logo
२०८१ बैशाख १४ शुक्रवार



नाइलमा जलयात्रा

शनिवार |





विनोद नेपाल



विद्यालय तहमै पढिएको थियो ‘मिश्र देश’ अर्थात् इजिप्टबारे । त्यहाँका अद्भुत एवं आश्चर्यजनक पिरामिडबारे र विश्वका प्राचीन सात आश्चर्यमध्ये दुई त्यस मुलुकमा पर्छन् भन्नेबारे पनि जानकारी थियो । अनि यो पनि कि विश्वको सबैभन्दा लामो नदी पनि त्यहीँ पर्छ । तर अफ्रिका महादेश भन्नासाथ कहाँ हो कहाँ लाग्ने, अफ्रिकाप्रतिको दृष्टिकोण नै फरक भएकोले पनि कुनै दिन त्यहाँसम्म पुगिएला र अवलोकन गर्ने अवसर आउला भन्ने कल्पनासम्म गरिएको थिएन ।
त्यसो त जीवन नै यात्रा हो । के नै असम्भव छ र ? अझ प्रविधिले संसारलाई साँगुरो बनाएको यस समयमा सबै चिज मुठ्ठीमै छन् र हाते फोनलाई इन्टरनेटको जालोमा जोडिदिँदा चाहेका विषय जानकारी पाउन पनि सहज छ । तर कोठे शिक्षा वा यस्तो ज्ञानभन्दा प्रत्यक्ष अनुभव गरेको, भोगेको कुराले राम्रो शिक्षा र ज्ञान दिन्छ । त्यसैले यसपालि आकस्मिक रुपमा अफ्रिका ताकियो, पाइला इजिप्टतिर सोझियो । अक्टोबर ५ अर्थात् असोज १८ गते त्रिभुवन विमानस्थलबाट अगाडि बढेका हामी दुबई हुँदै राजधानी कायरो पुगेको ६ अक्टोबर त्यहाँको विशेष दिन रहेछ । यस दिन त्यहाँ सार्वजनिक बिदा हुँदोरहेछ । संयोग कस्तो भने हामीलाई राख्ने व्यवस्था भएको ‘स्वीस इन पिरामिड गल्फ रिसोर्ट’ ‘६ अक्टोबर’ नामक स्थानमै रहेछ । स्थानीय समय अनुसार ठीक मध्यरात अलेक्जेण्ड्रिया ओर्लेका हामीलाई त्यहाँबाट झण्डै तीन घण्टाको बसयात्रा गराई त्यहाँ पु¥याइएको थियो ।
एउटै यात्रा व्यवस्थापकमार्फत गएका हामी दुई टोली थियौँ । हाम्रो २९ जनाको टोली थियो इजिप्टसँगै दुबईको पनि यात्रा गर्ने गरी र अर्को टोली रहेछ २१ जनाको, इजिष्ट भ्रमण पश्चात नेपाल फर्कने गरी जाँदैरहेछ । हाम्रा गाइड थिए ‘अहमद मिडु’ । उहाँ हामीसँगै थिए अलेक्जेण्ड्रियादेखि नै र परिचयकै क्रममा उहाँले भन्नुभएको थियो, ‘अब म पाँच दिनसम्म यहाँहरूसंगै हुन्छु, यहाँहरु मेरो अह्रनखटन अनुसार चल्नुहोला ।’ होटेलमा पुगेपछि मिडुले हामीलाई भन्नुभयो, ‘अरू दिन यहाँको जाम छिचोल्न निकै कठिन हुन्छ, घण्टौं जाममा पर्न सकिन्छ तर आज बिदा हुनाले हामीलाई सजिलो हुन्छ ।’
हामी ढुक्क भयौँ ।
