logo
२०८१ बैशाख १४ शुक्रवार



अनलाइनबाटै जुवा

खुला |


अनलाइनबाटै जुवा


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ७ गते । महानगरीय प्रहरी अपराध महाशाखाले अनलाइन जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिकाको चोभार, नगाउँ र बागभैरव क्षेत्रबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार महिला र आठ पुरुष छन् । महाशाखाका अनुसार ल्यापटप, मोबाइल र आइप्याडबाट ठूलो रकम हारजित हुनेगरी जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा ती स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोभारका सुरेन्द्र थापा, मनीष थापा, समीर थापा, कविता थापा, रविन खड्का, बुद्ध महर्जन, पाँगाका रोजा महर्जन, हनिषा महर्जन, साहिल महर्जन, नगाउँका प्रदीपमानसिंह बस्नेत, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले मुख्य योजनाकार सुजेन्द्र, प्रदीपमान र बुद्ध महर्जनले तीनवटा घरमा २४ घण्टा नै कर्मचारी राखेर जुवा खेलाउने गरेको पाइएको बताउनुभयो । अमेरिकी र युरोपेली नागरिकलाई समेत फेसबुकबाट साथी बनाई एक लाख अमेरिकी डलरसम्मको जुवा खेलाउने गरेको कुँवरले दिनुभयो ।
धेरै रकम जित्नेलाई पुरस्कारको ‘अफर’ गरेको पाइएको छ । सामाजिक सञ्जालमा जुवा, फायर किरिङ र भेगा एक्सजस्ता एप्स निर्माण गरी लिङ्कमा आबद्ध नेपाली तथा विदेशी नागरिकलाई जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूले एक वर्षअघिदेखि जुवा खेलाउने गरेको बयानमा स्वीकारेका छन् । उनीहरूको साथबाट जुवा खेल्न प्रयोग भएको विद्युतीय उपकरण र रकम आदानप्रदानको तथ्य प्रहरीले फेला पारेको छ । महाशाखा प्रमुख कुँवरका अनुसार, सामाजिक सञ्जालको दुरुपयोग गरी छुट्टै एप्स बनाई जुवा खेल्ने र खेलाउने कार्य नेपालका लागि नयाँ अपराध हो ।

यसैबीच महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौँ महानगरपालिका–२५, नघःलस्थित एक घरबाट तीन हजार २१० एम्पुल लागूऔषधसहित ३३ वर्षीय सुनील श्रेष्ठलाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध झिकाई ‘डिलर’का रूपमा बिक्री वितरण हुने गरेको सूचनाका आधारमा वृत्तबाट खटिएको टोलीले लागूऔषध बरामद गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डिलबहादुर मल्लका अनुसार डाइजेपाम ९४०, फेनार्गन एक हजार ३२० र नुफ्रिन ९५० एम्पुल बरामद भएको छ । यस्तै, चार लाख ४१ हजार रुपियाँ नगदसमेत बरामद भएको छ ।

अभियुक्त श्रेष्ठले भारतबाट आएको लागूऔषध आफ्नै घरमा गोदाम गरी बजारमा बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । औषधिजन्य लागूऔषध काठमाडौँमा प्रतिएम्पुल १२ सय रुपियाँमा बिक्री हुने गरेको प्रहरीको भनाइ छ । यस्तै महानगरीय प्रहरी वृत्त थानकोटले नागढुङ्गाबाट ९४० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रेका २३ वर्षीय विकास लामा र मकवानपुर कैलाशका २७ वर्षीय गणेश लामा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?