logo
२०८१ बैशाख १५ शनिवार



निबन्ध : शारदीय सौन्दर्य

शनिवार |


निबन्ध : शारदीय सौन्दर्य


 ज्ञानेन्द्र विवश

कति उदास तिमी, कति निराश
जिन्दगीदेखि थाकेर कति वैराग
यो शारदीय सौन्दर्यमा तिमी जाग
निस्फिक्री रमाउने कोसिस गर अब
आफन्त तिम्रै हो पराई त अर्कै भो
आफूदेखि आफैँ खुशी हुनुपर्छ हो
बेखुशी कोही नहुन् सर्वत्र मुस्कानमय
प्रकृति पनि यतिबेला कति आनन्दमय !
शारदीय आकाशको सुन्दरता आँखाको नित्य प्यास हो । धरतीको हरियाली र बोट–वनस्पतिमा आएको रङ्गीन जीवनवय शारदीय सौन्दर्यको बिहानी हो । झमझम झरीले रातदिन रुज्दैभिज्दै हुर्किएका बिरुवा, फूल, पात र फलले शोभायमान बनेका छन् । लहलह धानबालीको सुनौलो रङले खेतीभूमिमा सुनको बिहानी भित्रिएको छ । घरघरमा मेहनतले खोजीमेली टन्न भकारी भरिलो बनाउने क्रम सुरु भएको छ । अन्ततः शरद्यामले मानवीय मन सांस्कृतिक उत्सवको सामाजिक प्रचलनमा समाहित हुँदैछ । जहाँ आपैmँ परितृप्त हुन्छ हृदय र असीम आत्मसन्तुष्टिको अनुभूतिमा परम्पराको निर्वाह निरन्तर नवीकृत हुँदै जान्छ ।
वास्तवमा शारदीय मौसम यो बेला मैलिएको नभएर मौलाएको हुन्छ । बदलिएको हुँदैन, बरू अनेक रङरसको गतिमा जीवन्त बनेर बौरिएको हुन्छ । त्यही जीवन्तता नै शरद्को खास गतिशीलता हो । शान्त, सौम्य, शुभ्र, शीतल सिलसिलाले मनोरम मौसम फलतः प्रकृतिदेखि मानवीय स्वरूपमा बेग्लै चालढालको चरित्र दृष्टिगोचर हुन्छ । यही हो शारदीय सौन्दर्यको शुभारम्भ समय । स्वयं पखालिएर प्रकृतिले सांस्कृतिक समारोहमा सक्रियता देखाउँछ । सबैभन्दा ठूलो पर्वोत्सवमा सबैलाई हार्दिकताले सम्मिलन गराउँछ । हार्दिकताले वशीभूत मन शुभकामनाका सद्भावले समयोचित सुसूचित हुन्छ ।
वस्तुतः शारदीय ऋतु आगमनसँगै शोभा–सौन्दर्यकोे विशिष्ट धरातल निर्माण हुन्छ । अनि यसैभित्र दशैंँको पर्व–परम्पराले छुट्टै महŒव अङ्कन गर्दछ । यो हाम्रो सनातन संस्कृति । यो हाम्रो पूर्वीय पर्वको एक अनुपम अनुष्ठान । समाज, संस्कृति, सभ्यताको अक्षुण्ण एक सांस्कृतिक धरोहर । शारदीय सुन्दरतासँगै सङ्लिएर आउने यो पर्व एक विशेष उत्सव हो । एक विशिष्ट परम्पराको अविच्छिन्न शृङ्खला । त्यसैले त यसबेलाको शारदीय धरती र आकाशले मोहनी लगाउँछ । कामको चटारोले विश्राम लिँदै धर्म–ध्याउन्नको धङ्धङीमा तनमन तल्लीन हुन थाल्छ ।