नेपालीहरु समयको पालनामा कमजोर छन् भन्ने उहाँलाई पनि जानकारी रहेछ । त्यसो त इजिप्ट स्वयं पनि समयको पालनामा कमजोर मानिन्छ तर मिडु हामीलाई भन्नुहुन्थ्यो, ‘नेपालीलाई एघार बजेको समय दियो भने १२ बजे तयार हुन्छन् भन्ने मलाई थाहा छ ।’ ‘आराम गर्नुस्, ब्रेकफास्ट खानुस् र बाह्र बजे पिरामिड हेर्न जाने गरी तयार भइराख्नुहोला, म आउँछु’ भन्दै उहाँ निस्कनुभयो । निद्राले लठ्याएका हामी साँचो लिएर होटेलका कोठा खोज्न थाल्यौँ ।
मिडु आइपुग्दा हामी तयारी अवस्थामै थियौँ । उहाँले हामीलाई कार्यक्रम अनुसार सर्वप्रथम गिजाको पिरामिडतर्फ अगाडि बढाउनुभयो । यात्रा क्रममा उहाँले पिरामिडको इतिहास एवं सो धरोहरबारे विस्तृत जानकारी दिनुभयो । उहाँले पिरामिड परिसरमा के गर्ने र के नगर्ने भन्ने पनि बत(ाउनुभयो ।
चर्को घाम थियो मध्यान्हको, सहारा मरुभूमिमा उभिएको त्यो पिरामिडमा पुग्दा । तर हामीलाई त्यो घामको कुनै परवाह भएन । झोलामा छाता थियो तर त्यो झिक्न हात अघि बढेन । पिरामिडको सान्निध्यले गर्मी यसै हरायो । पिरामिडमाथि जान पाइने ठाउँसम्म चढ्ने र तस्बिर लिनेतर्फ नै लागियो ।
मिश्रको पिरामिड युनेस्कोको सम्पदा सूचीमा समावेश विश्वको प्राचीन सम्पदा हो । आजभन्दा झण्डै ४५०० वर्ष पहिले बनेका पिरामिड विश्वकै आकर्षणको केन्द्रका रूपमा रहेका छन् । यी पृथ्वीका मानव निर्मित संरचनामध्ये चन्द्रमाबाट देखिने दुई मध्येको एक मानिन्छन् अर्को हो चीनको पर्खाल ।
पिरामिडसँगै हराइरहेका हाम्रो ध्यान परबाट हामीलाई हेरेर बसिरहेका मिडुले आफ्नो समय योजना अनुसार ‘आउनुस्’, भन्दा मात्रै उहाँतर्फ तानियो । उहाँले ‘छिटो’ ‘आउनुस्’, ‘बस्नुस्’ भन्ने जस्ता नेपाली शब्द सिक्नुभएको रहेछ ।
गिर्जाका पिरामिड हेर्दा साँच्चिकै आश्चर्य लाग्छ । त्यतिविधि कहाँ पाइयो होला । त्यस्तो आकारका चट्ट मिलेका कसरी बनाइयो होला ? कसरी ती अजङ्गका ढुङ्गा ओसारियो होला ? अनि त्यत्रो झण्डै डेढ सय मिटर उचाइका अग्ला संरचना कसरी र कुन सीपले बनाइयो होला । अझ रहस्य त ती अहिलेसम्म पनि खडा रहनुमा छ ।
यहाँ तीनवटा ठूला पिरामिड छन् लगभग उस्तै उचाइका र अरू साना छन् । निर्माणका बखत १४६ मिटर अग्लो हो सबैभन्दा अग्लो पिरामिड । यसमा भित्र तीनवटा कोठा रहेका र अन्य दुईमा एक एक वटा मात्रै छन् भन्ने जानकारी मिडुले गराउनुभयो । विभिन्न कारणले यसको उचाइ हाल करिब १३७ मिटर मात्र रहेको अनुमान छ ।
