logo
२०८१ बैशाख १४ शुक्रवार



प्राचीन यहुदी सहरको प्रार्थनाघरतिर

शनिवार |


प्राचीन यहुदी सहरको प्रार्थनाघरतिर


दीप्स शाह

अप्रिल २०११ को दिन । जिन्दगीको हरेक पछिल्लो यात्रा एक कौतुकी पेरुङ्गो न हो, अलिअलि अगाडि जाँदै ग¥यो, कुतूहलताका कणकण पेरुङ्गोको छिद्रबाट चुहिँदै गर्छन् र छरपष्ट हुन्छन् आँखाभरि तर मन भने सायदै भरिन्छ कुतूहलता र यात्राबाट । इतिहासको दस्तावेज, भूगर्भशास्त्रीहरूको खोज र अनुसन्धानले बताएको यहुदीको हालसम्मकै प्राचीन र ऐतिहासिक बेतकनेसेत (हिब्रु भाषामा प्रार्थनाघरलाई बेतकनेसेत भनिन्छ), जुन उत्तर इजरायलमा माउन्ट गिल्बोवाको फेदीमा ‘हेफ्जी बा’ किबुजभित्र पर्दो रहेछ ।
यहुदीका निमित्त अत्यन्तै महङव र श्रद्धाको केन्द्रस्थल यो प्रार्थनाघर केवल यहुदी जातिकै लागि मात्र नभएर सिङ्गो मानवजातिका लागि प्राचीन इतिहास, मानव सभ्यताको विकासक्रमको अनुसन्धानका लागि कोसेढुङ्गा जत्तिकै रहेछ । मानव इतिहासको एक महŒवपूर्ण प्रमाण बोकेर प्रकृतिको काखमा बेखबर लुकिरहेको यो महŒवपूर्ण प्रार्थनाघरको अस्तित्व सन् १९२८ मा किबुज बेत आल्फा र किबुज हेफ्जी बाका बासिन्दाले पत्ता लगाएका हुन् । थप अध्ययन र अनुसन्धान जेरुसेलम हिब्रु विश्वविद्यालयका भूगर्भशास्त्री प्राध्यापक ईएल सुकेन्कीको नेतृत्वमा सन् १९२९ देखि सन् १९६२ सम्म गरियो । यसपछि ‘बेत आल्फा प्रार्थनाघर राष्ट्रिय पार्क’ नामकरण गरी सर्वसाधारणका लागि खुला गरिएको रहेछ ।
प्रवेश शुल्क तिरेर भित्र पसेपछि केही मिनेटको
‘लाइट एन्ड साउन्ड सो’मा प्राचीन स्थानीय यहुदीले कसरी उक्त प्रार्थनाघर निर्माण गरे भन्नेबारे जानकारी गराइँदो रहेछ । इतिहासको पाना कोर्ने र रङ्ग्याउने ती परिश्रमी हात र तीक्ष्ण दिमागी चर्तिकला हेरिसकेर बाहिरियौँ । गेटमा रहेको सानो स्न्याक बारमा बेच्न राखिएको एउटा जेरुसेलम झल्काउने चित्र ‘चिनो’को रूपमा किनेर बाहिरी हातामा केही तस्बिर खिचेपछि त्यहाँबाट फेरि अगाडिको बाटो लाग्यौं ।
त्यतिन्जेलसम्ममा बिहान उम्केर दिउँसोको घाम रापिन थालिसकेको थियो । सुन्दर हरिया फाँट हुँदै अगाडि बढ्दा मेरा आँखा छेउका जुम्ल्याहा ट्र्याक्टरमा परे, जो सँगसँगै नारिएर गाँजर बारीमा फन्को मारिरहेका थिए । मैले कार रोक्न भनेँ र बाहिर निस्किएँ । यो दृश्य उनीहरूका लागि अचम्मलाग्दो होइन तर मेरा लागि भने अचम्मको थियो । ती दुई ट्र्याक्टरको सहाराले दुईजना ड्राइभर मिलेर फाँटभरिको गाँजर पो उखेल्दै रहेछन् ! एउटाले गाजर जमिनबाट थुतेर पात र गाजर छुट्याउँदै अर्को ट्र्याक्टरमा हाल्दो रहेछ । अनि गाजर बोक्ने ट्र्याक्टर भरिएपछि कतै खन्याउन जाँदो रहेछ । मैले हाम्रोतिर देखेको क्रसर मेसिनजस्तो गाजरलाई कताबाट कता उकाल्दै, ओराल्दै त्यो आधुनिक प्रविधिबाट गाजर उखेलेको दृश्य निकै बेर हेरिरहेँ । त्यतिन्जेल मेरा सहयात्री रामी, युबाल र चिपोरा पनि मेरो उत्सुकता नियाल्दै बसिरहे । प्रविधिको उच्चतम् प्रयोगबाट नमुना खेती गरेरै लगभग सबैजसो कङ्क्रिटको देश इजरायलले खाद्यान्न, तरकारी र फलफूल आफू खाएर अन्य मुलुकमा समेत निर्यात गर्छ । जब कि इजरायल हालको मध्यपूर्वी क्षेत्रको एक शक्तिशाली र सम्पन्न औद्योगिक मुलुकमा गनिन्छ । कृषिप्रधान मुलुक नेपालबाट आएकी ‘म’ भित्रभित्रै कँुडिए र नमीठो डाह पनि गरेँ । यतिका सुविधायुक्त प्रविधि मेरो माटो र परिश्रमी हातले कहिले पाउलान् ?