प्रकृति र जीवनको पूर्ण जवानी रङका छिटा र छचल्कनले प्रत्येक पल मगनमस्तीको अनुभूतिमय सञ्चार हुन्छ । शारदीय सूर्योदय मादक सुगन्ध र वातावरण सौन्दर्यको शीतल विम्ब–बनोटमा अभिव्यञ्जित हुन्छ । सन्ध्या–समय अरू सुखकर स्वर्गीय सुन्दरतामा मुखरित हुन्छ । सफा–श्वेत प्राकृतिक क्यानभासमा सयपत्रीको रङ निचोरेर सजीव चित्ररूपी कलात्मक सौन्दर्यको उद्घाटन हुन्छ । जहाँ गतिशीलता नदीजस्तै निरन्तर प्रवाहित भइरहेको हुन्छ । चराजस्तै निस्फिक्री उडान–उचाइमा बतासिइरहेको हुन्छ । तर त्यो व्यर्थ र बर्वादीको होइन, हुँदैन । बरु अर्थपूर्ण अध्यायमा अवतरित हुन्छ ।
शारदीय सौन्दर्यको आगमनसँगै आउने दशैँको रङरोगन र तिहारको झिलिमिली एक जीवन्त सांस्कृतिक अनुष्ठानको द्योतक हो । जहाँ शारदीय धरती–धरातल स्वयं बोल्न थाल्छ प्रकृतिको सान्निध्यमा जीवनका गीतहरू ! जिन्दगीका खास आयाम यहाँ उद्घाटित हुन्छ दुःखलाई बिर्सिएर सुखानुभूतिका चरणहरूमा चित्त एकोहो¥याउँदै । अनेक पुष्प पल्लवित हुँदै मुस्कान पस्किरहेका हुन्छन् । अनेक वृक्ष हुर्किदै जीवनको उचाइ दर्शाइरहेका हुन्छन् । जताततै झुलेका बाली, फुलेका फूल र हाँसेका मुहार मुद्राहरू ! यी सबै शारदीय सौन्दर्यका सौजन्य हुन् ।
वस्तुतः शारदीय सुगन्ध मुसुमुसु मुस्कान पनि हो । केटाकेटीको खुशी र बुढाबूढीको अलिकति हर्ष अनि नहुनेहरूको पनि खोजीमेली पर्व हो । जहाँ धनी र गरिबको खाडल पुरिँदै दशैँ दशा होइन, धुमधामको उत्सव बनेर मनाउने उपक्रम हुन्छ । जातीय विभेद हुँदैन । सामाजिक विखण्डन र सांस्कृतिक बन्धन हुँदैन । पिङमा मच्चिनु र चङ्गाचेटमा चाख राख्नु अनि टीका र जमराको रातो–पहेँलो सम्मिश्रणमा जीवनबोध हुनु कम आनन्दको भेट होइन । कम शान्ति र सुखको संयोजन होइन । भेटघाट र भलाकुसारी, मीठो–मसिनोको खानपान र नयाँ पहिरन–पहिचानको प्रस्तुति अन्ततः शारदीय सौन्दर्यकै उपलब्धिको एक अध्याय हो । जहाँ दुःख बिर्सिएर सुखको मिलन हुन्छ । जहाँ विछोडपछिको सुखद मिलनोत्सवले हर्षको वातावरण बनिरहेको हुन्छ । शरद्को मुख्य अंश मात्र होइन यो । बहुपक्षीय रङहरूको असीम व्याप्तिमा प्रदर्शित सुन्दरता हो । विदा, फुर्सद र समयको सही सदुपयोगको पल । महिना र दिन अनि ऋतुहरूमा सबैभन्दा रसमाधुर्य मौसम हो यो । अनुकूल समयको अनुभूतिमय याम । आशीर्वाद लिने, दिने र मायाप्रेमको मानवता बाँड्ने शुभसाइत ।
