logo
२०८१ बैशाख १४ शुक्रवार



एक महिनापछि खुल्यो बेनी–जोमसोम सडक

प्रदेश |


एक महिनापछि खुल्यो बेनी–जोमसोम सडक


अमृतप्रसाद पौडेल
बेनी, भदौ ८ गते । गत साउन ५ गतेको अविरल वर्षापछि पूर्ण रुपमा सम्बन्ध विच्छेद भएको हिमाल पारिको जिल्ला मुस्ताङसँग आज दिउँसोबाट सडक सञ्जाल पुनः जेडिएको छ । शर्मा-गजुरमुखी जेभीले म्याग्दी र मुस्ताङको सिमानाको काभ्रेभिरको सडक मर्मत गरेसँगै मुस्ताङसँग सोझो सम्पर्क जोडिएको हो ।

बेनी जोमसोम कोरला सडकअन्तर्गतको म्याग्दीको भुरुङ तातोपानीदेखि मुस्ताङको कोबाङसम्म ३० भन्दा बढी स्थानमा पहिरोले क्षति पुगेको थियो भने १० स्थानमा बेससहित सडक बगेको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीदेखि थासाङ गाउँपालिका–४, कैकु प्याकेज नम्बर २ र थासाङ गाउँपालिकाको–४ कैकुदेखि थासाङ गाउँपालिका–२, कोबाङसम्म प्याकेज नम्बर ३ सम्मको सडकको जिम्मा लिएको शर्मा-गजुरमुखी जेभीका परियाेजना व्यवस्थापपक नरेन्द्र न्यौपानेका अनुसार दिउँसो १२ बजेबाट सवारी सञ्चालनमा आएको हो ।

न्यौपानेले भन्नुभयो, ‘हामीले आफ्नोतर्फबाट निकै मिहिनेत गरेका थियौँ । त्यसमाथि मुस्ताङको घाँसा तथा लेतेका सर्वसाधारण, मुस्ताङका प्रदेशसभा सांसद चन्द्रमोहन गौचन, प्रतिनिधिसभा सांसद प्रेम तुलाचनको खटाइ अनि सहयोगले पनि थप सहज भयो ।’

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गतको प्याकेज २ र ३ क्षेत्रभित्र मात्रै म्याग्दीतर्फ अन्नपूर्ण गाउँपालिका–३, दानाको लाटिखोला, रुप्से तथा काभ्रेभिरमा गरी बेससहित नै १० स्थानमा सडक बगेको थियो । अन्य स्थानमा पहाड कटिङ गर्दै सडक निकालिएको भए पनि काभ्रेभिरमा विष्फोटक पदार्थको प्रयोग गरेर सडकको ट्रयाक खुलाइएको मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचनले बताउनुभयो ।

गौचनले भन्नुभयो, ‘मुस्ताङको मुख्य उत्पादन स्याउको समय आएको तर सडक नभएकोले जनता निराश थिए, त्यसैले जनताको खुशीका लागि म पछिल्लो १० दिनदेखि काभ्रेभिरमा सडक खुलाउनका लागि खटेको थिएँ । काभ्रेमा मात्रै ५० मिटर सडक ब्लाष्ट गरेरै तयार गरियो ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार मुस्ताङ प्रवेश गर्ने अहिलेको एक मात्र रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएकोले सबैको चासो र खटाइले छिट्टै सडक सञ्चालनमा आएको हो । प्रजिअ पौडेलले भन्नुभयो, ‘काभ्रेभिरमा ५० मिटर सडक विष्फोटक पदार्थको प्रयोग गरेर पूरै नयाँ तयार भएपछि आजबाट सडक खुलेको हो ।’

स्याउ, आलु, रायो, गाजरलगायत फलफूल एवम् ताजा तरकारी उत्पादन हुने मुस्ताङमा गत साउन ५ गतेदेखि पूर्ण रुपमा आवतजावत बन्द हुँदा मुस्ताङीहरू नाकाबन्दीको अवस्थामा थिए । सडक खुलेपछि शुरुको समयमा खाद्यान्नसहितका गाडीहरू मुस्ताङ प्रवेश गरेको सांसद गौचनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?