logo
२०८१ बैशाख १५ शनिवार



प्रवासको दशैँ

शनिवार |




 गोविन्द मरासिनी

नेपालीको महान् पर्व दशैँको माहोलले सबैलाई छपक्क छोपेको छ । मुख्य–मुख्य सहरहरूमा नयाँ लुगा र सामान किन्नेहरूको भीड अब क्रमशः पातलिएको छ । दशैँ भन्नेबित्तिकै आफूभन्दा ठूला र मान्यजनका हातको टीका लगाउने, आशिर्वाद लिने, पिङ खेल्ने, चङ्गा उडाउने, मिष्ठान्न भोजनका साथ साथीभाइ तथा आफन्तसँग एकापसमा जमघट हुने परम्परा रहँदै आएको छ । जब दशैँ आउँछ, नेपालमा हुने परिवारजन र प्रवासमा बस्ने छोराछोरीको सम्झनाले सताउने गर्दछ । रोजगारीका लागि मात्र होइन, गुणस्तरीय शिक्षाको समेत अभाव हुँदा कैयौँ युवा पिँढीहरू बिदेसिन बाध्य भएका छन् । आफ्नो घरपरिवार छोडेर प्रवासमा रोजगार होस् वा अध्ययन होस् वा अरू कुनै कारणवश प्रवासमा बसेका नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नो परिवार सम्झेर नै बिताउने गर्दछन् ।
वर्षमा एकपटक आउने महान् पर्व विजयादशमीमा समेत घरमा आउन नपाउने पीडा एकातिर छँदै छ भने प्रवास छिर्दा लागेको साहुको ऋणको बोझ अर्कोतर्फ छँदै छ । चाहेजति नै विकसित मुलुकमा बस्ने नेपाली किन नहुन् दशैँमा आफ्नो देश–परिवेश र परिवार साथमा नहुँदा प्रवासमा रहने प्रायः सबै नेपालीको दशैँ उत्साहजनक र हर्षोल्लासपूर्ण हुन सकेको हुँदैन । आफ्नो परिवारसँगै गाउँमा खसीबोकाको बलि दिएर पिङ खेल्दै आमाले पकाएको सेलरोटीको स्वादको झस्कोले कुनचाहिँ प्रवासीको मन नरोला र ? अझ विशेषतः रोजगारीकै सिलसिलामा खाडी मुलुकमा दशैंँको टीका लगाउने दिनमा समेत ४०÷४५ डिग्रीको घाममा काम गर्नुपर्ने बाध्यताले घरपरिवारको यादले कति सताउँला ? सहजै अनुमान लगाउन सकिन्छ ।
रोजगारीको सिलसिलामा विगत पाँच वर्षदेखि कतारको दोहामा बस्दै आउनुभएका सर्लाही, हरिवन घर भएका प्रमोदजङ्ग रायमाझीले घरपरिवारसँगै दशैँ नमनाएको चार वर्ष बितिसक्यो । उहाँ रोजगारीमा प्रवास छिरेपछि एकपटक मात्र परिवारसँग दशैँ मनाउनुभएको छ । सबैको आफ्नो ड्युटी गर्नुपर्ने बाध्यता भएकाले प्रवासको दशैंँ खासै रमाइलो नहुने तर पनि साथीभाइ मिलेर बल्लतल्ल बिदा मिलाएर दशैँको दिनमा भने पीडा बिर्सेरै भए पनि रमाइलो गर्ने रायमाझीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘धेरै नेपालीको बाहुल्य रहेको कम्पनीमा खसी काट्ने, रमाइलो गर्ने गरिन्छ, सामूहिक रूपमा टीका आदान–प्रदान गर्ने गर्छौं ।’ आफ्ना आमाबुवा, श्रीमती र सानी छोरीलाई भने रायमाझीले दशैंँमा खुबै सम्झिएर नरमाइलो अनुभव हुने गरेको बताउनुहुन्छ । ‘दशैँमा आउने हैन बाबा’ भनेर छोरीले भिडियो कल गर्दा आफ्नो मन कटक्कै खाने गरेकोसमेत उहाँले सुनाउनुभयो । तर, पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट लाइभ कुराकानी गर्दा भने केही हदसम्म मन बुझाउने बाटो भएको उहाँको भनाइ छ । दोहाको सामुद्रीकिरानामा कर्नेसपार्क रहेको र त्यहाँ हप्तामा एकपटक नेपाली भेला हुने गर्दछन् । त्यही पार्कमा दशैंँमा धेरै नेपाली जम्मा भएर रमाइलो गर्ने गरेका छन् ।
रोजगारीकै सिलसिलामा १० वर्षदेखि कतारमा रहनुभएका बाग्लुङका लोकगायक युवराज छन्त्यालले पनि परिवारका साथ दशैँ मनाउन नपाएको दुई वर्ष बितिसक्यो । घरपरिवार साथमा नहुँदा दुःख लाग्ने तर पनि नेपाली साथीहरू संँगै मिलेर नेपाली दूतावासमा गएर रमाइलो गर्ने गरेको उहाँले बताउनुभयो । ‘नेपालमा जस्तो त कहाँ हुन्छ र तैपनि विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरूमा सहभागी भएर रमाइलो लाग्छ,’ भन्नुभयो । कतारमा धेरैको सङ्ख्यामा नेपाली रहेकाले यस्ता पर्वहरूमा नेपाली भेटिँदा उहाँलाई खुसी लाग्दछ । भन्नुहुन्छ, ‘जताततै नेपाली भेटिँदा खुसी लाग्छ, कतारमा नै ‘मिनी नेपाल’ छ जस्तो लाग्छ ।’ कतार बसेको १० वर्षमा कहिलेकाहीँ स्वदेशमा आएर परिवारसँगै मनाएको दशैँको यादले प्रवासमा आफूलाई झल्झली सताउने गरेको छन्त्यालले बताउनुभयो ।
महान् पर्व दशैँले प्रवासमा रहँदा रोजगारीमा रहेका खाडी मुलुकमा बस्ने नेपालीलाई मात्र खल्लो लाग्दैन । विकसित मुलुकहरूमा अध्ययनक्रममा होस् वा सीमित परिवारहरूका साथ अमेरिका, अस्ट्रेलिया, युरोप, जापानजस्ता मुलुकहरूमा बस्ने नेपालीलाई पनि आफ्नो देशमा परिवारका साथ दशैँ मनाउन नपाउँदा दुःखको अनुभव हुने गर्दछ । तीन वर्षअघि अध्ययनक्रममा जापान पसेका तनहुँका चूडामणि अर्यालले जापान छिरेदेखि दशैंँमा टीका लगाउन पाउनुभएको छैन । जब–जब दशैंँ, तिहारलगायतका महŒवपूर्ण चाडबाडहरू नजिकिन्छन्, तब उहाँको जापानको एक्लो जिन्दगीमा निकै दिग्दारी लाग्ने गर्दछ । अर्यालले भावुक हुँदै भन्नुभयो,
‘आफ्नो पढाइलाई निरन्तरता दिँदैं निरन्तर काममा खट्नुपर्ने बाध्यता छँदै छ, घरमा टीकाको साइत हुँदा आफू काममा घोटिँदा कसको मन अमिलो नहोला, त्यसैले जब नेपाल फर्कन्छु, तबमात्र दशैंँ मनाउनुपर्ला भनेर बसेको छु ।’ स्वदेशमा रहँदा आमाबुवा, दाजुभाइसँग हर्षोल्लासका साथ मनाएको दशैंँको याद र जापानमा उहाँले देखेको दशैँ ‘विनासाइतमा टीका लगाएर’ एकैछिनमा टीका पखालेर आँखाभरि आँसु बनाउँदै काममा जानुपर्दा अर्याललाई प्रवासमा रहुन्जेल दशैँ मनाउन मन लागेको छैन भन्नुहुन्छ ।
