logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रदेश १ को प्रदेशसभा बैठक १५ गतेका लागि सारियो

प्रदेश |


प्रदेश १ को प्रदेशसभा बैठक १५ गतेका लागि सारियो


गाेकुल पराजुली
विराटनगर, कात्तिक ७ गते । मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाको आइतबारको बैठक सूचना टाँस गरी कात्तिक १५ गतेका लागि सारिएको छ ।प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरिसकेपछि सभामुखले बैठकको मिति परिवर्तन गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा एमालेले छुट्टाछुट्टै निवेदन दर्ता गरी बैठक स्थगित गर्न माग गरेको भन्दै प्रदेशसभा सचिवालयले आइतबारको बैठक स्थगित गरी नेकपा एमालेले माग गरे बमोजिम कात्तिक १५ गते बस्ने गरी सचिवालयले सूचना जारी गरेको हो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीको स्वकीय सचिव दिवश राजवंशीले आइतबारको बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पनि नेकपा एमालेको १० औं अधिवेशनका कार्यक्रम रहेकोले कात्तिक १५ गते बैठक राख्न माग गर्दै अर्को निवेदन दर्ता गराउनुभएको थियो ।
प्रमुख सचेतक राजभण्डारीले पेश गरेको निवेदनमा ‘कात्तिक ९ गते पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटी बैठक र कात्तिक १२ र १३ गते केन्द्रीय कमिटीको बैठक रहेकोले १३ गते बाटोको म्याद राखी कात्तिक १५ गते बैठक सञ्चालन गर्न उपयुक्त हुने’ भनि उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको आइतबार प्रदेश १ मा हुने भ्रमणमा सहभागी हुनुपर्ने भएकोले बैठक स्थगित गर्न माग गरेको थियो ।
मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने राजनीतिक दल विभाजन भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रदेश सरकार र विपक्षी दलका कारण संविधानको प्रावधान उल्लङ्घन भएको छ । मुख्यमन्त्रीको दल विभाजन भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई भदौ २५ गते प्राप्त भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?