logo
२०७८ माघ ९ आईतवार



अग्रणी कलाकार राजमान सिंह

शनिवार |


अग्रणी कलाकार राजमान सिंह


 रमेश खनाल

कलाकार राजमान सिंहलाई चिनाउन हरिहरराज जोशी र इन्दु जोशीको ठूलो योगदान छ । उहाँहरूले लेख्नुभएको पुस्तकमा भाजुमानभन्दा अगाडिका कलाकार राजमान सिंह हुन् भन्ने उल्लेख छ । यस कुराको जानकारी नहुन्जेलसम्म नेपाली कलाको इतिहास भाजुमानसम्म पुगेर टुङ्गिने गरेको थियो तर भाजुमानभन्दा तीस वर्ष अगाडि नै राजमान प्रसिद्ध भइसकेका थिए ।
कलाकार राजमान पौभा चित्रका दक्ष कलाकार थिए । उनको दक्षताको परख गर्दै प्रसिद्ध विद्वान् एवं अनुसन्धानकर्ता ब्राएन हडसनले उनलाई दृष्टान्त चित्र, व्यक्ति चित्र, दृश्य चित्र र मन्दिर वास्तुकला चित्राङ्कित गर्न नियुक्त गरेका थिए । राजमानसँग तुलसीमान, वीरमानलगायत अरू कलाकार पनि थिए ।
बेलायतका विद्वान् तथा अनुसन्धानकर्ता हडसनले इ.स. १८२९ देखि १८३३ सम्म नेपालमा कूटनीतिक प्रतिनिधिका रूपमा काम गरेका थिए । हडसनलाई अध्ययन÷अनुसन्धान गर्ने सौख थियो । उनलाई राजनीतिमा पनि विशेष चाख थियो । उनको सम्बन्ध तत्कालीन राजा राजेन्द्रसँग राम्रो थियो । त्यसैगरी महाराज जङ्गबहादुर राणासँग पनि थियो । जङ्गबहादुरलाई बेलायत भ्रमण गर्ने चाँजोपाँजो पनि यिनैले मिलाएका थिए । उनकै पालामा ब्रिटिस इण्डियन गोर्खा भर्ती सुरु भएको थियो ।
हडसनले चराचुरुङ्गी र वन्यजन्तुका सजीव चित्र बनाउन राजमानलाई प्रमुख बनाएर नियुक्त गरेका थिए । आफ्ना पुस्तक र लेखमा आवश्यक पर्ने दृश्य चित्रहरू जस्तै विहार, मन्दिर, विभिन्न जातजातिका मानिस आदिका चित्रहरू बनाउन लगाउँथे । खासगरी उनलाई जन्तुहरूको बानी व्यहोरा, बसोबास, उत्पत्ति, विकाससम्बन्धी लेख लेख्ने रुचि थियो । राजमानले उनकै इच्छा मुताविक चित्रहरू बनाइदिन्थे ।
१८औँ शताब्दी औद्योगिक क्रान्तिको सुरुवात थियो । यस समयमा धेरै सामाजिक एवं राजनीतिक परिवर्तन देखापर्न थालेका थिए । औद्योगिक क्रान्तिको असर युरोपेली कलामा पनि प¥यो । खासगरी टोपोग्राफिकल दृष्यचित्र, व्यक्ति चित्र, वन्यजन्तुका चित्र यथार्थवादी शैलीमा बनाउने लहर नै चल्यो । विलियम ब्लाके(१७५७–१८२७), थेयस लउरेन्स(१७६९–१८३०), डेभिड विल्की(१७८५–१८४१), एडविन ल्याण्डसिर(१८७२–७३), अलफ्रेड स्टिभिन्स(१८१७–७५), फ्रेडरिक लाइगटन(१८३०–१८९६), विलियम मोरी(१८३४–९६), टर्नर (१७७५–१८५१), जोन कन्सेवल(१७७६–३७) ले धेरै पोट्रेट, दृश्यचित्र बनाए । उनीहरूले बनाएका कैयौँ चित्र आज पनि लण्डनको नेशनल ग्यालरी, नेशनल पोट्रेट ग्यालरी, टेट व्रिटेन आदि सङ्ग्रहालय तथा ग्यालरीमा अवलोकन गर्न पाइन्छ ।
