logo
२०७७ असोज १० शनिवार

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा स्वास्थ्य सहायता सामग्री पठायो

अन्तर्राष्ट्रिय |


2020-08-11-20271
तस्विर–फाइल


जेनेभा, साउन २७ गते।
विश्व स्वास्थ्य सङ्गठनले बेरुतमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । पछिल्ला केही दिनमा लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइएको छ ।

लेबनानको राजधानी बेरुतमा गत मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको र सो कार्य वर्तमान सरकारको असक्षमताका कारण हुन पुगेको भन्दै लेबनानका नागरिकहरूले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका छन् ।

उनीहरूले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका छन् । उनीहरूले लगातार दोस्रो दिनसम्म सोमबार पनि विरोध प्रदर्शन गरेका थिए । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।

लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको छ भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानम गेब्रियोसले जनाएअनुसार दुबइमा रहेको विश्व स्वास्थ्य सङ्गठनको भण्डारणबाट लेबनानमा सामग्री पठाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने सङ्क्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

उहाँले करिब १७ लाख अमेरिकी डलर बराबरका औषधी अन्य सामग्रीहरू पठाइएको जानकारी दिनुभयो । उहाँले अहिले लेबनानमा अप्ठेरो अवस्था आएकोले यस्तो बेलामा नागरिकको स्वास्थ्य जोखिममा नपरोस् भनेर उक्त सहायता पठाइएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?