logo
२०८१ बैशाख १४ शुक्रवार



नियात्रा : बाटो त सम्मै हो...

शनिवार |


नियात्रा : बाटो त सम्मै हो...


 

विधान आचार्य

‘बाटो त सम्मै हो तर उकालो रहेछ ।’ ‘सम्मो र उकालो त फरकफरक हुनुपर्ने तर एउटै बाटोको एउटै ठाम पनि सम्मो र उकालो हुन्छ त ?’ एउटा किशोर जिज्ञासुले अलि प्रौढ महिलाको माथिको भनाइमाथि आफ्नो टिप्पणी अनपत्यारिलो पाराले राख्यो । यो कुरा थियो शनिबार २६ पुसमा बिहान साढे आठतिर भक्तपुरको सूर्यविनायकबाट सोमनाथ मन्दिरका नाम राखेर आफ्नो धाम बनाएका पाइलट बाबाको आश्रमतिर पदयात्रामा जाँदाको प्रसङ्ग ।
पदयात्रा त्यहीँ मात्र सीमित थिएन । त्यो त मुखमा पर्ने पहिलो बिसौनी मात्र थियो । नेपाल भ्रमण वर्ष सुरु भएपछिको मेरो पनि यो पहिलो पदयात्रा थियो । आयोजक थियो प्रकृतिप्रेमी समूह । सातदोबाटो ललितपुरमा निरोगधाम सञ्चालन गरेको यो समूह काठमाडौँमा पदयात्रामा अग्रणी मानिन्छ । महिनामहिनामा चौथो शनिबार चलाइने यो पदयात्रा १५२औँ थियो, वर्षमा एघार सामान्य र केही विशेष पनि एकदिने पदयात्रा हुने गर्छन् यस समूहका । त्यसबाहेकका यसले सातदिने वा लामो पदयात्राको पनि आयोजना गर्छ । एकसय बाउन्नौँसम्म आइपुग्न यसले दिव्य १२ वर्षभन्दा बढी समय जनस्वास्थ्यका सरोकारमा बिताएको छ ।
दृश्य फेरि सूर्यविनायकदेखि पाइलट बाबा आश्रमतिरै लैजाऊँ होला । शनिबार भएकाले होला माथि पुगिन्जेल हामीसँगै उक्लिइरहेका दर्जनौँ बस, जिप, कार र मोटरसाइकलहरूले मनोरञ्जन आफूले गरे पनि पीरो धूवाँ फालेर हाम्रा नाक र दिमागलाई भने सास्ती दिए । झट्ट हेर्दा तीन चार किलोमिटरजति मात्र देखिए पनि बाटोको घुमाउरोपनले गर्दा छ किलोमिटरभन्दा पनि धेरै नाप गुगल महाराजले देखायो ।
बीचबीचमा भत्केका, पिच फुटेका वा छेउ नै तलतिर हाम्फालेका सडकले कुनै दरै योजना पर्खेर बसेका जस्तो लाग्थ्यो, अथवा ‘आ !! यत्ति त बिग्रेको हो नि अलि धेरै बिग्रोस् र अलि धेरैको मर्मत इस्टिमेट बनाउँला’ भनेर कुरेको कुनै प्राविधिकको मनसायलाई सडकका ससाना खोपिल्टाहरूले टुलुटुलु हेरिरहेका देखिन्थ्यो । जति माथि चढ्दै गयो, तल भक्तपुर सहरलाई ढपक्क छोपेर बसेको हुस्सुबाट भने मुक्ति मिल्दै जान्थ्यो । बिस्तारैबिस्तारै उजेलिएको आकाशले हिमालका टाकुराको घुम्टो खोल्दै जाँदा हामी पनि रोमाञ्चित हुँदै गइरहेका थियौँ ।
पाइलट बाबाको आश्रम जाने बाटोमा एउटा गेट बनाइएको छ । पदयात्राका अगुवा निर्देशक प्रकृतिप्रेमी समूहका हर्ताकर्ता डा. उमेश श्रेष्ठले ‘स्याउ खाने ब्रेक’ को घोषणा गरेपछि त्यही गेटका अघिल्तिर घाम ताप्दै स्याउ खाइयो । ए है ! स्याउ कहाँबाट आयो ? एउटा प्रश्न पाठकका मनमा आउला । पदयात्रामा जानेलाई समूहले सुरुमै झन्डै एकएक किलो स्याउ दिन्छ । त्यससित लगभग ३ देखि ४ सय ग्राम छोगडा आदि मिसाइएको चिउरा भुजा पनि दिन्छ । त्यो आफ्नो झोलामा बोकेरै हिँड्ने हो । आफूले लगेको पानी पनि पिएर जब आश्रमका ढोकैमा पुगियो डा. उमेश त मन्दिरको गेटमा बसेर भित्र पस्ने हाम्रा टोलीका मान्छे गनिराखेको पाएँ । किन ?