मालसिरीको साङ्गीतिक साक्षात्कार एकातिर, भजन–कीर्तन, पूजाआजाको रौनक अर्कोतिर । मानौंँ प्रकृतिमा आज मानवीय तमासाले संस्कृतिको अभिन्न मौलिकता झल्काइरहेको छ । हिमाच्छादित कञ्चन पृष्ठकलरवसँगै प्राकृतिक परिवेश अरू सौन्दर्य सार्वजनिक हुन्छ । चहलपहल, साज–शृङ्गार र रङ–रमिताको मिठास मह पोखिन्छ । आस्था, आराधना, आरती–अनुरागको भक्ति भव्य हुन्छ । न झरी, न हुरीबतास । गर्मी र जाडोको प्रताडनासमेत शून्य–शून्य, समाप्तै हुन्छ । सुन्दर, सुमधुर र शीतल मौसम सम्प्रेषित सम्पूर्ण सन्तुष्टि ।
अनेक पुष्पयौवन र सुगन्ध–सौरभले गद्गद् मन आल्हादित बनेर उत्सव मनाउन उत्सुक भइरहेको हुन्छ । प्रकृतिको हरियाली छटाले मनमोहक दृश्य पस्किँदै प्रकृतिपे्रमीको मन खिचिरहेको हुन्छ । नीलिमा रङमा रूपान्तरित आकाशले मनको समग्र सुन्दरता सुसेल्दछ । धानबालीको सुनौला फाँट, हराभरा खेतखलियानका साथ धरती सुरम्य र समृद्ध देखिन्छ । सिँगारिएर स्वयं र भरिपूर्ण आपैmँमा मङ्गलमय आभामा उपस्थित हुन्छ । यही त हो, शारदीय सौन्दर्यको यथार्थ पाटो । यही हो, उत्तम मौसम–महिनाको खास सुन्दर समयको उदय । पदयात्रामा पाइला चाल्ने समय । परदेशबाट घरदेश फर्किने समय ।
हिमाच्छादित शिखर र हरियाली प्रकृति अन्ततः हाम्रा आँखाका मृगतृष्णा हुन् । मनोहारी मनोविम्ब महिमागानले ओतप्रोत यिनै हुन् प्राकृतिक सौन्दर्यका मौलिक पहिचान र शारदीय समयका साक्षात् स्वरूप ! प्रकृतिको यो विराट् सुन्दरतामा वशीभूत हुँदै प्रकृतिकै काखमा लाडिँदै तिनकै उकाली–ओरालीमा जिन्दगीको यात्रा हिँडेको छ । तिनै देउराली र भञ्ज्याङमा बिसाउँदै प्राकृतिक रङहरूमा लट्ठिदै अझ अगाडि हिँड्दै अनवरत ...!
सुदूरगाउँमा आफ्ना मुटुको टुक्रा सन्ततिहरू आउने आशमा बाटोभरि आँखा बिछ्याएर पर्खिबसेका वृद्ध बुबाआमा । तिनका आँखामा टिल्पिलाएका आँसुमा सायद विगत दिनका सुमधुर यादहरू छचल्किरहेका होलान् । तिनको मीठो आशालाई तुषारापात पार्न दिनुहुँदैन शरद्ले । निश्चय नै शारदीय मौसमले सबैलाई साझा खुशी बाँड्नेछ । आफन्तलाई पनि अभिभावक भेट्ने अभिलाषा औधी हुन्छ ।
शारदीय समयको यसबेला ओठमा खुशीको मिठास बिस्कुन भएर आकाशभरि फैलिएको छ । आँखामा सुन्दरताको बिहान मुस्कान बनेर धरतीभरि उदाएको छ । लाग्छ, जिन्दगी यहाँभन्दा खुशी कहाँ हुनसक्छ ? लाग्छ, समय यसरी बितोस् कि समय बितेको आफूलाई पत्तै नहोस् । व्यस्तता यति धेरै होस् कि भोकप्यासको समेत वास्ता नहोस् । बिहानी पनि यसरी उदाओस् कि सुनैसुन झुलेको पनि ख्यालै नहोस् । त्यही सुनको बिहानीमा लडिबुडी गर्दै जिन्दगी अहाँ ! साँच्चै सार्थक बाँच्न र हाँस्न सकियोस् । यस्तो सुनौलो बिहानी, यस्तो शारदीय सौन्दर्यको शुभेच्छा–कामना !  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?