logo
२०८१ बैशाख १४ शुक्रवार



प्रदेश १ मा एकै दिन तीन जनाको मृत्यु, ६४ सङ्क्रमित थपिए

प्रदेश |


प्रदेश १ मा एकै दिन तीन जनाको मृत्यु, ६४ सङ्क्रमित थपिए


नवराज कट्टेल 

विराटनगर, भदाै ८ गते । प्रदेश १ सोमबार तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा एक जना पुरुषको मृत्यु भएको हो ।

बीपीमा आइतबार साँझ धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । प्रतिष्ठानमा पहिलो पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको हो । यसैगरी बीपीमै सोमबार दिउँसो सिराहाको मलहाना–२ गोविन्दपुरका २२ वर्षीय युवकको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी कोशीको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्युसँगै ६४ जना सङ्क्रमित थपिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचनामा २४ महिला र ४० पुरुषमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, सङ्खुवासभामा एक र प्रदेश १ बाहिरका आठ जना रहेका छन् । प्रदेश राजधानी विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । दश महिला र १३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङको सुन्दरहरैचामा एक महिला दुई पुरुष, बेलबारीमा एक महिला एक पुरुष, जहदामा एक पुरुषमा सङ्क्रमण देखिएको हो ।

यसैगरी सुनसरीको गढीमा तीन महिला तीन पुरुष, दुहवीमा ती पुरुष, बर्जुमा चार महिला एक पुरुष, धरानमा दुई महिला एक पुरुष, इटहरीमा एक महिला एक पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । झापाको बाह्रदशीमा एक महिला चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, सङ्खुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश एक बाहिरका एक महिला सात पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप तीन जनाको मृत्यु भएसँगै सङ्ख्या मृत्यु हुनेकाे सङ्ख्या २२ जना पुगेको छ । मृतकमध्ये पाँचजना प्रदेश नम्बर २ का नागरिक हुनुहुन्छ । प्रदेश १ अन्तर्गत विराटनगरका १०, धरानका तीन, बुढीगङ्गाका दुई, रङ्गेली र सुनबर्षीका एक–एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रङ्गेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनको सङ्ख्या एक हजार २८० पुगेको छ । प्रदेश १ मा सोमबार एक हजार ५५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार ७८ हजार ७०२ जनाको पीसीआर परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?