logo
२०७८ बैशाख ६ सोमवार



नेतृत्वको शैली र सफलता

सही नेतृत्वले सफलताको सम्भावनालाई उजागर गर्छ

विचार/दृष्टिकोण |


नेतृत्वको शैली र सफलता


प्रदिप्नराज पन्त

राजनीतिमा नेतृत्वलाई एउटा अनौठो संयोग मानिन्छ । लोकतान्त्रिक व्यवस्थामा नेतृत्व स्थापित तबसम्म हुँदैन जबसम्म उनीहरूले मतदाताको विश्वास जित्न सक्दैनन् । अहिलेको उत्पादनमुखी विश्व अर्थ व्यवस्थामा नेतृत्वको सफलता मापन मतदाताको अपेक्षाअनुसार नेताहरूले कार्य गर्न सके कि सकेनन् भन्ने नै हो । विश्वका सफल नेताहरूको कार्यप्रणाली हेर्दा उनीहरूको भावनात्मक बुद्धिमत्ता क्षमता, लोकतान्त्रिक आधिकारिक अनुशिक्षण या सम्बद्ध शैलीहरूले नै सफल भएका देखिएका छन् । महात्मा गान्धी, भ्लादीमीर लेनिन, माओत्से तुङ, बाराक ओवामा लगायत अनेक नेताहरूको सानोभन्दा सानो काम पनि अहिले संसारले स्मरण गर्न थालेको छ । साँच्चै सफल राजनीतिक नेताहरूले आफ्नो समयको समाजलाई प्रतिनिधित्व गरेका हुन्छन् ।
तर केही नेता यस्ता पनि थिए, जसलाई संसारले शक्तिको भोको भनेर नामाकरण ग¥यो । व्यक्तिगत स्वार्थको कारण प्रजातन्त्रको उपहास गर्दै हुनै नसक्ने व्यवहारहरू प्रदर्शन गरे । सत्तालिप्सा, भ्रष्टलगायत कतिपय आफ्ना समयका शक्तिशाली राष्ट्रनायकहरू अहिले पनि जेलमा छन् भने कतिपय तानाशाहले त मृत्युदण्डसमेत पाए । जनताले गलत गर्नेलाई सजाय र असल नेताहरूलाई चिरस्थायी रूपमा सम्झन्छन् ।

