logo
२०८१ बैशाख १४ शुक्रवार



दशैँ : बहुपक्षीय महत्त्व

शनिवार |


दशैँ : बहुपक्षीय महत्त्व


 सन्दीप सापकोटा

नेपालीहरूले हर्षोल्लासका साथ मनाउने महान् चाड दशैँ शक्ति उपासनाको महत्त्वपूर्ण पर्व हो । देवीभागवतमा बताइएका चार नवरात्रमध्ये शरद ऋतुमा पर्ने भएकाले यसलाई शारदीय नवरात्र, सामान्य जनजिब्रोको बोलीमा दशैँ र नेवारी परम्परामा मोहिनी नखः अर्थात् मख्ख पार्ने चाड आदि नामले सम्बोधित गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त दुर्गा भवानीको पूजा–आराधना गर्ने र दशमीको दिनमा शास्त्रीय विधान अनुसार दुर्गा विसर्जन गरी सनातनी धर्मावलम्बीले वर्षभरिको अत्यन्त ठूलो चाडका रूपमा लिई मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी आश्विन शुक्ल कोजाग्रत पूर्णिमासम्म मनाउने परम्परा छ । श्रीमद् देवीभागवतमा बताइए अनुसार त्रेतायुगको अन्त्यमा मर्यादापुरुषोत्तम भगवान् रामचन्द्रले विश्वकल्याणका निम्ति मनुष्यावतार लिएका र आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयादशमीको साइतमा लङ्कामा रावणविरुद्ध युद्ध गर्न प्रस्थान गरेको उल्लेख छ । देवीको उपासना गरेकोले रावणमाथि विजय प्राप्त गरेको कथा प्रसङ्ग आएको छ । नवरथामा नवदुर्गाका नौ रूप शैलपुत्री (सम्भावना शक्ति), ब्रह्मचारिणी (चुम्बकीय शक्ति), चन्द्रघण्टा (ध्वनि शक्ति), कुष्माण्डा (रासायनिक शक्ति), स्कन्दमाता (आकर्षण शक्ति), कात्यायनी (ब्रह्माण्डीय केन्द्र शक्ति), कालरात्री (प्रसारण शक्ति), महागौरी (प्रकाश शक्ति) र सिद्धिदात्री (विद्युतीय शक्ति)को उपासना गरिन्छ । मोहिनी नखः मनाउने नेवार समुदायले अष्टमातृका अर्थात् ब्रह्मायणी (सृष्टि), माहेश्वरी (संहार), कौमारी (नेतृत्व), नारायणी (स्थिति), वाराही (संरक्षण), इन्द्रायणी (शासन), चामुण्डा (तेज) र महालक्ष्मी (ऐश्वर्य)को पूजा–उपासना गर्दै मोहिनी नखः मनाउने गर्छन् ।

घटस्थापनाको वैज्ञानिक दृष्टिकोण
आश्विनशुक्ल प्रतिपदाका दिनदेखि सनातनीहरूले आफ्नो कुल आचार अनुसार सम्पूर्ण वर्गले घट (घडा) को स्थापना गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको शास्त्रोक्त विधिले आवाहन गरी पूजन गर्दछन् । तामाको घडा वा माटाको घैँटोमा गाईको गोबर टाँसेर जौ गाडी घटस्थापना गर्ने प्रचलन छ । घडामा गोबर टाँस्नुको कारण यसको वैज्ञानिक महŒव छ । गोबरमा अनेक प्रकारका हानिकारक कीटाणु नाश गर्ने क्षमता हुन्छ । गोबरले लिपेको भूमिमा वा गोबर रहेको ठाउँमा भूतप्रेत आउन नसक्ने र गोबरले जैविक औषधिका रूपमा काम गर्ने भएकाले पञ्चगव्यमा समेत यसलाई समावेश गरिएको छ । घटस्थापना गर्दा प्रायशः माटोको घडा प्रयोग गरिन्छ किनभने माटो पृथ्वीको अङ्ग हो । क्षमाशीलता र धारण गर्ने गुण पृथ्वीमा रहेको छ । पृथ्वी विष्णुकी शक्ति हुन् । माटोमा