गुजरात, भारतमा भएको शिवजीको सोमनाथ मन्दिरको प्रतिमूर्तिका रूपमा पाइलट बाबाले बनाएका यस मन्दिरमा त परिसरमै जान पनि प्रतिव्यक्ति बीस रुपियाँ बुझाउनु पर्दोरहेछ । धन्य छौ शिव बाबा ! यति माथि उक्लेर पनि गोजीमा दाम नभएको भक्त त तिमीकहाँ आउने नसक्ने पो रहेछ । ‘गोजीमा सुको नहुने मान्छे क्यै पनि काम छैन’ भन्ने गीत त सुनेकै हो । धन्य शिव ! धन्य उनका अनुयायी पाइलट बाबा !! हैट !! म त परिसरमा परिवेश गर्दैमा फलाक्दै गएँ । पाइलट बाबाका आश्रमलाई त्यहीँ छोडेर हामी लौरो टेक्दै घ्याम्पेडाँडा उक्लियौँ । दुई वर्षपहिले नेपाल स्रष्टा समाजको पिकनिक गएको घ्याम्पेडाँडा यी दुई वर्षमा १४ बाट १६ पुगेकी किशोरीजस्तै हलक्कै बढेछ । रङरूप पूरै फेरिएछ । घ्याम्पेडाँडा भन्ने नाम र पहाडको चुली बिर्सेर पिकनिकलाई बनाएका छाप्रा मात्र सोच्ने हो भने ती गोङ्गबु वा ग्वार्खुका ग्राहक तान्ने ठाउँजस्ता लाग्छन् । जेजस्तो विकास गरे पनि तिनमा नेपालीपन दिन हामीले सकेनौँ ।
अबको लौरो टेकाइ रानीकोटतिर सोझियो । उतिबेला पिकनिक आउँदा पनि गएकै हो रानीकोट । घ्याम्पेडाँडाबाट उता भन्ज्याङ्जस्तो परेको बाटो ठूलो त ठूलै हो तर पिचका नाममा चाल्नोजस्तो बनाएको कालोपत्रेचाहिँ यो एक बर्खा पनि काट्दैन भन्ने अप्राविधिक र अनुभवी घोषणा गर्दै हामी अगाडि बढ्यौँ । हाम्रो गति मन्दमन्द नै थियो । एक दुई मोड सडकका घुमेपछि बाटोमा कागतका धुलोले ‘यताबाट जाऊ’ भन्ने सङ्केत गरेको पायौँ । लौ, सत्तलसिंह राजा, तिमी त चुनौती दिएर लोहापुरको बाटो गएका थियौ, हामी भने यिनै प्रकृतिपुरका पछि लागेर जाऊँ भनी उकालो लाग्यौँ । सबैमा उत्साह थियो, एक चिकित्सकका दम्पती अढाई वर्षकी बच्ची बोकेर हिँड्दै थिए ।
बाफ रे ! सडकको बाटो छोडेर सिधै ठाडै रानीकोट उक्लँदा पिताश्रीको शुभविवाह नै देखिने रहेछ । सामान्यभन्दा केही अग्ला र ठाडै उक्लिने भ¥याङजस्ता ७०३ वटा सिँढीले एकछिन ज्यान खाए तर माथि पुगेपछि देखिने लामो हिमालयको शृङ्खला हेरेपछि थकाइ एकै पटक मर्दोरहेछ । हो है, नेपालको माल भनेकै हिमाल हो रहेछ । हिउँ त अरू देशमा पनि छन् तर हिमाल छैन । यसले बोकेको सर्वोच्चता छैन । महाकवि कालिदासले कुमारसम्भव महाकाव्यमा (अस्त्युत्तरस्यां दिशि देवतात्मा, हिमालयोनाम नगाधिराजः पूर्वापरौ तोयनिधि बगाह्य, स्थितः पृथिव्या इव मानदण्डः) लेखेजस्तै यस भूखण्डको उत्तरदिशामा दैविक शक्तिहरूलाई समेत समेटेर बसेको अहिलेसम्म कतै र कहिल्यै नभएको हिमालय नामको पर्वतहरूको राजाधिराज नै पृथ्वीको एक मानक हो ।