सम्झन लायक नेतृत्व
दक्षिण अफ्रिकाका एफ. डब्ल्यू. डी. क्लार्क र नेदरल्याण्डसका पिम फर्ट्यूनलाई उदाहरणीय नेताको रूपमा मानिसहरूले सम्झने गर्छन् । क्लार्कको आत्मवृतान्त ‘द लास्ट टे«क न्यु विगिनिङ’ अनुसार उहाँका पिता लामो समय दक्षिण अफ्रिकाका सांसद हुनुहुन्थ्यो र काकाचाहिँ प्रधानमन्त्री । क्लार्क सुरुवातदेखि नै स्वतन्त्रताको पक्षमा हुनुहुन्थ्यो । १९७२ मा सांसद् हुँदा उहाँ नै पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले काला जातिहरूको स्वतन्त्रताका वकालत गर्नुभएको थियो । जब १९८९ उहाँ राष्ट्रपति बन्नुभयो उहाँले विभिन्न समस्याको सामना गर्नुप¥यो । रङ्गभेद नीतिको सर्वत्र आलोचना भएको थियो । देशमा इमरजेन्सी लागू भएको थियो । अर्थ व्यवस्थामा गिरावट र राजनीतिक अस्थिरताको कारण पुँजी पलायनको चर्को समस्या थियो । र उहाँको दल पनि धेरै चिरामा विभक्त भएको थियो, जसले गर्दा चरम राजनीतिक सङ्कट चुलिएको थियो । देशभित्रबाट मात्र होइन, बाहिरबाट र सम्पूर्ण विश्वसमुदाय नेल्सन मण्डेलाको पक्षमा थियो । आर्थिक प्रतिबन्ध थियो । यस्तो बेलामा राजनीतिक सङ्कट देखाएर उहाँले शासन लम्ब्याउन सक्नुहुन्थ्यो तर राष्ट्रपति भएकै दिन उहाँले सत्ता हस्तान्तरणको घोषणा गर्नुभयो र फेब्रुअरी २, १९९० मा कुनै सर्तबिना नै लोकप्रिय नेता नेल्सन मण्डेलालाई जेलबाट रिहा गर्नुभयो । मण्डेलासमक्ष देशको समस्या सुल्झाउन चार वर्ष लाग्ने र त्यसका लागि सहयोग गर्न अपिल गर्नुभयो । त्यसपछि एक व्यक्ति एक मत (वन म्यान वन भोट) प्रक्रियाअन्तर्गत चुनाव गर्न सहमत हुनुभयो ।
त्यो चार वर्षमा उहाँले जे गर्नुभयो, त्यसले दक्षिण अफ्रिका एक विकसित अफ्रिकाको रूपमा विकास भयो र १९९४ मा चुनाव भयो । नेल्सन मण्डेला विजयी हुनुभयो तर समावेशीका धेरै नीति क्लार्कका नै रहे ।
नेदरल्याण्ड अन्तर्राष्ट्रिय स्तरमा नै अत्यधिक सहिष्णुता भएको देशको रूपमा चिनिन्छ । नेदरल्याण्डमा सर्वसम्मतिद्वारा शासन गर्ने राजनीतिक प्रणाली छ । तर विस्तारै धार्मिक वैचारिक मतभेद नेदरल्याण्डमा देखियो । धर्मको नाममा विभिन्न समुदायबीच मतभेद हुन थाल्यो र धर्मसापेक्ष देश हुनु नपर्ने जनमत सिर्जना भयो, जसले गर्दा सर्वसम्मतिबाट निर्णय गर्ने प्रक्रिया समाप्त भयो । फलस्वरूप १९९४ मा ‘पर्पल कोलिसन’ (रातो र नीलो गठबन्धन) स्थापित गरियो । तर समस्या समाधान भएन । र सन् २००१ मा नेदरल्याण्डसको राजनीतिमा पिमको अवतरण भयो । पिमले जे गर्नुभयो त्यो संसारका नेताहरूका लागि उदाहरणीय बन्यो । धर्म गुरु मात्र होइन, अल्पमत या अन्य सबै समुदायलाई डरबाट उन्मुक्त बनाउन सफल हुनुभयो । उहाँ समाजवादको वकालत गर्ने मानिस, समाजवाद नेदरल्याण्डमा लागू गर्नुभयो । त्यहाँ शिक्षा र स्वास्थ्यमा गरिएको प्रावधान अत्यन्त उदाहरणीय छ । उहाँले राज्यबाट केही सुविधा लिनुभएन र जीवनचर्याका लागि पत्रिकामा स्वतन्त्र लेखन गर्नुहुन्थ्यो । महìवपूर्ण त के थियो भने पत्रिकामार्फत र व्यक्तिगत रूपमा समेत उहाँले सबै डचसँग पुग्ने कोसिस गर्नुभयो जसलाई त्यहाँका जनताले अत्यन्त मन पराए । एक वर्षमा नेदरल्याण्डसमा देखिएको सबै किसिमका विकृति समाधान भए ।