पाप हटाउने क्षमतासमेत रहेको तथ्य हामीले शास्त्रमा पाउन सक्छौँ र कहीँकहीँ तामाको घडाको पनि प्रयोग गर्ने गरेको पाइन्छ । तामा पनि पृथ्वीको गर्भबाट निकालिएको हो, पृथ्वीकै अंश हो । घटस्थापना गर्दा जौ टाँस्ने परम्परा छ । जौको जमरा उमार्नुको तात्पर्य जौको गुण हो । जौमा दूधसमान पोषक तत्व पाइन्छन् । औषधीय गुणको प्रचुरता पर्याप्त मात्रामा पाइन्छ । जौ सबैभन्दा पहिले सृष्टि भएको अन्न मानिन्छ र सर्वथा शुद्ध मानिन्छ । यज्ञिक कार्यमा पनि देवगणहरूलाई हवि अर्पण गर्न बनाइने चरु गाईको शुद्ध घ्यूमा जौ मोलेर बनाइन्छ र पितृकार्यमा पनि पितृगणलाई जौको पिठोको पिण्डदान गरिन्छ । घटस्थापना गर्दा शुद्ध जलले पूर्णघटमा भगवतीको आह्वान गरिन्छ । अरू तरल पदार्थको सट्टा जलको प्रयोग गर्नुको कारण जल पञ्चतत्वमध्येको एक तत्व हो । जल पृथ्वीमा जीवन सम्भाव्यताको प्रमुख सूत्राधार हो, प्राणीलाई जलले नै बचाउन सक्छ । यसरी जीवनको पूर्णताका लागि आवश्यक तत्वको पूजन र प्रकृतिमा अन्तर्निहित शक्तिलाई ऊर्जामा परिणत गरी आफूमा विस्तारित गर्नु नै दशैँ मनाउनुको मुख्य उद्देश्य हो ।

सप्तशतीका तीन चरित्र
मार्कण्डेय पुराणको सावर्णी मन्वन्तरअन्तर्गतको दुर्गासप्तशती चण्डीमा भगवतीका तीन चरित्रको वर्णन गरिएको छ । प्रथम चरित्रमा महाकाली र अनादिकालमा विष्णुको नाभिबाट प्रकट भएको सहस्रदलको कमलमा उत्पत्ति भएका ब्रह्माजीलाई विष्णुको कर्णमलबाट (कानेगुजी) प्रकट भएका दुई शक्तिशाली महादानव मधु र कैटभको बारेमा वर्णन छ । ब्रह्माजीले भगवती योगमायाको मानसिक उपासना गरी दानवहरूले दुःख दिएको कुरा भगवतीलाई अनुरोध गरे । भगवतीले आफ्नो योगबलले विष्णुलाई जागा गराई दानवहरूको संहार गरेर सृष्टिक्रम बसाउन पे्ररित गर्नुभयो । मध्यम चरित्रमा भगवती महालक्ष्मी (दुर्गा)को उत्पत्ति र महाराक्षस महिषासुरको आतङ्क र दुर्गाद्वारा महिषवधको बारेमा वर्णन छ । महिषासुरले दुःख दिएकाले साह्रै आजित भएका देवगणहरू महादेवको शरणमा गए र महादेवको प्रेरणामा सबै देवगणको मुखबाट तेजराशी उत्पन्न भयो । तेजराशीबाट विशाल ज्योतिपुञ्जको निर्माण भयो । त्यही तेजपुञ्जबाट भगवती महालक्ष्मीको उत्पत्ति भयो र देवगणहरूले आफ्ना–आफ्ना शास्त्रास्त्रद्वारा भगवतीलाई सुशोभित गरे । महिषासुरसँग भगवतीको ठूलो रणसङ्ग्राम भयो र नवौँ दिनसम्मको युद्धमा बराबरी भएको र दशौँ दिनको दिनमा भगवतीले महिषासुर वध गरेको प्रसङ्ग उल्लेख छ । यहीँबाट नै दशैँको औपचारिक थालनी भएको भन्ने मत विद्वानहरूले दिएका छन् । उत्तर चरित्रमा महासरस्वतीको चरित्र र शुम्भ–निशुम्भ र रक्तबीजको वधको बारेमा वर्णन छ । पहिला महासरस्वतीले शुम्भ र निशुम्भको वध गर्नुभयो । रक्तबीजले भगवतीसँग युद्ध गर्न तत्पर भयो तर एक थोपा रगत भुइँमा झरे पनि ऊसमान बलशाली दैत्य प्रकट हुन थाले । यो देखेर भगवतीले कालीरूप धारण गर्नुभयो र एक थोपा रगत भुइँमा झर्न नदिई रक्तबीजको रगत नै समाप्त गरी संहार गर्नुभयो । सप्तशती चण्डीको यी तीन सत्चरित्र र यी तीन असत्चरित्र नै अहिले एक्काइसौँ शताब्दीमा पनि उत्तिकै सान्दर्भिक छ । प्रथम चरित्रका महाकाली र मधुकैटभले समाजमा रहेका शारीरिक बल, राजनीतिक बल, आदि जस्ता बलमा घमण्ड गर्ने माथिको दमन गर्न शक्ति प्राप्त गर्नु भन्ने सन्देश दिन्छ । कसैले हामीमाथि बल प्रदर्शन गर्छ भने हामीले पनि त्यस बलमाथि हाम्रै बलले दमन गर्नुपर्छ तर सत्यको पक्षमा । दोस्रो चरित्र महालक्ष्मी र महिषासुरले पनि समय सान्दर्भिक सन्देश दिन्छ । महालक्ष्मी अर्थात् तीन लोक चौध भुवनको मालिक्नीलाई महिषासुरले धनमदले बल प्रदर्शन ग¥यो र मदले गर्दा अन्त्य भयो । यसैले अहिलेको परिप्रेक्ष्यमा हामी पनि धनवान् हुनैपर्छ कि कसैले हामीलाई धनले दमन गर्न नसकोस् । धनार्जन गर्न कर्म गर्नुपर्छ, त्यो भनेको उद्यम गर्नु भनेको हो । तेस्रो चरित्र महासरस्वती र रक्तबीज हो । यस प्रसङ्गले विश्व समाजमा यस्ता प्राज्ञिक गतिरोधहरू आउन सक्छन्, विभिन्न षड्यन्त्र रचिन सक्छ, त्यस्ता समस्याको निराकरणका लागि हामी सक्षम हुनुपर्छ भन्ने हो ।

नवरात्री पूजा
नवरात्रको सातौँ दिन सप्तमीमा विशेष आराधना गरिन्छ । जमराघरमा नवपत्रिका प्रवेश गराइन्छ । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि दशैँमा गोरखाको गोरखकाली मन्दिरबाट फूलपाती काठमाडौँ ल्याइन्छ । फूलपाती मगरजातिका पुजारीले मात्र भिœयाउने चलन छ । केरा, दारिम, धानको बाला, बेसारको बोट, मानक, कचू, बेलपत्र, अशोक, जयन्तीको बोट यी नौ चीज नवपत्रिकाका रूपमा कोतघर वसन्तपुरमा भिœयाएपछि टँुडिखेलमा हर्षबढाइँ हुन्छ अनि मात्र उपत्यकावासीले घरघरमा फूलपाती भिœयाउँछन् । नवपत्रिका भिœयाउने कर्म प्रत्यक्षरूपमा प्रकृतिको जमराघरमा स्थापना हो । नवपत्रिका भिœयाएपछि भगवतीलाई मूल नक्षत्रयुक्त तिथिमा सरस्वतीको आह्वान गरिन्छ ।
महाअष्टमीको दिनमा दुर्गाभवानीको विशेष पूजा हुन्छ । यसै दिनमा जमरा राख्नेहरूले दिनमा, साँझमा वा मध्यरातमा कालरात्री गरी अष्टमातृका, चौँसठी योगिनी, अष्टभैरव, भीमसेन, क्षेत्रपाल, सर्वतोभद्र देवता, लिङ्गतोभद्र देवता, श्रीयन्त्र आदिको पूजा गरी भगवतीका शस्त्रअस्त्र सम्झी हातहतियारको पूजासहित बलि अर्पण गरिन्छ । कतिपय मानिसले जीव बलि नदिई घिरौँला, नरिवल, मूला, उखु, कुभिण्डो आदि शाकाहारी वस्तुको बलि अर्पण गर्छन् । हाम्रा धर्मशास्त्रले राजस, तामस या सात्विक पूजाविधि चयन गर्न अधिकार दिएको छ । बलि नदिई पनि पूजा गर्न सकिन्छ तर बडादशैँमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपा दुर्गाभवानीका लागि बलि आवश्यक छ ।