दोस्रो पिरामिड योभन्दा थोरै मात्र होचो र तेस्रो अझ होचो छ । पहिले नाइल नदीको करिब १ किलोमिटरको दूरीमा रहेका यी पिरामिड हाल झण्डै सात किलोमिटर पर रहेछन्, नदीको मार्ग परिवर्तनका कारण । पिरामिड परिसरमा उँट चढाउनेहरु प्रशस्त भेटिँदारहेछन् । हाम्रो समूहका केही साथी त्यसतर्फ लागे । हामी भने विभिन्न कोणबाट पिरामिडको तस्बिर लिन र अद्वितीय ती संरचनाको अवलोकन गर्नमै व्यस्त रह्यौँ । समय भएपछि मिडुले ‘याल्ला याल्ला’ भन्नुभयो । यसपछि हामी सबैजना एकत्रित भई हामीलाई पर्खिरहेको बसको आआफ्ना स्थान बस्यौँ । यसपछि हामीलाई लगियो प्रसिद्ध स्फिनेक्सको मूर्तितर्फ । यो मूर्ति पनि अर्को अदभुत सम्पदा हो विश्वकै । ढुङ्गाको विशाल यो मूर्ति पिरामिडकै अर्को भागमा छ । मूर्तिबारे बताउँदै हामीलाई मिडुले जान सकिने स्थानसम्म लग्नुभयो र तस्बिर खिच्न सुझाउनुभयो । हामीले दङ्ग परेर मूर्ति अवलोकन ग¥यौैँ । तस्बिर लियौँ ।
यसपछि मिडुले हामीलाई इजिप्ट ‘सेन्ट’ का लागि प्रख्यात रहेको बताउँदै सेन्टको प्रदर्शन तथा बिक्रीस्थलतर्फ लैजाने बताउनुभयो । केही समयको यात्रापछि सो स्थानमा पुगियो । चियाको स्वागतसँगै सम्मानपूर्वक बसालेर विभिन्न किसिमका सेन्ट, सेन्ट कसरी उत्पादन गरिन्छ भन्नेबारे पढाउन अभ्यस्त व्यक्तिहरूले हामीलाई झण्डै एकघण्टा सो विषयमा कक्षा नै लिए । आगन्तुकलाई प्रभावित पार्नसक्ने तिनको क्षमता गजबकै थियो । हामी पनि प्रभावित भयौँ । केही उपयोगी औषधीय गुणका र केही सुवासिला सेन्ट खरिद ग¥यौँ । यसपछि हामीलाई छेउमै रहेको कागज कलासम्बन्धी व्यापारिक तथा प्रदर्शन स्थलमा लगियो । केहीले खरिद ग¥यौँ । अनि हामी होटलमा फर्कियौँ । मिडुले भने साँझ नाइलमा क्रुजका लागि जानुपर्ने भन्दै तयार रहन समय दिनुभयो ।
प्रारम्भमै समय पालनाप्रति सजग गराएकाले सो कुरालाई ख्याल राख्दै हामी मिडुले भनेको समयमा तयार भयौँ । उहाँ आउनु भएपछि हामी गाडीमा बस्यौं र जाम छिचोल्दै झण्डै एक घण्टाको यात्रापछि नाइल नदीको क्रुज सञ्चालन हुने स्थानमा पुग्यौँ । झण्डै दुई घण्टाको खाना तथा मनोरञ्जनसहितको जलयात्रापछि हामी होटल फर्कियौँ ।
कायरोमा जहाँ पायो त्यहीँ मदिरापान निषेधित छ । मिडुले नेपाली वियरका पारखी हुने र क्रुजमा बियर पाइने भए पनि यहाँ निकै महँगो हुने जानकारी जानु अघि नै गराउनुभएको थियो ।
नाइल विश्वकै लामो नदी हो । नाइल नदी उत्तरतर्फ बहन्छ र भूमध्यसागरमा मिल्छ । यो इजिप्टको जीवनधारा हो । यसकै छेउछाउमा खेती हुन्छ । यसै उत्पादनले देशको माग धान्छ । फर्कने समयमा मिडुले भोलिको कार्यक्रम सुनाउनुभयो । चर्च, मस्जिद आदि र ‘ओल्ड कायरो बजार’ भ्रमणको योजना रहेछ । यसले पूरा दिन नलिने भन्दै उहाँले अरू केही चाहना भए भन्न र आफूले सक्दो व्यवस्थापन गर्ने भन्दै केही सम्भावना पनि बताउनुभयो ।
