logo
२०८१ बैशाख २५ मंगलवार



उज्यालो बन्दै दुर्गम क्षेत्र

प्रदेश |


उज्यालो बन्दै दुर्गम क्षेत्र


सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस १८ गते । सिन्धुली जिल्लामा पछिल्लो समय दुर्गम क्षेत्र धमाधम उज्यालोमा परिणत हुँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहले राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार गरी दुर्गम क्षेत्रमा उज्यालो पु-याउने कार्यलाई तीव्रता दिएका छन् । जिल्लामा अहिलेसम्म ४५ हजार चार सय घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको विद्युत् प्राधिकरण सिन्धुली शाखाले जनाएको छ ।

शाखाका प्रमुख विनोद अधिकारीका अनुसार जिल्लामा अझै करिब २५ हजार घरपरिवार राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँचबाट बाहिर रहेका छन् । चालू आर्थिक वर्षमा जिल्लाको कुल घरपरिवारमध्ये ८० प्रतिशतभन्दा माथि घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउने योजनासहित विद्युत् लाइन विस्तारको कार्य भइरहेको छ ।

उहाँले भन्नुभयो, चालू आर्थिक वर्ष २०७८/०७९ मा ८० प्रतिशतभन्दामाथि घरपरिवारमा विद्युत् पु-याउने योजनासहित काम भइरहेको छ । अर्को आवमा जिल्लाका सबै घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पु-याउने योजना छ । चालू आवमा विद्युत् विस्तार कार्यका लागि शाखालाई २३ करोड रुपियाँ उपलब्ध भएको र उक्त बजेटबाहेक जिल्लामा विश्व बैङ्क र एसियाली विकास बैङ्कको सहयोगमा पनि विद्युत् विस्तार कार्य भइरहेको उहाँले सुनाउनुभयो ।

जिल्लाकै दुर्गम चिनिने घ्याङ्लेख गाउँपालिकाको लगानी र विद्युत् प्राधिकरण सिन्धुली शाखाको प्राविधिक सहयोगमा पालिकाको वडा नं. १, २, ३ र ४ मा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट जोडिएको छ । गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनका अनुसार पाँचवटा वडा रहेको उक्त पालिकामा अब वडा नं. ५ मा मात्रै राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न बाँकी रहेको र पालिकाको सहयोगमा दुई वर्षदेखि विद्युत् विस्तारको काम सुरु भएको थियो ।

पाँच करोड रुपियाँको लागतमा सबै वडामा विद्युत् पु-याएर झलमल बनाउने पालिकाको लक्ष्य रहेको छ,’ उहाँले भन्नुभयो, पालिकाको सबै ठाउँमा विद्युत् पु¥याउन तीन करोड रुपियाँको लागतमा टेन्डर हुँदै छ । चुनावमा भोट माग्ने क्रममा अँध्यारोमुक्त बनाई पालिकालाई उज्यालो बनाउने भनी जनाएको प्रतिबद्धता पूरा हुँदै गएको उहाँले सुनाउनुभयो ।

त्यस्तै तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये १० वटा वडा राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको पालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँले वडा नं. ७ मा विद्युत् लाइन विस्तार भएको र बत्ती बाल्न मात्रा बाँकी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?