logo
२०८१ बैशाख १५ शनिवार



सिर्जनामा कर्णाली उत्साह

शनिवार |


सिर्जनामा कर्णाली उत्साह



 जयदेव भट्टराई

कात्तिक महिनाको आरम्भिक चिसो त्यसमा पनि कर्णालीको यात्रा । १ गते बिहान सात नबज्दै त्रिभुवन विमानस्थल पुग्नुपर्ने, एक घण्टाको उडानपछि नेपालगञ्जको गर्मी खप्नुपर्ने । फेरि ३५ मिनेटको उडानपछि जुम्लाको चिसो खेप्नुपर्ने । यी सबैको तारतम्य मिलाएर थालिएको पाँचदिने यात्रामा भेला भएका थियौँ, हामी १२ जना । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजनामा कर्णालीको जुम्लामा साहित्यिक सम्मेलनमा, मुगुको रारा तालको सौन्दर्यपान गर्न र कालिकोटको रहनसहन हेर्न कस्सिएका थियौँ । काठमाडौँ नेपालगञ्ज, नेपालगञ्ज जुम्लासम्मको एक घण्टा ३५ मिनेटको हवाईयात्रा, त्यसपछि जिप, डुङ्गा, घोडा अनि पैदल यात्रा गर्न पनि । अनुपम सुन्दर रारा ताल हेर्न हिँड्न सक्नेहरुका लागि तीन घण्टाको पैदल नसक्नेका लागि घोडामा यात्रा पनि थियो ।
विगत १४ वर्षदेखि निरन्तर देशभित्र र बाहिर राष्ट्रिय कलासाहित्य यात्रा गर्दै आएको प्रतिष्ठानले यसपटक अलि भिन्न प्रकारले आयोजना गरेको थियो यसपालिको यात्रा । प्राकृतिक रूपले सम्पन्न कर्णालीमा आयोजना गर्न लागिएको यात्रालाई प्रकृति सिर्जना उत्सव नाम दिइएको थियो । प्राकृतिक रूपले अत्यन्त सम्पन्न कर्णाली डुलेर हेर्नेहरुका लागि पक्कै पनि कर्णाली कर्णालीजस्तो छैन । गरिबी र पछौटेपनबाट निकै अघि बढिसकेको कर्णालीको उत्साह र परिवर्तन पत्याइनसक्नु छ । नमरी स्वर्ग देखिँदैन भन्थे हो रहेछ, यसपालिको छोटो यात्रामा यस्तै सोचेर फर्कियौँ हामी ।
प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार मोमिलाको संयोजनमा उपाध्यक्ष एवं कवि राजेश्वर कार्की, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त, नेपाली संस्कृितका अध्येता अमेरिकन नागरिक प्राडा. ग्रेगरी मस्कारिनेक, साहित्यकार एवं चिकित्सक हरिप्रसाद मानसाग्नि, कवि विमल वैद्य, मणि लोहनी, ठाकुर बेलवासे, अनुपम रोसी, केशव सिग्देल, कलाकार सुन्दर बस्नेतसमेतको टोली कात्तिक १ गतेको पारिलो घाममा जुम्ला पुग्दा सांस्कृतिक रूपले गरिएको स्वागत र आतिथ्यले हामीले भेउ पाइसकेका थियौँ जुम्लावासीको आतिथ्य । पाँचदिने यात्रामा चार घण्टा साहित्य सम्मेलन बाँकी समय घुमफिरमै बिते समय । हो यही चार घण्टाको समयमा देखियो जुम्लाको साहित्यिक उत्साह । चार दिन घुमफिरमा बिताउँदा पनि नदेखिएको होइन कर्णालीको उत्साह, साहित्यिक जाँगर पनि उस्तै । चन्दननाथ नगरपालिकामा प्रदर्शन भइरहेको पम्फा फूल नाटक हेर्ने समय त जुरेन तर नाटकमा पनि कर्णाली जुर्मुराउँदैछ भन्ने छनक पाइयो । सहभागीको धैर्य, उत्साहसँगै स्रष्टाहरुको सिर्जना र उत्साह पनि त्यस्तै । यहीँनिर फेरि भन्न मन लाग्यो सोचे जस्तो रहेनछ कर्णाली, साहित्यमा पनि त्यत्तिकै जुर्मुराउँदैछ । कात्तिक २ गते उही उत्साहसाथ पाहुनाहरुलाई कार्यक्रमस्थलमा गरिएको अर्को स्वागतले जुम्लाको चिसो मौसममा पनि न्यानो अनुभूति भएको थियो । उद्योग वाणिज्य सङ्घको सभाकक्षमा देखिन्थे अनेक उमेर, समूहका मान्छे । अनुहारमा उत्सुकता, सजग कान र स्वागत सत्कारमा व्यग्रजस्ता लाग्नेहरुको जमात देख्दै पुलकित भइयो र त्यही माझबाट सभाकक्षको अग्रभाग पुग्नासाथ थालियो प्रकृति सिर्जना उत्सव । आयोजक संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिला र सह आयोजक खस साहित्य समाज, जुम्लाका अध्यक्ष रामकृष्ण बुढथापाको सभापतित्व, वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा अतिथि र स्थानीय गरी २३ जनाले कविता, गीत, गजल वाचन गरे । त्यही समारोहमा प्रदान गरियो दुईवटा पुरस्कार । कवि राजेश्वर कार्कीले आफ्ना पिताको स्मृतिमा राख्नुभएको योगेश्वर वाङ्मय पुरस्कार –२०७६ बाट साहित्यकार एवं पत्रकार पुरीचन्द्र देवकोटा सम्मानित हुनुभयो । हरेक वर्ष गरिने कलासाहित्य यात्रामा कार्यक्रम आयोजना गरिने थलोका साधकलाई प्रदान गरिने योगेश्वर वाङ्मय पुरस्कारबाट पुरस्कृत देवकोटा जुम्लाको भाषा र साहित्यको क्षेत्रमा मात्र होइन पत्रकारितामा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । जुम्लालाई प्रविधिसँग जोड्ने काममा पनि लागिपर्नुभएका देवकोटाको सम्मान जुम्लेली साहित्यको समग्र सम्मान हो भन्दा फरक नपर्ला । डा. गे्रगरीले स्थापना गर्नुभएको ग्रेगरी कलासंस्कृति पुरस्कार कला संस्कृतिका साधक खडानन्द चौलागाईंलाई प्रदान गरियो । कला संस्कृतिको क्षेत्रमा उहाँको येगदान जति उल्लेख्य छ, त्यति नै उल्लेख्य उहाँको कलाकारिता पनि छ । पुरस्कृत व्यक्तित्व र संस्थापकका मन्तव्यसँगै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको मन्तव्य र कविता वाचन, प्रहरी उपरीक्षक लालबहादुर धामीका कविता कार्यक्रमका थप आकर्षण रहे । जुम्लालाई पिछडिएको र दुर्गम भन्ने कुरा अब विगत मात्र रहेको सांस्कृतिक रूपले सबैभन्दा धनी क्षेत्र रहेछ भन्दै अमेरिकी नागरिक ग्रेगरीले जुम्लाको खुलेर प्रशंसा गर्नुभयो । सहभागीहरूलाई प्रमाणपत्र, मायाको चिनो, उपहार प्रदान गरिएपछि प्रमुख अतिथि र अर्का सभापति रामकृष्ण बुढथापाको मन्तव्यसँगै टुङ्गियो उत्सव । निर्धारित कार्यक्रम त टुङ्गियो र यहीँबाट थालियो अर्को अध्याय । त्यही मञ्चमै बस्दाबस्दै प्रहरीप्रमुख, प्रमुख जिल्ला अधिकारीले मन्तव्यको क्रममा कवि बन्ने रहर हुँदाहुँदै पनि कविताका लागि आवश्यक भावना आफूसँग नरहेको भन्दै कविता सिर्जिएर वाचन गर्नु पक्कै पनि उत्साहकै कुरा हो भन्नुभयो । जीवनमा पहिलोपटक कविता सुनाउन लागेको भन्दै कविता सुनाउने विभिन्न उमेर समूहका उत्साहले पक्कै पनि जुम्लाको साहित्यिक वातावरणमा केही न केही योगदान दिने नै छ । त्यसो त साहित्यिक गतिविधि निकै अगाडि बढिसकेको जुम्लामा यति बृहत् कार्यक्रम आयोजना भएको पहिलो नै रहेछ । कतिपय साधकका लागि जुम्लायात्रा पनि पहिलो नै रह्यो ।
