logo
२०८१ बैशाख १४ शुक्रवार



फरक ढङ्गको सङ्ग्रह ‘कमाइ’

शनिवार |


फरक ढङ्गको सङ्ग्रह ‘कमाइ’


 

कविका रूपमा स्थापित विधान आचार्यले लघुकथामा पनि उत्तिकै सक्रियता देखाउनुभएको छ । फेसबुक सञ्जाल लघुकथा कुनोमा जोडिएपछि उहाँले लघुकथा लेखनलाई निरन्तरता मात्र दिनुभएन, अलि फरक ढङ्गको सङ्ग्रह ‘कमाइ’ नै प्रकाशित गर्नुभएको छ ।
सामाजिक सञ्जालमा प्रकाशित भइसकेका लघुकथा यस सङ्ग्रहमा छन् । सञ्जालमा प्रकाशित हुँदा व्यक्त विभिन्न पाठकका टिप्पणी र प्रतिक्रियालाई पनि उहाँले पुस्तकमा समावेश गर्नुभएको छ । पुस्तकको यो थप विशेषताले लघुकथाप्रति रुचि, चासो र पाठकको चाहना के कस्ता छन् भन्नेबारे थोरै भए पनि जानकारी दिन्छ ।
यसमा ४६ वटा विविध विषय र सन्दर्भका लघुकथा छन् । यी लघुकथामा वैदेशिक रोजगारीमा जानेको पीडा, शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा देखिएको विसङ्गति, पारिवारिक जीवनका समस्या, नैतिक मूल्यको ह्रास, सहरमै घर चाहिने सुविधाभोगी सोच, युवाको अपरिपक्व मानसिकता, व्यावहारिक ज्ञानको अभाव तथा राजनीतिले ल्याएको अराजकता एवं विकृतिबाट ग्रस्त समाज आदिको चित्रण विविध सन्दर्भलाई लिएर रोचक र प्रभावकारी ढङ्गले गरिएका छन् । सङ्ग्रहमा भएका केही रचनालाई छोडेर भन्ने हो भने उहाँले लघुकथाको निश्चित आकार र आयतनलाई ध्या(नमा राखेर आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । यसर्थ उहाँका लघुकथा पठनीय छन् ।
सङ्ग्रहको शीर्षक पनि रहेको कमाइ, घामट रौद्रिगेज, लेटलटिफको कुरा, बाकसको मिस्त्री, रोद्रिगेजको पाउरोटी, अक्षर आदि लघुकथा विदेशको पृष्ठभूमिमा लेखिएका छन् । वैदेशिक रोजगारीमा जानेहरूले पैसा कमाउन अनपेक्षित काम गर्नुपर्ने बाध्यतालाई कमाइले प्रस्तुत गरेको छ भने त्यसको विपरीत अवस्थाको चित्रण बाकसको मिस्त्रीमा गरिएको छ । घामट रौद्रिगेज, लेटलटिफको कुरा, रौद्रिगेजको पाउरोटी आदि लघुकथा यात्राक्रममा भेटिएका विविध चरित्रका बारेमा छन् । अक्षर लघुकथामा देवनागरी लिपिमा नेपाली अक्षर कहिल्यै नदेखेकाको उपमा रमाइलो प्रकारले आएको छ ।
मुलुकमा राजनीतिक परिवर्तन आएपछि पनि प्रवृत्तिमा कुनै परिवर्तन नआएको, आन्दोलनको नाउँमा गरिने अराजक कार्यले सामान्यजनलाई मात्र होइन, स्वयंलाई पनि दुःख आइपर्नसक्ने स्थिति, निसाफ, बेसोमति, गुजारा, बन्द सफल, मियो र निरुत्तर लघुकथामा प्रष्ट पारिएका छन् । यी रचनामा नेपालीले बन्दका बेला भोगेका यातना र नेताहको प्रवृत्ति र परिस्थितिमाथि तीव्र व्यङ्ग्य गरिएको छ ।
राजनीतिक विसङ्गति र विकृतिका केही फरक सन्दर्भका लघुकथा हुन् पान बनारसवाला, अपराधी हुलिया, सेवा । मापसेको नाउँमा ट्राफिकबाट पाइलेपिच्छे गरिने चेकजाँचबाट आजित भएका चालकको मनोदशालाई पान बनारसवालामा बडो संवेगपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ । त्यस्तै कार्यक्षमताको अभावमाथि गरिएको कटाक्षका कारण ‘अपराधी हुलिया’ चोटिलो बनेको छ ।
सुरक्षा लघुकथामा समाजमा पुरातन सोच अझै बाँकी रहेको विषयलाई राम्रोसँग उजागर गरिएको छ । यस्तै बुहारी र छोरीमा गरिने भेदभाव, नारीलाई अझै पनि कमजोर र सुरक्षाको हकदार ठान्ने सोच आदि विषयलाई सेवा, अन्तर, बिराम, घरबार, सालिक आदि रचनामा प्रष्ट्याइएको छ ।
विषयमा नयाँपन नभए पनि प्रयोगका दृष्टिले रूपान्तरण लघुकथा पठनीय छ । यसैगरी शैक्षिक क्षेत्रको बेथिति र विसङ्गतिलाई लिएर लेखिएका रचना नाम, योग्यताको कदर तथा साहित्यिक क्षेत्रको विषय समेटिएको सुरु नभएको कवितालगायत माग्नेका पनि माग्ने, निसाफ, व्यापारिक बुद्धि आदि रचना विविध सन्दर्भका कारण पठनीय छन् । काठमाडाँैमा घर, निष्ठा, सालिक, रोपाइँको सम्झना, जस्ता केही रचना अस्वाभाविकता र संयोगले बढी ठाउँ पाएका कारण सामान्य लाग्छन् । लघुकथाकार आचार्यले पुरातन ग्रन्थका प्रसङ्गलाई पनि लघुकथाको विषय बनाउनुभएको छ । घरबाट, योग्यताको कदर, हरे राम हरे कृष्ण आदि लघुकथा रोचक किसिमले प्रस्तुत गरिएका छन् । अपराधी हुलिया, कमाइ, मियो, बेसोमति, खाजा, फागु, प्रतीक्षा आदि सङ्ग्रहका राम्रा लघुकथा हुन् ।

 

ध्रुव मधिकर्मी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?