राज्यशक्तिका लागि पनि बलि अनिवार्य छ । राज्यशक्ति अथवा प्रभुसत्ता या सरकारका लागि बलि अनिवार्य भएकाले नै राज्यका तर्फबाट प्राचीन कालदेखि नै पशुपक्षीको बलि दिने व्यवस्था रहँदै आएको छ । बलिले व्यक्तिमा रहने काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यी षड्विकारको आहुति भगवती दुर्गा भवानीसमक्ष गर्नु नै वास्तविक बलि हो । मोहिनी नखः चाड मनाउने नेवारी समुदायले अष्टमीदेखि तान्त्रिक विधिबाट मोहिनी थाप्ने काम गर्छन् । मोयिहनी अर्थात् कालो टीका । दशैँलाई मोहिनी नखःका रूपमा मनाउने नेवारी समुदायले मोहिनीलाई नै यस चाडको प्रमुख आकर्षण मान्दछन् । मोहिनी ग्रहण गर्नु भनेको कसैको नराम्रो कुदृष्टिबाट बच्न भगवतीको शरणागत हुनु हो । नवमीको दिन विशेष गरी भगवती त्रिशूलिनीको पूजा गरी कन्यापूजा, वाहनपूजा गरेर दैलोमा मार हान्ने भनी भगवतीलाई बलि अर्पण गर्ने परम्परा पनि यद्यपि कायम नै छ । यस दिनमा भीमसेन, भैरव, कुमार, कुमारीको पूजा गरी आफ्नो सवारीसाधन, व्यापारमा स्थापना गरेको मेसिन आदिको समेत पूजा गरिन्छ ।
विजयादशमीका दिन जया र विजयाका साथमा भगवती अपराजिताको विशेष पूजा हुन्छ । त्यसपछि देवी विसर्जन गरी घरको मूलीले पूजा कोठामा कुलदेवता, इष्टदेवता, गृहमाता, अन्नपूर्णाको पूजा गरी क्रमशः जेष्ठताका आधारमा शक्तिमाताको महाप्रसादस्वरूप जमरा र टीका आशीर्वचनका साथ लगाइदिन्छन् । यो टीका लगाउनुमा पनि विशेष कारण छ । टीका लगाइने निधारमा कुण्डलिनीको आज्ञाचक्र हुन्छ । रातो टीका शक्तिको प्रतीक भएका कारण यसले आज्ञाचक्रमा कुण्डलिनी शक्तिलाई तल्ला चक्रहरूबाट खिच्न मद्दत गरी सहस्रार चक्रसम्म पठाउन मद्दत गर्छ । यसबाट पूर्णतः कुण्डली जागरण हुन्छ र पुनश्च जनमृत्युको भवबन्धनमा पर्नुपर्दैन भन्ने मान्यता सनातनीय हिन्दुहरूमा छ । आदिवासी जनजातिले दही र अक्षता हालेर मुछेको सेतो टीका लगाउने गर्छन् । यो टीका भनेको शान्ति र सात्विक गुणात्मक ऊर्जाको प्रतीक हो । टीका हिन्दूहरूको पहिचान हो । भारतमा बेलायती साम्राज्यको दबाबमा क्रिस्चियनले टीकामाथि कडा प्रतिबन्ध लगाएको हुनाले टीका लगाउन छोडे पनि भारतीयहरूले दशैँलाई दशहराका रूपमा हर्षेल्लासपूर्वक मनाउँछन् । यसरी नौ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दशमीका दिन मान्यजन एवं गुरुजनको हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउनाले वर्ष दिनसम्म दुःख, दुर्भिक्ष, दुर्भाग्य निवारण भई प्रेम, सद्भाव र आयु, आरोग्य वृद्धि हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