तुलनात्मक नेपाली नेतृत्व
सही नेतृत्वले सफलताको सम्भावनालाई उजागर गर्छ । सामान्यतया नेपालका अधिकांश नेताले प्रबन्धन दृष्टिकोणमा परम्परागत प्राथमिक शैलीको उपयोग गरेको देखिन्छ । सांस्कृतिक परम्परा र मूल्यले नै नेताको शासन शैलीको भूमिका तय गर्छ । ‘इन्टरनेसनल जर्नल अफ क्रस कल्चरल म्यानेजमेण्ट’ का अनुसार नेतृत्वको लक्षण आंशिक रूपमा सांस्कृतिक मापदण्ड र आंशिक रूपमा आवश्यकताअनुसार उत्पन्न हुन्छ । यसको साथै शक्तिको उपयोग गर्नमा पनि संस्कृति, परम्परा र मूल्य. मान्यताअनुसार फरक फरक हुने गर्छ । जो नेता आफ्नो स्वार्थ र व्यक्तिगत लाभका लागि अधिकतम प्रयासरत हुन्छन् तिनीहरूको व्यवहार पनि व्यक्तिवादी नै हुन्छ भने सामूहिकतामा विश्वास गर्ने नेतृत्व समुदायको हितको लागि नै कार्यरत हुन्छ । यही फरकपनलाई स्वीकार गरेर नेतृत्वले आफूलाई सुधार गर्न सक्छ र देशभित्र मात्र होइन, वैश्विक रूपमा नेता हुने सम्भावना प्रबल रहन्छ ।
नेपालमा जङ्गबहादुर राणादेखि मोहन शम्सेरसम्म शासनमा परम्परागत प्राथमिक शैली प्रयोग गरेको देखिन्छ भने २००७ सालपछि सांस्कृतिक परम्परा र मूल्यको आधारमा पनि नेताहरूले शासन गरेको देखिन्छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि नेतृत्व झन् व्यापक समस्याग्रस्त देखिन्छ ।
अमेरिकी राष्ट्रपतिहरू मिलार्ड फिलमोर, जर्ज वासिङ्टन, र जेराल्ड फोर्ड कार्यशैलीको विशिष्टता हो, उनीहरू सबै कामको श्रेय अरूलाई दिन्थे । सानाभन्दा साना कर्मचारीहरूलाई समेत आदर सम्मानको साथ कुरा गर्थे । गल्ती भएकोमा सम्झौता गर्न कहिले हिचकिचाउँदैनथे र फरक विचारहरूमा उत्तेजक भएर प्रतिक्रिया दिँदैनथे । यसैले उनीहरूलाई पारस्परिक सम्बन्ध संवेदनशील (इन्टरपर्सनल) नेता भनेर वर्गीकरण गरिएको छ ।
नेपालमा नेता हुनासाथ अत्यन्त आदरार्थी शब्दको प्रयोग गरियोस् भन्ने अपेक्षा गर्ने गरिन्छ । आदरार्थी शब्दको अपेक्षा खराब होइन तर आफूभन्दा सानालाई पनि आदरार्थी शब्द प्रयोग गर्नुपर्छ भन्ने हेक्का भएको चाहिँ पाइँदैन ।साथै, फरक विचार हुनासाथ उत्तेजनात्मक भाषण गर्ने प्रक्रिया सामान्य देखिन्छ ।
‘क्यारिज्मेटिक’ नेता भारतकी इन्दिरा गान्धीलाई पनि भनिन्छ । अमेरिकामा फ्याङ्कलिन रुजवेल्ट, एन्ड्यु ज्याकसन, जोन एफ केनेडी, थियोडर रुजवेल्ट, रोनाल्ड रेगन क्यारिज्मेटिक थिए । उनीहरूको सङ्कल्प दृढ थियो । आफ्नो नीतिलाई प्रभावकारी ढङ्गले जनतासमक्ष पेस गर्दथे, जनतासँग निरन्तर सम्पर्कमा रहन्थे र जनताको मुड र इच्छाअनुसार काम गर्दथे । नेपालको नेताहरूमा खास विषय र नीतिहरूमा व्यावहारिक र वैज्ञानिक तवरले आम मानिससँग धारणा बुझ्ने कोसिस गरेको विरलै पाइन्छ यहाँसम्म कि संविधान बनाउँदा उपलब्ध जनताका विचारहरूलाई पनि महìव नदिएको भन्ने जमात पनि ठूलै छ ।
अमेरिकामा सिर्जनशील नेताहरूको सूची पनि लामै छ । एण्ड्यु ज्याक्सन, थोमस जेफरसन, रिचार्ड निक्सन । उनीहरूले नयाँ नयाँ कार्यक्रम सुरु गरे र नयाँ कानुनहरू बनाए । एक कार्यकारीको रूपमा उनीहरूले जनताको हितमा सर्वथा नयाँ कार्यक्रमहरू प्रस्तुत गरे र कार्यान्वयन गरिछाडे । तर अमेरिकाका केही राष्ट्रपति छन्, जसलाई विश्लेषकहरूले न्यूरोटिक अर्थात् विकारबाट ग्रसित भन्ने नामकरण पनि गरे । जेम्स पोल्क, उलिसेस ग्राण्ट, मार्टिन भान बुरेन, लिण्डन जोन्सन आदि । यी राष्ट्रपतिहरू यस्ता थिए जसले कुनै सफल कार्यक्रम भयो भने त्यो मैले मात्र गरेको भनेर सफलताको जस लिन खोज्थे र असफलता भयो भने कर्मचारीलगायत अरूलाई दोष दिन्थे । कुनै महìवपूर्ण, या असहज निर्णय लिनु पर्दा बिरामी भएको भनेर निर्णय दिँदैनथे र कैयौँ समयसम्म विषय अनिर्णयको बन्दी हुन्थ्यो । सीधा काम गर्न सक्ने विषयमा जटिल प्रक्रियाहरू अवलम्बन गर्थे ।