हामीले सर्वप्रथम नाइल नदीमा पुग्ने इच्छा व्यक्त ग¥यौँ । ‘अँध्यारोमा त देखियो, उज्यालोमा नाइल हेरौँ’ भन्दा उहाँले नाइलमा दिउँसोको जलयात्रा पनि सम्भव भएको बताउनुभयो । अनि सङ्ग्रहालय, ममीको अवलोकन, न्यू कायरो डाउनटाउनको भ्रमण आदि सम्भव रहेको जानकारी पाएपछि हामीले ती सबैमा सरिक हुने र साँझको खाना समेत उतै खाइवरी होटलमा फर्कने गरी योजना बनाउन भन्यौँ । यसका लागि लाग्ने शुल्कका बारेमा आफूले सोधेर बताउने भनेपछि हामी त्यसका लागि तयार भयौंँ। भोलिपल्ट, बिहान १० बजे अगावै उहाँ होटेलमा आइपुग्नुभयो । हामी उहाँकै प्रतीक्षामा थियौँ । घुम्नका लागि आवश्यक रकम उहाँलाई दियौँ । यसपछि हामी गाडीमा बसेर त्यहाँका सर्वाधिक पुराना चर्च, मस्जिद हुँदै इजिप्ट सङ्ग्रहालयमा गयौँ । सबै ठाउँमा तिनको महŒव र इतिहासबारे जानकारी लियौँ ।
हामी हाम्रा सम्पदाको अत्यन्त गर्व गर्छौं । इजिप्ट अत्यन्त पुरानो र मानव सभ्यताको आधार भूमि हो । यो सम्पदाको धनी देश हो । तिनको इतिहास सुन्दा हाम्रा सम्पदा नयाँ लागे ।
हामी नाइल नदीमा जलयात्राका लागि तयार थियौँ र त्यो गर्मीमा त्यसका लागि हतारिएका पनि थियौँ । चर्च, मस्जिद, सङ्ग्रहालय र न्यू कायरोको अवलोकनपछि हामी नाइलतर्फ लगियौँ । ससाना डुङ्गामा एउटामा दश÷बाह्रजनाका दरले बाँडिएर हामी बस्यौँ । झण्डै ४५ मिनेटको जलयात्रा वास्तवमा हाम्रा लागि अत्यन्त रोमाञ्चक र त्यतिमात्र होइन इजिप्ट यात्राकै सबैभन्दा अविस्मरणीय क्षणको रुपमा रहन पुग्यो ।
कायरो सहरको बीचबाट बग्ने नाइल नदी गाढा नीलो छ । बढी गहिरो ठाउँमा यो कालो देखिन्छ । सहरकै बीचमा भएपनि उतिसारो फोहर छैन, सफा देखिन्छ यसको पानी । छेउछाउमा हरियाली छ । वरपीपलका बोट समेत छन् त्यहाँ । अनि अग्ला होटेल र टावरहरु पनि । तिनले पनि नाइलको शोभा बढाएका छन् । साँच्चिकै गजब रह्यो यो यात्रा र यो यात्रापछि नै कायरो यात्रा सार्थक भएको महसुस भयो । यसपछि हामी कायरोकै अग्लो थुम्को मोकत्तमतर्फ लाग्यौँ, सूर्यास्तको दृश्यावलोकनका लागि । केही समय त्यहाँ बिताएपछि हामी त्यस रातको खाना खाने तारतम्य मिलाइएको ‘क्लियोपेट्रा होटेल’ आयौँ । खानापछि हामी होटेल फर्कियौँ ।