दशैँ पर्वको आध्यात्मिक पक्षको उठान गर्दा मौसमविज्ञान, शरीरविज्ञान र व्यवहारविज्ञान आदि क्षेत्रलाई सँगै जोडेर हेर्नुपर्ने हुन्छ । जस्तो, यतिबेलाको समय भनेको ऋतु परिवर्तनको समय हो । शरद् ऋतुको समय भनेको प्रकृतिको त्यस्तो सन्धि समय हो, जसले गर्मी (तातो) समय र शीत (चिसो) समयलाई जोड्ने पुलको काम गरिरहेको हुन्छ । यतिबेलादेखि नै प्रकृतिमा बिस्तारै गर्मी सकिएर जाडो आउन सुरु गरेको हुन्छ । यस्तो अवस्थामा जसरी मौसममा परिवर्तन आइरहेको हुन्छ, त्यसैगरी शरीरले पनि त्यसलाई पचाउन सोही अनुसार तयारी अवस्थामा रहनुपर्ने हुन्छ । अन्यथा मौसममा आएको परिवर्तनलाई शरीरले पचाउन नसकी रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले यस पर्वले यतिबेला अपनाउनुपर्ने खानपान र व्रतोपवासको माध्यमबाट शरीरलाई सोही अनुसार परिवर्तनको अवस्थामा ल्याउन खोजेको देखिन्छ । विशेषतः यतिबेला नौ दिनसम्म शक्ति उपासना गर्न राखिएको प्रावधानले पनि यही तथ्य उजागर गर्दछ ।
दशैँ पर्वको सांस्कृतिक पक्षको कुरो गर्दा यसलाई नेपालीपन र परम्पराको जीवन्त धरोहरकै रूपमा लिनुपर्ने हुन्छ । हुन त दशैँ पर्व हिन्दु संस्कृतिको उपज भएकाले यो हिन्दुहरूको मात्र पर्व हो भन्ने भनाइ पनि हिजोआज यदाकदा उठ्ने गरेको पाइन्छ । यथार्थ भने योभन्दा नितान्त भिन्न छ । हिन्दुहरू त विश्वका अन्य मुलुकमा पनि फैलिएका छन् तर नेपालमा जसरी
दशैँँ पर्व मनाइन्छ, त्यो परम्परा निःसन्देह नेपालीहरूमा मात्र सीमित छ र जुनसुकै वर्ण–सम्प्रदायका भए पनि सारा नेपाली मात्रले नै यस पर्वलाई उत्तिकै श्रद्धापूर्वक मनाउँदै आएका छन् । हिन्दु मात्रले नभई नेपालका बौद्ध धर्मावलम्बीले पनि दशैँ मनाउने गरेको पाइन्छ ।
दशैँ समग्रमा नेपाली मात्रकै राष्ट्रिय पर्व हुन पुगेको छ । स्वभाविक रूपमा जहाँसुकै रहेबसेका भए पनि निधारमा रातो टीका र कानमा पहेँलो जमरा देख्नेबित्तिकै त्यहाँ नेपाल र नेपालीपनको सुवास आउने गर्दछ । यस अर्थमा भन्नुपर्दा यस पर्वले समग्र राष्ट्रकै पहिचान बोकेको प्रष्टै अनुभूत गर्न सकिन्छ ।
दशैँ पर्वको सामाजिक महŒव पनि उत्तिकै छ । काम विशेषले जहाँसुकै पुगेका भए पनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जानेआउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पु¥याउने महŒवपूर्ण कडीका रूपमा लिन सकिन्छ । सानालाई शुभाशीष दिने र ठूलाबाट लिने परम्पराले कोही कसैमा वर्षदिनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्त र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्धि गर्ने पर्वका रूपमा समेत लिन सकिन्छ । दशैँ मान्ने हाम्रो आफ्नै किसिमको मौलिक र आर्ष परम्परा छ । यसै कारण विदेशिएको छोरो घर आउँछ । वर्ष दिन अघिदेखि परदेश गएको श्रीमान्को घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघरलाई नै आफ्नो घर मानी बसेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीले माइतीको दर्शन पाउँछिन् । सम्भवतः संसारमा यति धेरै विविध पक्षले भरिएको पर्वको खोजी गर्दा अन्यत्र कतै पनि पाउन सकिँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?