यस क्रममा कलाप्रेमी हडसनले पनि विश्वप्रसिद्ध कलाकृति हेरेका थिए । उनका ती चक्षुले देखेका यथार्थपरक चित्रलाई नेपाली कलाकारबीच पोखेर राजमानलगायत अरू कलाकारलाई परिष्कृत गर्ने काम गरे भन्दा अत्युक्ति नहोला । हडसनकै निर्देशनमा बनाइएका दृष्टान्त चित्र, दृश्यचित्र आदिले नेपाली कलालाई समृद्ध बनाएको छ । इ.स. १८५०–८० तिर बनाइएका राजमानका चित्र नै स्तरीय थिए तर आज किन त्यही अनुपातमा नेपाली कलाको गुणस्तरीयता माथि पुग्न सकेन भन्ने प्रश्न बारम्बर उठिरहन्छ ।
कलाकार राजमानले हडसनसँग झण्डै पन्ध्र वर्ष नेपाल र दार्जिलिङमा बसेर बनाएका चित्र फ्रान्सको ग्युमिट सङ्ग्रहालय (स्थापना १८७९) द एसियाटिक सोसाइटी (स्थापना १७८४), नेचरल हिस्ट्री अफ म्युजियम (स्थापना १८२४) मा सङ्कलन गरेर राखिएका छन् । ब्रिटिस म्युजियमले केही वर्ष अगाडि राजमान सिंहका चित्रहरू समेटेर क्याटलग प्रकाशित गरेको थियो । जसमा १४०० जातका चरा, स्तनधारी वन्यजन्तु, सरिसृप र माछाहरू सङ्कलन गरिएको कुरा उल्लेख थियो । पछि यी सबै नेचरल हिस्ट्री म्युजियमलाई हस्तान्तरण गरिएको रहेछ ।
राजमानले बनाएका चित्रहरू अझ राम्रोसँग खोजी भएका छैनन् । फ्रान्सको ग्युमिट र बेलायतको ब्रिटिश म्युजियममा हडसनले बुझाएका प्रायः सबै डकुमेन्टमा राजमानले बनाएका दृष्टान्त चित्रलगायत अन्य सचित्र छन् । गतवर्ष सिद्धार्थ आर्ट ग्यालरीको विशेष पहलमा बेलायतबाट ल्याइएका राजमानका चित्रहरू अवलोकन गर्न पाइएको थियो । ती चित्रलाई विशेष तापक्रमको व्यवस्था गरेर प्रदर्शनी गरिएको थियो । त्यस्ता कैयौँ डकुमेन्टमा राजमानका चित्रहरू छन् । जसलाई खोल्न बाँकी नै छ ।
राजमानले सम्भवतः घरमा नै पौभा चित्रकला बनाउन पिताजी जगमान सिंहबाट सिकेको हुनुपर्छ । जगमान सिंह पनि दक्ष कलाकार नै हुनुपर्छ । राजमानका समकालीन भाजुमान पनि हुन् तर उनलाई ब्राएन हडसनले आफ्नो टिममा तान्न सकेका छैनन् । सम्भवतः भाजुमान जङ्गबहादुरका दरबारिया कलाकार भएर होला ।
हामीकहाँ घरीघरी प्रश्न उठाउने गरिन्छ । राजमानका चित्र स्तरीय हुन् कि भाजुमानका ? राजमानका दृष्टान्त चित्रहरू, चराचुरुङ्गी, वन्यजन्तुका चित्रहरू व्याकरणीय र रङ प्रयोगका दृष्टिकोणबाट सुन्दर छन् भने भाजुमानका पोट्रेटहरू आफ्नै किसिमका सुन्दर छन् । भाजुमानले आफ्ना पोट्रेटमा सुनौलो रङको प्रयोग गरेर चित्रलाई सुन्दर बनाउने प्रयास गरेका छन् । उनका चित्रगत ‘एनाटमी’ आफ्नै किसिमको छ । अतः दुवै कलाकारका आ–आफ्नै विशेषता छन् भन्नुपर्छ । राजमानलाई त हडसनले एक ठाउँमा युरोपका कलाकारभन्दा कम छैनन् पनि भनेका छन् तर पौभा चित्रकलाको दाँजोमा हामी नै माथि छौँ ।