हो, कालिदास हो ! तर यस्तो हिमालयको काखमा भएको देशको समुन्नतिलाई सोचेजस्तो गतिमा अगाडि बढाउन नसक्दा भने हामी चिन्तित छौँ ।
माथि पुगिसकेपछि रानीकोटको टुप्पोमै किन नजाने ? गयौँ ! शत्रुबाट सुरक्षाका लागि वरिपरि गहिरो कुलोजस्तो खनिएको रानीकोट तत्कालीन कोट वा पहाडको चुलीमाथि एक दरबार थियो । अब भने त्यहाँ केही पुराना लाग्ने अवशेष स्वरूपका इँट मात्र थिए । दुई फलामका भ्वाङ् परेका बेन्चावशेषले गिज्याइरहेका थिए । कठै रानीकोट दासीकोट पनि भन्न नसुहाउने थियो । अब स्थानीय सरकारको ध्यान गए केही होला कि ? हामी त्यहाँका भग्नावशेष हेरेर तल झ¥यौँ, तल एउटा भन्ज्याङ् छ । यो भक्तपुरको गुण्डू क्षेत्र पर्छ । यसको झन्डै पूर्व दक्षिणतिरबाट काभ्रेको पनौती जाने, पश्चिमतिरबाट ललितपुरको लाँकुरीभन्ज्याङ् जाने र सीधा उत्तरतिर भने भक्तपुरको सूर्यविनायक जाने गरी तीन जिल्लाको त्रिवेणी सङ्गमजस्तो यो ठाउँ पर्दोरहेछ ।
रानीकोटबाट तलको चौबाटोमा झरेपछि त्यताबाट लाँकुरी भन्ज्याङतिर जाँदा करिब एक किलोमिटरको कुनामा जङ्गलका बीचमा पूर्वतिर फर्केको बाघभैरवको मन्दिर छ । यो बाघभैरवको मन्दिर प्राचीन मानिन्छ । पहराका ढुङ्गामै बाघभैरवको आकृति कताकता देख्न सकिन्छ । यहाँका पुजारीले बताएअनुसार यो मन्दिर कीर्तिपुरको भन्दा पनि पुरानो हो र यी भैरव साक्षात् हुन् ।
त्यहीँ बाघभैरव मन्दिरको प्राङ्गणमा केही खुला चउर भएकाले हामीले खाना खाने बिसौनी पायौँ । प्रकृतिप्रेमीको खाना, नुन कम्ती, चिल्लो नामनिसान छैन, अघि बिहान दिएका चिउरा, भुजामा तरकारी हालेर खाने गरी लाममा बसियो । बोक्रैसुद्ध उसिनेर थोरै नाममात्रको नुनमसलामा मोलिएको आलु, नुनै नभएको तर स्वादिलो रायोको साग, एकथोक सिमी आदिको तरकारी, अनि चनाको अर्को तरकारी । चौरको घाम र खानाको
याम । सबैले खाइयो, आनन्दले ।
डा. उमेशले छोक्राबोक्रा खाए मात्र पाचन प्रणालीलाई मद्दत गर्छ भनेको जतिबेला पनि झल्झली हुन्छ ।
त्यो खानापछि हामी सीधा पश्चिम लाग्यौँ र झन्डै डेढ घण्टापछि अनुमानित दुई बजेका हाराहारीमा लाँकुरीभन्ज्याङ् पुग्यौँ । गोडा थाकेर चूर थिए । हिमाल हेरेर मात्र चित्त बुझ्थ्यो । डा. उमेश फेरि, पुगनपुग पाँच फिट नौदस इन्चको मान्छे जम्मा ५५ किलो भए के हुन्छ ? एकछिन पनि आराम नगरी हिँड्न सक्ने र उहाँका सारमा ग्वारारारा हिँड्ने युवाहरू । मान्छे खेद्नु अघि लागेर भन्ने उखानका चरितार्थकहरू । समूहका स्वयंसेवक आदिले तल सातदोबाटोमै तयार गरिएका झन्डै दस–दस किलोका सामग्री अपुङ्गे बोकेर हिँडेका देख्दा हामीलाई भने ईष्र्या लाग्थ्यो ।
