logo
२०८१ बैशाख १५ शनिवार



बाँकेमा चार दिन निषेधाज्ञा थपियो

प्रदेश |


बाँकेमा चार दिन निषेधाज्ञा थपियो


सिराज खान

नेपालगञ्ज, साउन २० गते । समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिदैँ गएकोले नियन्त्रण गर्न बाँकेमा चार दिन निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार राति १२ बजेसम्मका लागि लगाइएको तीन दिनको निषेधाज्ञाको अवधिलाई थप गरेर शनिबार राति १२ बजेसम्मका लागि लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका सूूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घ उपाध्यायले आइतबारदेखि लगाइएको निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे मङ्गलबार बसेको कोरोना सङ्कट व्यवस्थापन समिति, बाँकेको बैठकले चार दिन थप गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँका अनुसार कोरोना सङ्कट व्यवस्थापन समिति, बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले अझैपनि दिनदिनै समुदायस्तरबाट सङ्क्रमित भेटिने क्रम नरोकिएको हुँदा सो नियन्त्रणका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

सूचना अधिकारी उपाध्यायले शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने र त्यस अवधिमा जोखिममा रहेका तथा सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजी गरेर बढीभन्दा बढी परीक्षण गरिने बताउनुभयो । यसअघि आइतबारबाट लगाइएको निषेधाज्ञाको क्रममा आइतबार अलि कडाइ गर्दा नेपालगञ्ज सुनसान देखिए पनि सोमबार रक्षाबन्धन परेकोले निजी सवारी साधन र रक्षाबन्धनसँग सम्बन्धित पसल खोल्न दिइएकोले बजारमा चहलपहल निकै थियो ।

मङ्गलबार भने प्रहरी प्रशासनले निषेधाज्ञामा कडाइ गरेकोले जिल्लाका अधिकांश सहर बजार सुनसान देखिएका छन् भने निकै कम मानिसले मात्र आवागमन गरिरहेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले सोमबार मात्रै नेपालगञ्ज उपमहानगरपालिकाका एक जना वडा अध्यक्ष र सात जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा थप्न सुझाव दिइएको बताउनुभयो ।

उहाँले उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्नुका साथै जोखिममा रहेका र लक्षण देखिएकाहरूको समेत खोजी गर्ने कार्य निषेधाज्ञाको अवधिमा गरिने बताउनुभयो । जिल्लाका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई फेरी पनि आग्रह गरिएको छ । तर, धेरैले त्यस्तो आग्रहलाई हल्का रुपमा लिने गरेका छन् ।  निषेधाज्ञा थपिएसँगै कडाई गर्ने उदेश्यले जिल्लाका नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत सहरी क्षेत्रमा सुरक्षाकर्मी थप गरिएकाे जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।  यस्तै एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडी पनि सञ्चालनमा ररहनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?