हाम्रोजस्तो मण्डलायुक्त पौभाचित्रमा बौद्ध र हिन्दु देवीदेवताका चित्रहरू देख्दा चाहिँ हामी पनि युरोपेली कलाभन्दा माथि नै छौँ भन्नुपर्दछ । यस सम्बन्धमा २६ मार्च र ५ अप्रिल १८३६ का दिन हडसनले बंगाल एसियाटिक सोसाइटीका सचिव जेम्स प्रिन्सेपलाई पत्र नै लेखेका छन् ।
राजमानलाई उत्कृष्ट देखिने चित्रहरू मात्र बनाउन लगाउँथे हडसनले । चराचुरुङ्गी, जनावरको शरीरमा हुने कोमलता हुबहु उतारेपछि मात्र सन्तुष्ट हुन्थे हडसन । हडसनले जति धेरै परिश्रम गर्न लगाउँथे त्यति नै नेपाली कलाकारहरू माझिंँदै र दक्ष हुँदै रङ प्रयोग गर्न सिपालु हुन्थे । नेपाली कलाकारले बनाएका एक–एक चित्रको हडसनले वर्णन÷व्याख्या गरेको कुरा जिओलजिकल सोसाइटी अफ लण्डन लाइबे्ररीमा हेर्न पाइन्छ ।
हडसनका जिओलजिकल पेन्टिङहरू पहिलोपटक १८३२ मा श्यामश्वेत रङमा एसियाटिक सोसाइटी अफ बंगालको जनरलमा छापिएका छन् । त्यसमा पनि राजमानले चित्रहरू बनाएका छन् । ती चित्रमा राजमान सिंहको नाम स्पस्ट उल्लेख छ ।
ब्रिटिस म्युजियममा सुधार हुनेबित्तिकै हडसनले २५९६ वटा नेपाली चरा, ५०० थान तिब्बत वरपरका चराचुरुङ्गी एवं जन्तुका छाला, खप्पर, सिङ र हड्डी आदि हस्तान्तरण गरेका थिए । तीमध्ये ६७० थान चरा र स्तनधारी वन्यजन्तुका नेपाली कलाकारले बनाएका चित्र पनि बुझाइएको थियो । हडसनकै विशेष अनुरोधमा ब्रिटिस म्युजियमले एउटा क्याटलग १८४६ मा प्रकाशित गरेको हो ।
इ.सं. १८४९ मा लगभग ४०० चराका चित्र, १३० भन्दा बढी स्तनधारी र सरिसृपलगायतका वस्तु काठमाडौँका एक जनाको परिवारलाई सुरक्षितसँग राख्न दिइएको थियो । ती वस्तु र चित्रहरू बीसौँ शताब्दीसम्म काठमाडौँमा नै थिए तर एक जना अमेरिकनले ती सबै वस्तु चित्र लिएर गए । अनि ती वस्तु इ.सं. १९९७ मा क्रिस्टिनाले लिलामका लागि लण्डन पु¥याएका थिए ।
जे होस् नेपाली कलाकारले हडसनको निर्देशनमा बसेर बनाएका कैयौँ चित्र विश्वका विभिन्न कला सङ्ग्रहालयमा सङ्कलन गरिएका छन् । दर्शकहरूले ती चित्रको खुलेर प्रशंसा पनि गरेका छन् । राजमानले बनाएका केही चित्रमा खुम्बेश्वर मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटनको क्वाचा देवल, विहार, दत्तात्रय मन्दिर, हरिणको खप्पर, थार आदि छन् । यसरी कलाकार राजमानले नेपाली कलालाई निकै समृद्ध बनाए । उनले प्रयोग गरेको सीप, दक्षतालाई आज पनि आदर र सम्मानका दृष्टिले हेरिन्छ ।

(लेखक कलाकार तथा कला समीक्षक हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?