logo
२०८१ बैशाख १५ शनिवार



बाढीले तटीय बस्ती बगायो, १९ जना बेपत्ता

प्रदेश |


बाढीले तटीय बस्ती  बगायो, १९ जना बेपत्ता
बाढीले बगाएकाे ढाेरपाटकाे बस्ती: तस्बिर साैजन्य जितबहादुर घर्ती


नवीन शिशिर विक
बागलुङ, भदौ १८ गते । बागलुङको ढोरपाटन नगरपालिका–९, बोवाङ्गको भुजीखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै बुधबार राति खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशङ्का गरिएको छ । प्रहरी घटनास्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

स्थानीय जितबहादुर घर्तीका अनुसार लाखुरबाटका तीन जना, जुनापँधेराका दुई जना, घट्टाबोटका १२ जना, भुसुन्डेका दुई जना बेपत्ता भएका छन् । पहिरोले तटीय क्षेत्रका करिब दुई दर्जन घरमा पूर्ण क्षति गरेको छ ।

बाढीले भुजीखोला चौथो र पाँचौ लघु जलविद्युत आयोजनाको पावर हाउससमेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद हुँदा घटनाबारे पूरा विवरण प्राप्त हुन नसकेको स्थानीयवासी घर्तीको भनाइ छ ।

बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभूत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ । पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्ण रुपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटनास्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रामार्फत घटनास्थलतर्फ हिँडेको छ । घटनास्थलमा टेलिफोन सम्पर्क विच्छेद हुँदा घटनाबारे विवरण प्राप्त गर्न मुस्किल भएको प्रहरीको भनाइ छ । ढोरपाटन नगरपालिका–३ भर्नेबगर खोला किनारमा करिब ३२ वर्षीय पुरुषको पहिचान नखुलेको शव फेला परेको छ ।

ढोरपाटन–सालझण्डी सडक खण्डको बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटेपछि बाढी आएको हुनसक्ने स्थानीयबासी जितबहादुर घर्तीले बताउनुभयो । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?