विश्वकै पहिलो बस्न लायक सहर

शनिवार |


2019-11-23-4577



वसन्त राई

दीइकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले सार्वजनिक गरेको २०१९ को सर्वेक्षण प्रतिवेदनअनुसार विश्वका बस्नयोग्य सहरमध्ये अस्ट्रियाको राजधानी भियना पहिलो नम्बरमा छ । अन्य महादेश तथा युरोपका अन्य सहरहरूलाई पछि पार्दै बस्नलायक सहरको अग्रपङ्तिमा पर्न सफल भएको हो । ईआईयूले स्वच्छ पर्यावरण र अपराधको अवस्थालाई आधार बनाएर गरेको सर्वेक्षणमा भियना विश्वकै बस्नलायक सहरको पहिलो नम्बरमा परेको हो । त्यसैगरी, सोही सर्वेक्षणमा स्वीट्जरल्यान्डको जुरिच दोस्रो र क्यानाडाको बैङ्कुवर सहर तेस्रो स्थानमा छन् ।
भियना अस्ट्रियाको सबैभन्दा ठूलो सहर र सङ्घीय राजधानी पनि हो । ४१४ दशमलव ६ वर्गकिमि क्षेत्रफल ओगटेको भियनामा १८ लाख जनसङ्ख्या छन् । भियना अस्ट्रियाको राजधानी तथा साँस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र पनि हो । यो युरोपेली सङ्घ रहेकामध्ये सातौँ ठूलो सहर हो ।
भियनामा बेल्भिडियरलगायत विभिन्न सङ्ग्रहालय, इम्पेरियल दरबार तथा विभिन्न स्थानमा बनाइएका कृत्रिम पानीका फोहोरा वास्तवमै मनमोहक छन् । ११औँ शताब्दीमा रोमन साम्राज्यले भियनामा सैनिक इलाका खडा गरेका थिए । इतिहासको विभिन्न कालखण्डमा युरोपको राजनीतिक उथलपुलले भियनालाई पहिले अस्ट्रियाको राजधानी र पछि अस्ट्रिया र हङ्गेरी दुवैको राजधानी र पछि फेरि अस्ट्रियाको मात्र राजधानी बनाइयो ।
गत जुन २८ देखि जुलाई ५ तारिखसम्म त्यही भियनाको लक्सेनवर्ग भन्ने स्थानमा आठदिने तालिम लिने अवसर मैले पनि पाएँ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्थाका रूपमा परिचित इन्टरनेसनल एन्टिकरप्सन एकेडेमीले आयोजना गरेको उक्त आठदिने तालिममा सहभागी हुने अवसर सोही संस्थाले दिलाएको थियो । तालिममा सहभागी हुनका लागि जुन २७ तारिखमा काठमाडौँबाट कतार एयरलाइन्सबाट कतारकै दोहा ट्रान्जिट हुँदै भियना अन्तर्राष्ट्रिय विमानस्थलमा रातको नौ बजे पुगियो । विमानबाट ओर्लिएपछि लगेज लिने ठाउँ सोध्दै फटाफट निर्देशन गरिएको स्थानतिर जाँदै थिएँ । सँगै ओर्लिएका एकजना युवालाई ‘तपार्इं कहाँ जाने ?’ भनेर अङ्ग्रेजीमा सोधेँ । मैले उनलाई भारतीय नागरिक सोचेको थिएँ । तर, उनले ‘म पनि नेपालबाट आएको’ भन्ने जवाफ दिए । उनी शरद अर्याल रहेछन् र, त्यही तालिममा सहभागी हुन आएका रहेछन् । नेपालबाट अरू सहभागी पनि होलान् भन्ने मैले सोचेको थिइनँ । रातको समयमा रेल चढेर होटेल पुग्नुपर्ने साथी भेटिएपछि ढुक्क भइयो । उनी पनि ढुक्क भए ।
दुईजनाले रेलको टिकट काट्यौँ । उनले पचास युरोको नोट टिकटका लागि मेसिनमा घुसाए । तर, ठूलो नोट भन्दै मेसिनले लिएन । कसो मैले १० युरोको नोट नेपालबाटै जोहो गरेर बोकेको थिएँ । नत्र रातको समयमा कहाँ साट्न जानु । सोधिखोजी गर्दै सेन्ट्रल रेल स्टेसनका लागि रेल चढियो । करिब २० मिनेटको रेल यात्रापछि सेन्ट्रल स्टेसनमा ओर्लियौँ । करिब १० मिनेटको पैदल हिँडाइपछि भियनाको मुटुमा रहेको होटेल ‘स्टार इन’ पुग्यौँ ।
दैनिक रूपमा आयोजकले बसबाट भियनादेखि लक्सेनवर्गसम्म आवतजावतको व्यवस्था गरेकाले पनि सहरको धेरै ठाउँ हेर्ने मौका मिल्यो । साँझ बिहान समय मिलाएर पैदल पनि हिँडियो । जुन ३० तारिखको दिन शरद र म सोध्दै भियनास्थित नेपाली दूतावसमा पुग्यौँ । तर, आइतबार सार्वजनिक बिदा भएकाले दूतावासमा कोही भेटिएनन् । दूतावास रहेको भवनको गेट बन्द थियो । दूतावासमा गएर नेपाली राजदूत तथा अन्य कर्मचारीसँग कुरा गर्ने, कति नेपाली अस्ट्रियामा छन् भन्ने जानकारी लिने मेरो धोको पूरा गर्न सकिएन । तालिमबाट कुनै दिन पनि फुर्सद मिलेन र तालिम सकिएकै बेलुका नेपाल फर्किने टिकट व्यवस्था गरिएको थियो । दूतावासमा राखिएको नेपालको झन्डाको फोटो भने खिचेर दङ्गचाहिँ परियो ।

