logo
२०८१ जेष्ठ ४ शुक्रवार



पुल नबन्दा सास्ती

प्रदेश |


पुल नबन्दा सास्ती


गाईघाट समाचारदाता

गाईघाट,भदौ २४ गते । मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा एक दर्जनभन्दा बढी खोला तथा खहरेमा पुल नबन्दा सर्वसाधारण यात्रुले सास्ती खेप्नु परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्रचोकदेखि सिन्धुली भिमानसम्मको कूल १३४ किलोमिटर सडक खण्डमा पर्ने विभिन्न १३ वटा पुल निर्माण सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नु परेको हो ।

यो सडकको १३४ किलोमिटर मध्ये ११२ किलोमिटर खण्डमा कालोपत्रे भइसकेको छ । यस खण्डमा पर्ने ४३ वटा पुल निर्माण सम्पन्न भइसके पनि अब १३ वटा खोला तथा खहरेमा निर्माण हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको हो ।
सदरमुकाम गाईघाटदेखि पूर्वतर्फ सुन्दरी, लामा, ज्यामिरे, खैराहा, असारी र पश्चिमतर्फ मौवासी, अर्ना, पँधेरे, थनाहा, सुनखानी, रातु र धप्परखोलामा पुल बन्न बाँकी छ । यो सडकको सबैतिर कालोपत्रे भएपनि खोला तथा खहरेमा पुल र त्यससँग सम्बन्धित एप्रोच सडक बन्न नसक्दा वर्षा याममा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ  ।

जिल्लाको पश्चिमक्षेत्र कटारीबाट सदरमुकाम आवतजावत गर्न मौवासी र अर्नाखोलाले अवरोध गरेको छ । पूर्वी बेलकाबाट सदरमुकाम पुग्न सुन्दरी, लामा, ज्यामिरे, खैराहा र असारी खोलामा भेलबाढी आउँदा यात्रु घण्टांैसम्म सडकमै अलपत्र पर्न बाध्य हुने गरेको त्रियुगानगरपालिका– १३ असारीका स्थानीय गायत्रा थापाले बताउनुभयो ।

धरान– चतरा– गाईघाट– सिन्धुली– भिमान–हेटौंडा ३१८ किलोमिटर सडकलाई पूर्वी पश्चिमी खण्डमा विभाजन गरी पूर्वी खण्ड सिन्धुली भिमान जेडआईसीसी शर्मा एन्ड लामा जेभीले सडकको निर्माण छ अर्ब ४५ करोडको लगानीमा सम्पन्न गरेपनि गुणस्तरहीन काम भएकाले जताततै पहिरो र माथिबाट झरेको लेदोले सडक अवरुद्ध हुने गरेको उहाँ बताउनुहुन्छ ।

कोभिड–१९ महामारी लगायत विभिन्न कारण देखाउँदै ठेकेदारले काम गर्न आलटाल गरिरहेको मदन भण्डारी लोकमार्ग आयोजना उदयपुरका इन्जिनियर शङ्कर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सडक निर्माण तर्फको भौतिक तथा आर्थिक काम शतप्रतिशत सम्पन्न भएको छ तर पहिलो पटकको डिजाइन सर्वेमा छुटेका १३ वटा पुलमध्ये लामा तथा ज्यामिरे खोलामा मात्र पुल निर्माणको कार्य हाल धमाधम भइरहेको छ ।

सुन्दरी, खैराहा, असारी, मौवासी र अर्नाखोलामा वर्षापछि निर्माणको काम सुरु गरिने र पँधेरे, थनाहा, सुनखानी रातु र धप्परखोलाको डिजाइन इस्टिमेट स्वीकृति गरी र टेन्डर लगाउने प्रक्रिया अझै बाँकी रहेको इन्जिनियर पौडेलले बताउनुभयो तर बनिसकेका पुलको दुबैतर्फको एप्रोच सडक नबनाइदा सर्वसाधारण यात्रु हिलो र धूलोको सास्ती खेप्न बाध्य हँुदै आएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?