लाँकुरीभन्ज्याङका एक कुनामा नपत्याउँदो तरिकाले पहाडका त्यस्ता अनकन्टार स्थानमा पनि दुखम्सुखम् एउटा फुटबल ग्राउण्ड बनाएका रहेछन् । भलै सानो आकारको किन नहोस् त्यसले त्यस भेकका खेलकुद प्रेमीहरूको तिर्खा केही हदसम्म भने पनि मेटाएकै देखिन्थ्यो । त्यही फुटबल ग्राउण्डका उत्तरपट्टि प्राकृतिक प्याराफिटजस्तो बनेको भिरालो चौर रहेछ । त्यसैमा हाइकिङ टोलीले एकक्षण विश्राम लियो । यसै विश्रामलाई प्रकृतिप्रेमी समूहका बारे तथा स्वस्थ रहन मानवले अपनाउनुपर्ने ‘उचित आहार विहार विचार’ (उआविवि) र मानवले कसरी ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ (आस्वाआहा) राख्नसक्छ भन्ने कुरा गरियो ।
डा. उमेश श्रेष्ठको विचारपछि यस पङ्क्तिकारले ताजा लेखिएको एउटा गीतको बोल सुनायो । लगत्तै सदस्य श्री जानु धिताललाई समूहले आयोजना गरेको सातदिने शिविरमा भाग लिँदाको अनुभव सुनाउन भनियो । जानुजीका अनुभवले बताएअनुसार कसैका, पच्चीस, बीस, पन्ध्र, बाह्र, दस वा पाँच किलोसम्मका तौल घटाएका उदाहरण प्रशस्त भए पनि आफूले भने पाँच महिनामा पाँचै किलो मात्र तौल घटाउन सफल भएको प्रसङ्ग उहाँको थियो । मज्जाको कुरा के भने, खानाको मात्रा नघटाइकन शरीरको तौल घटाउने तरिका पनि सुन्न पाइयो । भात आदि कार्बोहाइड्रेटले शरीरमा समस्या ल्याउने उहाँको राय थियो । यसपछि, रमाइलोसित नयाँ सहभागीको प्रतिनिधित्व गर्दै श्री काशीराज आचार्यले मनोरञ्जनात्मक तरिकाले यस समूहमा भएका आफ्ना धेरै इष्टमित्र र साथीभाइले लाभ लिएकाले आफू पनि आकर्षित भएर आएको बताउनुभयो ।
त्यसपछि दुई मिनेट उक्लिएर लाँकुरीभन्ज्याङको उत्तरपट्टिको डाँडामा आइपुग्दा देखिएको दृश्यले रोमाञ्चित बनायो । उत्तरका दिशामा हिमाल यसरी लाम लागेका थिए कि मानौँ उनीहरू हामीलाई हाम्रो हिँड्नसक्ने क्षमता जाँच गर्न उभिएका छन् । हातमा लौरो भए पनि ज्यान अब बिस्तारै थाकेर गल्दै थियो । अघि सुरुमा उक्लिएर पहिलो बिसौनीमा पुगिएको पाइलट बाबा आश्रमको डाँडा त त्यसमाथिबाट सानो फुच्चे थुम्कोजस्तो देखिँदोरहेछ ।
