logo
२०८१ जेष्ठ ३ बिहीवार



सुनकोसीको पानी घरघरमा

प्रदेश |


सुनकोसीको पानी घरघरमा


सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, फागुन २ गते । सिन्धुलीको फिक्कल गाउँपालिका–२, पोखरीमा ५०० मिटर तल रहेको सुनकोसीको पानी लिफ्टको माध्यमबाट स्थानीय उपभोक्ताको घरघरमा पु-याइने भएको छ । खानेपानीको पोखरीमा गाउँपालिकाको लागनीमा लिफ्ट खानेपानी योजना सञ्चालन गरी चण्डीभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँका करिब २०० घरमा सुनकोसीको पानी पु-याइने भएको हो । सुनकोसीको नवलपुरबाट पानी लिफ्ट गरी झन्डै ५०० मिटरमाथि फाल्ने निर्माण कार्यमा खटिएका प्राविधिक सफल भएको गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

गाउँपालिकाका अनुसार ५० हजार घनमिटर क्षमताको ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना रहेको छ । प्रतिसेकेन्ट चार लिटर पानी फाल्ने क्षमताको मोटर जडान गरिएको छ । त्यस्तै सबैको घरमा प्लास्टिक पोखरी निर्माण गरी सिँचाइको सुविधासमेत पु-याइने योजना रहेको वडा नं. २ का वडाध्यक्ष शङ्कर भण्डारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ देखि निर्माण सुरु भएको योजना निर्माणका लागि अहिलेसम्म गाउँपालिकाले ६६ लाख रुपियाँ लगानी गरेको छ । चालू आर्थिक वर्षमा दुई लाख रुपियाँ विनियोजन गरिएको छ । पोखरीस्थित सुम्नाम मावि चण्डीभञ्ज्याङका प्रधानाध्यापक टेकबहादुर थापाले तीन वर्षअघि सुरु गरेको खानेपानी योजनाबाट सुनकोसीको पानी फागुन महिनाभित्र उपभोक्तालाई वितरण गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । गाउँमा खानेपानी ल्याएको बल्छे खोलाको मुहान भूकम्पले सुकेपछि सुनकोसी र स्थानीय खोलाको पानी घण्टाँै बोकेर खानुपर्ने अवस्थासमेत सिर्जना भएको उहाँले सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?