मिडुले आफू भोलि बिहान ११ बजे आउने, त्यसपछि ‘कटन सो रुम’ अवलोकन गर्दै उतैबाट अलेक्जेण्ड्रियातर्फ लाग्ने योजना सुनाउँदै आफू आइपुग्दा ‘चेक आउट’को काम सक्न सुझाँंदै हामीबाट बिदा हुनुभयो । भोलिपल्ट ८ अक्टोबर अर्थात् असोज २१, दशैँको दिन । उहाँ बिदा भएपछि हामीले त्यसका लागि योजना बनाउन थाल्यौँ । कुनै सहयात्रीले यतैबाट जमरा, अबीर र चामलसमेत लगेका रहेछन् । होटेलमा किस्ती र दही माग्ने अनि टीका तयार गरेर लगाउने योजना पारित भयो । अनि हामी आआाफ्ना कोठातर्फ लाग्यौँ ।
दशैँको दिन बिहान साथीहरू चाँडै नै तयार भए । पूर्व योजना अनुसार आवश्यक तयारी भयो । यता सामाजिक सञ्जालहरुमा नेपालमा टीका लगाएका तस्बिरहरु आउन थालिसकेका थिए । चार घण्टा समयान्तरले ढिलो कायरोमा पनि हामीले उमेरको ज्येष्ठताका आधारमा लाम लागेर टीका लगायौँ । सहयात्री पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान दम्पतीले सबैलाई टीका लगाइदिनुभयो । आपसमा टीका लगाउने काम पनि भयो । झण्डै एक घण्टामा हामीले सो कार्य सम्पन्न गरी सामूहिक तस्बिर लियौँ । साँच्चै हामीलाई त्यस दिन नेपालबाट टाढा छौँ भन्ने भन्दा पनि ठूलो परिवारमा रहेको महसुस हुनुका साथै यो टीकाले हाम्रो टोलीका सबैमा आत्मीयता बढाउन सहयोग गरेको महसुस भयो ।
टीकापछि हामी ‘ब्रेकफास्ट’ तर्फ लाग्यौँ । त्यसपछि केहीबेर विश्राम ग¥यौँ र मिडुले दिनुभएको समयमा चेकआउट गरी उहाँको प्रतीक्षामा बस्दै थियौँ, उहाँ आइपुग्नुभयो । आवश्यक प्रक्रिया पूरा गरी हामी होटलबाट निस्कियौँ । बसमा चढ्यौँ र पूर्व योजना अनुसार ‘कटन सो रुम’ तर्फ अगाडि बढ्यौँ ।
त्यहाँका सामग्री भने हामीलाई अत्यन्तै महँगो लाग्यो । केही साथीले किनमेल गरे पनि धेरैले हेरेरै चित्त बुझाए । सुतीका उत्पादनको सरसर्ती अवलोकन गरी हामीले मुख्य राजमार्ग समायौँ । अबको हाम्रो अर्को गन्तव्य अलेक्जेण्ड्रियातर्फ लाग्यौँ । कायरोदेखि इजिप्टको अर्को प्रमुख सहर अलेक्जेण्ड्रियासम्मको सडक दूरी झण्डै दुई सय पच्चीस किलोमिटर हो । पुग्न झण्डै तीन घन्टा समय लाग्छ । सहर छाडेपछि हामी कायरो, पिरामिड र नाइलको जलयात्रालाई मनभरि सजाउँदै सहारा मरुभूमिमा बनेको फराकिलो सडक दायाँबायाँको दृश्य हेर्दै उत्तर पश्चिमतर्फ अगाडि बढ्यौँ ।

(लेखक राष्ट्रिय वाणिज्य बैङ्कका पूर्व कर्मचारी हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?