लाँकुरीभन्ज्याङ्बाट तल झर्दै आउनुचाहिँ वास्तवमा एकप्रकारले नरमाइलो काम थियो किनभने टाढा टाढासम्म देखिने स्थानबाट हामी ससानो घेराभित्रको दृश्य देखिने स्थानमा पो झर्दै थियौँ । हाम्रो लामो लाम देखेर तलको बस्ती लामाटारका बासिन्दा पनि दङ्गदास थिए । अचानक उस्तैजस्तो टोपी लगाएका डेढ दुईसय हाराहारीका महिला तथा पुरुष आफ्ना घरगाउँका बाटो हिँड्दै आउँदा जोसुकैलाई पनि रमाइलो लाग्नु स्वाभाविक हो, अनि हामीमध्येका कोहीकसैले लहलह परेका रायोका साग देखेर किन्न पाए हुन्थ्यो भन्दा आफ्नो बारी नै रित्तो पारेर पनि दिन लालायित देखिए । तिनले लिएको मोल तिनका सदासयताका सामु मामुली थियो ।
काठमाडाँै उपत्यका माथिबाट हेर्दा जस्तो बाटुलो र सुन्दर देखिन्छ, वास्तवमा यसका भित्रभित्र लुकेका पाटाहरूको सौन्दर्य झन् बेग्लै लाग्छ । साँखु होस् कि छैमलेतिर होस्, लामाटार होस् कि टोखातिर होस् भित्रभित्रका पाटा, तिनमा भएका बस्ती र रहनसहन, त्यहाँका बासिन्दाको संस्कृति आदिका पक्ष बेग्लाबेग्लै लाग्छन् । यसरी हेर्दा यही काठमाडौँ उपत्यकाको पनि एउटा कुना अर्को कुनासित बेग्लै र नितान्त भिन्न प्रकृतिको पाइन्छ । ऐ्यया ! हिँड्दाहिँड्दै अचानक टाउकामा ट्याक्क केही चीजले लाग्यो । यसो हेरेको त संसारमा नेपालभन्दा बाहेकका अरू देशमा नपाइने दुर्लभ र अमूल्य लप्सीको गेडो । टाउकोमा लागेर झरेको लप्सी टिप्न खोज्दा भुइँमा अर्को पनि देखियो, फेरि अर्को देखियो, फेरि अर्को देखियो । माथि हेरेको, पातजति सबै झरेर लप्सीका फल मात्र फूलका गुच्छाजस्ता गुजुमुज्जु गुजुमुज्जु भएर हाँगाहाँगामा बसेका । ताजाजस्ता लाग्ने चार पाँचवटा लप्सी टिपेपछि मुखबाट निस्क्यो– त्यहीँ रूखबाट शायद बाँदरले झारे होलान् । यति भनेको त अर्को रूखका टुप्पाबाट एकजना भाइले आवाज दिए ‘झार्ने बाँदर’ यहाँ छ है । तल जम्मा गरेर बेच्न लैजाने तयारी भएको रहेछ । मेरा हातमा करिब छ सातवटा दाना थिए । अहो ! टिपिहालियो के गरौँ भनेको दुईचार लिएर क्यै बिग्रेन धेरै नै चाहिए किन्नुहोस् । कुरा सही थियो । खेतीपातीलाई व्यवसायीकरण नगरी उन्नतिका उपाय हुँदैनन् । हामीमध्ये एक दुई जनाले किनियो पनि, एक सय रुपियाँको अढाई केजी, चालीस रुपियाँ किलो ।
कि माथिकै उकालो ओरालो भए हो, नत्र सम्मो ठाउँमा झन् थाकेका बेला हिँड्न अलि गाह्रो लाग्दोरहेछ । अलिकति हिँडेपछि बस र अरू गाडीहरूको घारघुर सुनियो । बिहान सूर्यविनायकका घाँचमा हामीलाई छोड्ने बसहरू लामाटारको बस बिसौनीमा यतिबेला हामीलाई कुरेर बसेका थिए । हिँडेर थाकेकाले होला, बस देख्दा झन् थकाइ लागेको अनुभव पो भयो । तर म ढुक्क थिएँ यति खुराकले अर्को एक महिनापछिको पदयात्रासम्मका लागि शरीरलाई ऊर्जा पुगिहाल्ला ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?