नजिकैको पेट्रोल पम्पछेउमा बसेर बडेमानको आइसक्रिम खाइसकेर हाम्रो यात्रा फेरि अगाडि बढ्यो । हाम्रो अबको योजना थियो ‘बेत सेआन राष्ट्रिय पार्क’ डुल्ने, जुन पार्क पनि ऐतिहासिक महŒवको नै छ । अफुला र खेदेराको उत्तरपूर्वी भूभागमा अवस्थित बेत सेआन पार्क चार सय एकड (१९ लाख ३६ हजार स्क्वायर मिटर)मा फैलिएको रहेछ । यस पार्कभित्र प्राचीन बेत सेआन सहर पनि अवस्थित रहेछ । भौगर्भिक अध्ययनको हिसाबले सन् १९२० देखि लगातार सन् १९८६ सम्म भूगर्भ अध्ययन केन्द्र र हिब्रु विश्वविद्यालयले अध्ययन र अनुसन्धान गरेर पुनर्निर्माण गरिसकेपछि मात्रै सर्वसाधारणका लागि खुला गरिएको रहेछ । उत्खनन र अनुसन्धानकर्ताका अनुसार बेत सेआनमा पहिलो मानवबस्ती हरोद नदीको दक्षिणी किनारबाट सुरु भएको हो । त्यसपछि समयक्रममा इजिप्सियन, रोमन, जिउज, समार्सियनले पटकपटक आधिपत्य जमाउँदै आएको प्राचीन बेत सेआन सन् ७४९ मा गएको विध्वंसात्मक भूकम्पबाट पूर्ण रूपमा ध्वस्त भएर केवल भग्नावशेष मात्रै बाँकी रहेछ ।
समयको लामो कालखण्डसम्म प्राकृतिक क्रूरता झेल्दै बेखबर रहिरहेको मानव सभ्यताको एक महŒवपूर्ण इतिहास र यहुदीको एक अनमोल ऐतिहासिक सम्पदा बेत सेआनले अन्ततः फेरि इजरायल राज्यको पुनःस्थापना भई स्वाधीनता प्राप्तिपछि विश्वको ध्यान खिच्न थाल्यो । फलस्वरूप पुनः बेत सेआन महŒवपूर्ण स्थल बन्न थाल्यो । प्राचीन सहरको यो अवशेषस्थल विविध प्रस्तरकला, काष्ठकलादेखि इतिहासमा मानवपुर्खाले भोगेको जीवनपद्धतिको अमूल्य खालका प्रमाण बोकेर इजरायलवासीको नाममा गौरव थपेर मुस्कुराइरहेको हेर्दै गर्दा मध्यदिनको प्रचण्ड गर्मी पनि भुलिएछ । हातमा क्यामेरा, आँखामा बडेमानको घामे चस्मा, काखीमा ब्याग र त्यसभित्र डायरी र कलम अनि पानीको बोतलसँगै त्यस प्राचीन सहरी अवशेषको अवलोकन गरेर मक्ख पर्दै यताउता डुलिरहेँ ।
कुन जमानामा बनाइएको कलात्मक ढुङ्गे थिएटर, स्नानगृह, ढुङ्गा छापिएका कलात्मक गल्ली–गोरेटा, लोभलाग्दा मोजाइक बुट्टेदार भुइँ, प्राचीन रोमन मन्दिर, कलात्मक भीमकाय ढुङ्गे खम्बा, प्राचीन सार्वजनिक शौचालय आदिको भग्नावशेषलाई इजरायलीले के सारो जतन गरी स्याहारेर राखेका छन् र गर्वले फुलेका
छन् ! इतिहास रच्न जति मुस्किल हुन्छ, त्योभन्दा मुस्किल रचित इतिहासको अस्तित्व जोगाएर पुस्ता दरपुस्तालाई सुम्पिँदै जानुमा हुन्छ । मध्यपूर्वी सुन्दर देश इजरायलमा यस्तो देखिन्छ कि यिनीहरू केही पनि भत्काउँदैनन्, कुनै पनि व्यक्तिगत स्वार्थ पाल्दैनन् । भएकोलाई स्याहार–सम्भार गर्छन् । मैले यिनीहरू र हामीबीच अनेक यस्तै फरकपन भेट्टाएँ ।
यिनै फरक अवस्था र सोचको भुमरीमा झुत्ती खेल्दै मनभरि बेत सेआन टाँसेर र क्यामेराभरि तस्बिर साँचेर माथि स्न्याकबारमा पर्खिरहेको चिपोरालाई भेट्न लम्किएँ । दिन वयस्क भएर ढल्किने तर्खरमा थियो । कारले हामीलाई अर्को गन्तव्यतिर लैजाँदै थियो । थकानले आँखा केही बेरका लागि झप्किएछन् । बिउँझिँदा उत्तरपूर्वी तिबेरियामा बत्तिरहेको कारभित्र गिल्बोवा हिलको सिर्सिरे हावामा मेरो कपाल उड्दै थियो, म मक्ख पर्दै मुस्कुराइरहेकी थिएँ । त्यसमाथि मनभरि एउटा अर्थपूर्ण यात्राको अनुभूति पनि थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?