यता रहेको कुरा माथि नै उल्लेख भइसकेको छ । यो भनेको आफ्नो श्रम र साधनले अरूलाई तृप्त पार्ने प्रयास गर्नुपर्छ भन्ने हो । अतिथिलाई मिष्ठान्न भोजन गराउनुपर्छ भन्ने दर्शनको अभिप्रायः यही हो । मीठो चीज धेरै खान सकिँदैन । थोरै चीजले नै उनीहरूलाई तृप्त पारिदिन्छ । थोरैमा तृप्त भइदिन्छन्, त्यो पनि बढीभन्दा बढी । खुवाउनेका लागि यो ठूलो अवसर हो तर खानेका लागि के हो, त्यो भने आफैँले बझ्नुपर्ने कुरा हो ।
मीठो चीज स्वास्थ्यका दृष्टिले पनि राम्रो होइन । जति बढी मीठो भयो, त्यति बढी गरिष्ठ भइदिन्छ यो । गरिष्ठ चीज जति बढी खान खोज्यो त्यति बढी स्वास्थ्य खराब गरिदिन्छ । पेटमा ग्यास भरिन्छ, गड्याङगुडुङ गर्न थाल्छ, भित्र पनि आवाज बाहिर पनि आवाज यस्तैयस्तै । कुनै हालतमा स्वास्थ्यका दृष्टिले यो राम्रो होइन । दीर्घ जीवनका लागि त अभिशाप नै मान्दा हुन्छ यसलाई । दीर्घ जीवनका लागि खाना पनि ठीक हुनुपर्छ । खाने समय पनि ठीक हुनुपर्छ । ठिक्कको खानुपर्छ । ठीक तरिकाले खानुपर्छ । जसले यस्ता कुरामा ध्यान दिएका हुन्छन्, उनीहरू स्वतः योगी हुन्छन् भन्ने आशय व्यक्त गरेका छन् गीतामा कृष्णले । खाने बेला पिउने पानीमा समेत ध्यान दिनुपर्ने हुन्छ । तरिका मिलाउन जाने त्यही पानी अमृत हुन्छ नजाने त्यही पानी विष हुन्छ भनेका छन् आचार्य चाणक्यले ।
आयुर्वेदले हितभुक्, मितभुक् र रीतभुक्को कुरा गरेको छ । यो भनेको पनि त्यही हो । हितभुक्को अर्थ खाने चीज स्वच्छ र सन्तुलित हुनुपर्छ भन्ने हो । रीतभुक् भनेको नियमपूवर्क खानुपर्छ भन्ने हो । नियमपूर्वक खाए त्यही चीज अमृत हुन्छ । अन्यथा त्यही चीज विष बन्न बेर लाग्दैन । रीतपूर्वक खाए फाइदा गर्छ नत्र नोक्सान गराउँछ । यसको सोझो अर्थ यही हो । मितभुक्को अर्थ ठीक समयमा खाने, ठिक्कको खाने, ठीक तरिकाले खाने भन्ने नै हो, जुन आफैँमा योग हो, जसले शतायु पार गराउँछ ।
ईशावास्योपनिषद्मा आहारविहार सन्तुलनमा राखी असल कर्म गर्नेहरू सय वर्षसम्म बाँच्न सक्छन् भनिएको छ । वेदले पनि सय वर्षम्म बा(ँच्ने, हेर्ने, सुन्ने, हिँड्ने बोल्ने प्रयास गर्नुपर्छ भनेको छ तर यस्तो अवस्था त्यस्तै भाग्यमानीले मात्र प्राप्त गर्छ, जसले आहार, विहारमा ध्यान दिएको छ । उदाहरणका लागि हाम्रै राष्ट्रकवि माधव घिमिरेलाई लिए पुग्छ । उहाँले वेदले भने जस्तै शतायु पार गरिसक्नुभएको छ । तैपनि उमेर अनुसार स्वतः हुने केही शारीरिक कमजोरीबाहेक स्वस्थ हुनुहुन्छ, तन्दुरुस्त हुनुहुन्छ । किनकि उहाँ योगी हुनुहुन्छ, उहाँको खानपान सन्तुलित छ । विचार र व्यवहार सन्तुलित छ ।
यसको अर्थ उहाँलाई मात्र यस्तो अवसर प्राप्त भएको छ, हुन्छ भन्ने होइन । जीवनलाई सन्तुलित राख्न सकिएमा हामी पनि उहाँजस्तै भाग्यम(ानीमा पर्न सक्छौँ । मीठो चीजको पछि लागेर आयु घटाउने कि आहार विहार सन्तुलित गरी दीर्घ जीवनको बाटोमा लाग्ने तपाईं हाम्रै हातमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?