logo
२०८१ बैशाख १४ शुक्रवार



विविध धुनको सङ्गम

शनिवार |


विविध धुनको सङ्गम


जीवनका आयाममा, जीवनका विस्तारमा कहिले तरङ्गिँदै, कहिले घस्रिँदै जिजीविषाका तारहरूले निकालिरहेका विविध धुनलाई कविता बनाएर काव्यमा नौलो प्रयोग गर्ने सुवाससिंह पराजुली नेपाली तथा अङ्ग्रेजी साहित्यका सक्रिय कवि तथा लेखक हुनुहुन्छ । साठीको दशकदेखि काव्य जगत्मा पाइला टेक्नुभएका कविको आफ्नै खालको प्रयोग र लेखनशैली पाइन्छ । उहाँ भोगाइलाई काल्पनिक रङ दिएर कुनै पनि विषयको जीवन्त वर्णन कवितामा गर्नुहुन्छ । चाहे त्यो प्रेम होस्, जोस होस्, क्रोध या चाहना होस् । जसले लयात्मक शैलीमा पाठकलाई मन्त्रमुग्ध गर्दछ ।
२०७१ सालमा ‘माइस्टिक मेथ’ २०७४ मा ‘सोइल एन्ड पाएरी’ र २०७६ मा ‘सिम्फोनी अफ लाइफ’ कवितासङ्ग्रह प्रकाशित गरेर आपूmलाई प्रतिभाशाली कविका रूपमा उहाँले प्रमाणित गरिसक्नुभएको छ । उहाँ लेखनमा पनि सक्रिय रहनुभएको छ । हालसालै प्रकाशित कवितासङ्ग्रह ‘सिम्फोनी अफ लाइफ’ ले जीवनको सेरोफेरोमा दुःखसुख भई बज्ने, गुञ्जने वा झर्कने विभिन्न अनुभूतिलाई, त्यही जीवन बाँचेको परिवेश, देश, परिस्थिति र अझ पर महादेशलाई पनि समेटेको छ । पराजुलीको यस कवितासङ्ग्रहमा मानवीय जीवनका धुनलाई एउटै पुस्तकमा समेटेर कविले विविध विषयमा छुट्टाछुट्टै आनन्द दिने प्रयास गरेको पाइन्छ ।
तीन भागमा विभाजित यो कवितासङ्ग्रहमा पहिलो भागलाई ‘गोग्यासी’ शीर्षक दिइएको छ । जस अन्तर्गत पाँचदेखि आठ हरफसम्मका कविता छन् । ‘गोग्यासी’ कोरियाली शब्द हो र यहाँ कोरियाली शैलीका कविता छन् । जसमा सबै पङ्क्ति कविताका रूपमा मुक्त शैलीमा लेखिएका हुन्छन् ।
‘गोग्यासी’ कवितामा जीवन, समय, अवस्था, आग्रह, मित्रता आदि विषयलाई कविताको रूप दिइएका छन् । दोस्रो भागको
‘माइ काइन्ड अफ हाइकु’ शीर्षकभित्र चालीसवटा हाइकु छन् । चारवटा लाइनसम्मका यी कविताले कम शब्दमा धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेका छन् । मायाप्रेम, जन्म, मृत्यु र समय परिस्थितिका विषय बोकेका यी हाइकु जापानी शैलीका कविता हुन् । जीवनको भोगाइले सुसेल्ने हरेक अनुभूतिले काव्यात्मक गीत गाएका यहाँ सङ्ग्रहित हाइकुले मुग्धता बोकेका छन् । तेस्रो अध्याय ‘पोयम स्टेसन’ शीर्षकमा छ । यसमा एकसय चालीसवटा साना तथा मझौला कवितात्मक धुनहरू छन् । जीवनले सुसेल्ने काव्यात्मक गीत गाएका यस सङ्ग्रहका सबै कविता मृदुल लाग्छन् । मुख्यकुरा यस सङ्ग्रहका कविताले जीवनकै गीत गाएका छन् विविध सङ्गीत र लयमा । कहीँ प्रेम बनेर रमाउँदै कहीँ धोका पाएर रुँदै, कहीँ कल्पनामा उड्दै त कहीँ निराशाले थाक्दै आफ्ना दिनचर्या र जिजीविषाका हरेक र प्रत्येक सम्बन्धलाई काव्यिक धुन भरेर सानासाना भावनामा आफैँ छरिन सक्नु पराजुलीको काव्यिक शक्ति हो । देश काल, परिस्थिति, धर्म यावत् विषयवस्तु बोकेका कविताले यौटा यौटा तरङ्ग ल्याउँछन् र पाठकलाई झङ्कृत गर्छन् । जीवनका हरेक अवयव नछोडीकन कविता बनाउन सक्नु पराजुलीको काव्यिक वैशिष्ट्य पनि हो । यस अन्तर्गत रिफ्युजी, फ्राग्रान्स अफ एसिया, भर्चुअल लव, हेवन इज इन कोमा, स्ट्रन्ज अफ टियर्स, अनजस्टिफिएवल टेल, वान लस्ट लाइफ मेनी भोइस अलिभ, ओम मनी पद्मे हुँ, सेल्फ इन्साइड इज आइ, जस्ता उत्कृष्ट कविता छन् । सुन्दर, कलात्मक र प्रतीकात्मक भाषाशैलीमा लेखिएका सबै कवितामा मुक्त तथा आन्तरिक लयको प्रयोग गरिएको छ । पुस्तकमा भएका हाइकु र गोग्यासीको आफ्नै लय छ । कलात्मक शिल्पको प्रयोगका कारण कविता सुन्दर छन् भने अनुप्रासीयता, शब्दात्मक, कलात्मकता र आलङ्कारिक शैलीका कारण कवितामा साङ्गीतिक झङ्कार प्रस्तुत भएको छ । कला र भावको सम्मिश्रणले प्रस्तुत कृति अत्यन्त प्रभावकारी बनेको छ । जापानी, कोरियाली र अङ्गे्रजी शैलीमा नेपालीपन दिएर जीवन जगत्का विविध धुनले सुमधुर बनाइएको यो सङ्ग्रहले नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्नेछ भन्ने विश्वास गर्न सकिन्छ । नेपालीभाषी पाठकका लागि दुरुह रहेका यी कविताले देश बाहिर विश्व बजारमा र अङ्ग्रेजी साहित्यका पारखीलाई गतिलो काव्यिक खुराक दिन्छ भन्ने कुरामा विश्वस्त रहन सकिन्छ ।

 रञ्जना निरौला

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?