सर्वोत्कृष्ट नेतृत्व
इतिहासले कोही कार्यकारी बन्दैमा उसको तारिफ नै गर्छ भन्ने हँुदैन । नेपालमा भित्तामा सजिएका प्रधानमन्त्रीहरूको विस्तृत अध्ययन भएको छैन तर विकारबाट ग्रसित मनस्थिति नेताहरूमा देखिन्छ । विरोधीलाई अपशब्द प्रयोग गर्ने र कहिलेकाहीँ हिंसामा समेत उत्रने, विकास निर्माणका कामहरू जति सम्पन्न भए भने सबै मेरै पालामा सुरुवात भएको थियो भन्ने र सबैभन्दा महìवपूर्ण सत्तालिप्सा र सत्ता छोड्न आनाकानी गर्ने र गलत कामको दोष कर्मचारीलाई लगाउने र अनावश्यक कारबाहीसमेत गरेका घटना देखिन्छ । चुनावमा गर्ने गाली त झनै त्रासदीपूर्ण छ ।
शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नसक्ने नेतालाई सर्वोत्कृष्ट नेतृत्व भनिएको छ । दक्षिण अफ्रिकामा एफ डी क्लार्क यसैले मण्डेलासरह नै सम्मानित भएका हुन् । नेपालका सबै प्रधानमन्त्रीहरूले कता कता सत्ता हस्तान्तरण गर्न असहज महसुस गरेको र सत्ता हस्तान्तरण गर्न नपरोस् भनेर अनेक तिकडमबाजी गरेको इतिहास राणा कालदेखि नै भएको देखिन्छ । सत्ता हस्तान्तरणमा आनाकानीलगायत, विरोधीलाई लाञ्छना लगाउने, सबै कुरा मैले गरेँ भन्ने प्रचलनचाहिँ अहिलेको संसारको नेतृत्वलाई सुहाउने विषय हुन सक्दैन ।
नेपालको राजनीतिमा नेतृत्वको कैयौँ चुनौतीहरू विद्यमान छन् । नेपाली काँग्रेस होस् या कम्युनिस्ट या अन्य दलहरू गुट समूह प्रशस्त देखिन्छ । हुन त चुनौती नभई अवसर सिर्जना हुँदैन तैपनि नेपाली नेताहरूले विश्वका नेताहरूका सफल अभ्यासलाई सकारात्मक तरिकाले सोच्न जरुरी छ । अज्ञातको डर एक प्राकृतिक मानवीय व्यवहार हो । यो नेतृत्व तह या राजनीतिमा मात्र हुने विषय होइन, सामान्य जीवनमा पनि हुन्छ तर नेताहरूका लागि सामाजिक भय हटाउनपर्ने अनिवार्य आवश्यकता हुन्छ । मप्रति कसैले षडयन्त्र गर्न खोजेको छ कि भन्ने शङ्काको भरमा महìवपूर्ण विषयमा समेत निर्णय गर्न नसक्नु नेतृत्वको गुण हुन सक्दैन । सबैसँग विश्वासमा काम गर्नु नै सफल नेतृत्वको सूचक हो ।
(लेखक संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गतका विभिन्न परियोजनामापूर्वराष्ट्रिय कार्यक्रम प्रबन्धक हुनुहुन्छ।)