प्रमुख अतिथि साहित्यकार सरुभक्तले समारोहमै भनिदिनु भयो नेपाली भाषाको उत्पत्तिथलोमा कहिले जाउँ जस्तो लागेको थियो, त्यो सपना पनि पूरा भयो । नेपाली भाषाको उत्पत्तिथलोमा यति बृहद् कार्यक्रम गरेर नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले जुम्लावासीलाई प्रोत्साहित गरेको विचार खस साहित्य समाजका अध्यक्ष पुरीचन्द्र देवकोटाको रह्यो । अर्का स्रष्टा खडानन्द चौलागाईंको विचारमा त यो उत्सव जुम्लावासीको शान नै रह्यो । यस्तै उत्साह र फराकिलो सोचले स्वागतदेखि बिदाइसम्मका पाँच दिन साहित्यमय नै रहे ।
सरुभक्त, मणि लोहनी, ठाकुर बेलवासे, विमल वैद्य, मोमिला, राजेश्वर कार्की, केशव सिग्देल, अनुपम रोसी, डा. हरिप्रसाद मानसाग्निका कवितासँगै स्थानीय कवि तुलराज गिरी, माधवप्रसाद चौलागाईं, जङ्गबहादुर शाही, लक्ष्मीचन्द्र न्यौपाने, कर्ण सुनार, सुमन रोकाया, प्रकाशचन्द्र खत्री, पदमबहादुर महत, सुशीला रावल, यज्ञराज कार्की, स्मृति अधिकारीका कविता, गीतगजल सुनिए सिर्जना उत्सवमा ।
कलाकार सुन्दर बस्नेतको दृश्यचित्रमा प्रकृति दर्शन, जुम्लेली दिदीबहिनीको संयुक्त प्रस्तुति माघल, कलाकार धनराज सुनार, माधवप्रसाद चौलागाईंलगायतको धामीनाच निकै प्रभावकारी रह्यो । सबैभन्दा प्रभावकारी त कार्यक्रममा टाढा टाढाबाट आएका दर्शक श्रोताको धैर्य, कार्यक्रम र साधकहरुप्रतिको आदर भाव नै रह्यो । समय सीमाले कतिपय स्थानीय कवि–कवयित्रीले आफ्ना रचना सुनाउन नपाए पनि यस्ता सम्मेलनले पक्कै पनि लेखनमा निरन्तर लाग्न तिनलाई प्रेरित गर्ने नै छ । यस्तो कार्यक्रमको परिकल्पना गरेर कर्णाली प्रदेशमा नेपाली साहित्यको उत्सव गर्नु संयोजक एवं साहित्यकार मोमिला, उपाध्यक्ष राजेश्वर कार्की र प्रतिष्ठान परिवार सबै प्रशंसनीय बन्न पुगेका छन् । चिसो र विकट स्थानको यात्रा रोजेर थालिएको यात्रा सम्पन्न गरेर फर्कंदा कर्णालीको न्यानोपन र यसको उत्साहले यति सोच्न बाध्य बनायो, सोचेजस्तो रहेनछ कर्णाली । काठमाडौँको वसन्तपुर र ठमेलमा किनेका पोष्टकार्ड र पोष्टरभन्दा बेग्लै रहेछ कर्णाली । कर्णालीका सडकको रोमाञ्चक यात्रा, राराको अनुपम सौन्दर्य, जुम्ला नेपालगञ्जसम्मको हवाईयात्रा, कर्णालीले गरेको प्रगतिको साक्षी बन्ने अवसर जुटेको यो यात्रा साँच्चै सुन्दर रह्यो । नेपाली भाषा र साहित्यलाई देशका विविध क्षेत्रमा फैलाउने नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको यो अनुष्ठान प्रशंसनीय मात्र छैन
अनुकरणीय पनि छ । साहित्यको फैलावट र साधकहरुबीचको सम्बन्ध यस्तै सम्मेलन र यात्राले विस्तारित हुन्छ । प्रतिष्ठानको यात्राले निरन्तरता पाओस् ।

(लेखक मधुपर्कका सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?