अध्ययनकै सिलसिलामा छिमेकी राष्ट्र चीनको बेइजिङमा रहेका तनहुँका मदन सिग्देलले घरपरिवारसँग हर्षोल्लासका साथ दशैँ मनाउन नपाएको दुई वर्ष भयो । उहाँलाई पनि अरू प्रवासीलाई जस्तै दशैँ–तिहारलगायतका चाडपर्व आएपछि घरपरिवारको यादले सताउँछ । अध्ययनक्रममा बसेका साथीभाइहरू जम्मा भएर औपचारिकता पूरा गर्नका लागि मात्र टीका लगाउने गर्दछन् । जमरा लगाउने र पिङ खेल्ने त सम्झनेमात्र उहाँले भन्नुभयो । घरपरिवारबाट टाढा हुँदा नरमाइलो लाग्ने भन्दै सिग्देलले भन्नुभयो, ‘हामी प्रवासमा पढ्न आएकाले कोहीलाई त प्रोफेसरले दशैंँको दिनमा पनि बोलाउने गर्छन् । बोलाएपछि जानुप¥यो । दशैंँ–तिहार र छठको अवसरमा नेपाली दूतावासले आयोजना गर्ने शुभकामना आदान–प्रदान कार्यक्रमले भने प्रायः सबै नेपाली दाजुभाइसँग भेट हुने हुँदा खुसी लाग्छ ।’
११ वर्ष अघिदेखि अस्ट्रेलियामा बस्दै आएकी स्याङ्जाकी शर्मिला श्रेष्ठलाई भने स्वदेशमा दशैंँ मनाउन नपाए पनि आफ्ना भाइबुहारी साथमा रहेकाले त्यति खल्लो भने लाग्दैन । अघिल्लो वर्षमात्र नेपाल आएर १० वर्षपछि बाबाममीका साथ दशैंँको टीका लगाएकाले उहाँ खुसी देखिनुहुन्छ । सधैँका दशैँमा ड्युटी सकेर आफूले दाइहरूसँग टीका लगाउने र आफूले भाइ र बहिनीहरूलाई टीका लगाइदिएर रमाइलो गर्छु भन्नुहुन्छ । ‘खालि आफ्नो देश भएन, बाबाममी हुनुभएन भन्नेमात्र हो, यहाँ पनि आफ्नै दाइभाइजसरी नै बसेपछि रमाइलो नै हुन्छ । तर, नेपालमा सबै साथीभाई भेटेको, त्यो गाउँले परिवेश त कहाँ बिर्सन सकिन्छ र ?’ उहाँले भन्नुभयो । सामाजिक सञ्जाल भाइबर, फेसबुक म्यासेन्जर, इमो, स्काइभलगायतका माध्यमबाट नेपालमा भिडियो कलमार्फत हेर्दै टीका लगाउन पाउँदा भने खुसी लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।
अध्ययन र रोजगारीका साथै विविध प्रक्रियाहरूबाट प्रवासमा नै वर्चस्व जमाएका थुप्रै नेपाली कलाकारहरूले भने दशैंँमा प्रवासमा रहेका आमनेपालीलाई रमाइलो गराउने गरेका छन् । विगत सात वर्षदेखि इटालीमा बस्दै आएकी स्याङ्जाकी गायिका शकुन्तला थापाले कुनै दशैंँ नेपालमा मनाए पनि प्रायः दशैंँ प्रवासमै मनाउँदै आउनुभएको छ । यो सात वर्षको अन्तरालमा दशैंँमा बिदा नपाएर परिवारसँग दशैंँ मनाउन नपाएको पीडा त छ तर पनि प्रवासमै रोजगारीको सिलसिलामा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूले विभिन्न छिमेकी मुलुकबाट कार्यक्रममा बोलाउँदा भने थापा खुसी हुनुहुन्छ । यसरी कार्यक्रमहरूमा सहभागी हुँदा नेपाली दाजुभाइहरूसँग आफ्नो पनि भेट हुने र काममा व्यस्त दिदीबहिनीहरूलाई गीत–सङ्गीतको माध्यमबाट रमाइलो गराउन पाउँदा भने खुसीको सीमा नै नहुने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?