logo
२०८१ जेष्ठ ४ शुक्रवार



पुल बन्यो तर बाँसको भर्याङ सहारा

प्रदेश |


पुल बन्यो तर बाँसको भर्याङ सहारा
फाइल तस्बिर


मकवानपुर समाचारदाता

हेटौँडा, साउन २३ गते । मकवानपुर र सिन्धुली जिल्ला जोड्न बागमती नदीमा पुल निर्माण सुरु भएको १० वर्ष भइसक्दा पनि पुल निर्माणले पूर्णता पाउन नसक्दा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । निर्माणाधीन पक्की पुलका सबै स्पान ढलान सकेर निर्माण अन्तिम चरणमा पुग्दासमेत स्थानीयवासीको पीडा उस्तै छ । पुल बनेपछि सहजै आवतजावत गर्ने स्थानीयवासीको अनुमानविपरीत अहिले जोखिमपूर्ण रूपमा बाँसको भ-याङबाट पुलमा चढेर ओहोरदोहोर गर्नु स्थानीयवासीको दैनिकी बनेको छ । हेर्दै ज्यान सिरिङ्ग हुने ठाडो बाँसको भ¥याङबाट तारको सहारामा दैनिक दुई सय जनाभन्दा बढी आवतजावत गर्न बाध्य छन् ।
हेटौँडा–धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने बागमती पुलका ११ वटा स्पानमध्ये गत जेठको चौथो साता अन्तिम स्पानको ढलान सकिएसँगै स्थानीयवासीलाई आवागमनमा केही समय सहज भयो । गत असारको तेस्रो साता आएको बाढीले भने पुलसम्म पुग्ने मकवानपुरतर्फ भरेको सडक बगाएपछि स्थानीय बासिन्दाको पहिलेको जस्तै दुःख फर्किएको छ ।
टायरको ट्युबमा जोखिमपूर्ण यात्रा गर्नुपर्न बाध्यता हटे पनि पुलसम्म पुग्ने पहुँच मार्ग बाढीले बगाएपछि पुल भएर आवतजावत गर्नेले सास्ती खेप्नु परेको छ । बागमती गाउँपालिका–४ की कान्छीमाया तामाङले वर्षायाममा पहिलेको जस्तो समस्या नभए पनि आवतजावत गर्दाको जोखिम उस्तै रहेको बताउनुभयो । निर्माण कम्पनीका साइट इन्चार्ज सन्तोष सापकोटाले अन्तिम स्पान निर्माण सम्पन्न भएको २८ दिनपछि मोटरसाइकलसम्म चल्न दिने गरी निर्माणको काम गरिएकोमा बाढीले पहुँच मार्ग बगाएपछि समस्या भएको जानकारी दिनुभयो ।
उहाँले पहुँच मार्ग बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न कम्पनीले निर्माण गरिदिएको बाँसको भ¥याङ पुनः बागमतीमा आएको बाढीले बगाएपछि अहिले बाँसको भ¥याङ राख्न स्थानीयवासीलाई सहयोग गरिएको बताउनुभयो । वर्षाका कारण कामलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ ।
मकवानपुरको बागमती गाउँपालिका–४ को बागमतीटार र सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने ४१३ मिटर लम्बाइको पुल निर्माण पूरा हुन अझै छ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । सडक निर्माणको ठेक्का पाएको कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालिले २०६८ असार २९ गते पाँच वर्षभित्र सम्पन्न गर्ने गरी २३ करोड ५३ लाख नौ हजार ३४४ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
पुलका ११ स्पानबीचको १० वटा ज्वाइनमध्ये तीनवटाको ढलान, रेलिङ, फुटपाथका साथै मकवानपुर र सिन्धुलीतर्फको पहुँच सडक निर्माणको काम बाँकी छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?