वाचाउ उपत्यकाको भ्रमण
जुलाई १ मा आयोजकले अस्ट्रियाको प्राकृतिक रूपले सुन्दर र ऐतिहासिक महŒव बोकेको वाचाउ उपत्यकाको भ्रमण गरायो । वाचाउ उपत्यका मेल्कदेखि क्रेम्ससम्मको डान्युब नदीकिनार क्षेत्र हो । डान्युब युरोपकै दोस्रो लामो नदी हो । वाचाउ उपत्यका युरोपको सबैभन्दा मनमोहक ठाउँमध्ये एक मानिन्छ । यस उपत्यकालाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।
यस नदीमा मेल्कदेखि क्रेम्ससम्मको जहाजको सवारसमेत गर्ने मौका मिल्यो । पोखराको फेवातालको डङ्गामा चढेकोमात्र अनुभव भएको हामीलाई सानो पानीजहाजमा चढ्न पाउँदाको क्षण अविस्मरणीय नै रह्यो । यस क्षेत्रले शताब्दीयौँदेखिको रोमान्टिक किंवदन्तीहरूलाई प्रेरणा दिएको छ र यस क्षेत्रमा बनेका महलहरूले विशेषगरी मध्यकालीन प्रेम र हृदयविदारक विछोडका कथाहरू झल्काउँदछ ।

एग्स्टेन्को खण्डहर महल
यस क्षेत्रको अर्को महŒवपूर्ण घुम्नलायक ठाउँ र हेर्नलायक दृश्य भनेको एग्स्टेनको खण्डहर महल हो । १२औँ शताब्दीको सुरुतिर कुएनिर परिवारले डान्युबको माथिल्लो पहाडमा उक्त एग्स्टेन महल निर्माण सुरु गरेको हो भन्ने विश्वास छ । उक्त महल विभिन्न कालखण्डमा दुईपटक ध्वस्त भएपछि खण्डहर बनेको हो । यसलाई पछिल्लो समय सन् २००३ मा पुनः जीर्णोद्धार गरिएको उल्लेख छ । उक्त खण्डहर महलमा सिँढी, आँगन, टावर, कालकोठरी र रात्रिकालीन हलको दृश्यावलोकनले युरोपेली शैली र इतिहास नजिकबाट नियाल्ने अवसर मिल्छ ।

(लेखक अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्रसँग आबद्ध छन् ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?