logo
२०८१ बैशाख २९ शनिवार



‘पाँच दिनपछि बल्ल पेट भरियो’

प्रदेश |
समाज |


‘पाँच दिनपछि बल्ल पेट भरियो’
डुबान प्रभावितहरूको उद्धार कार्य गर्दै


टीकापुर, साउन १९ गते । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई रु २५÷२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिनुभयो ।

बाढीमा मृत्यु भएका भजनी–८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका ईश्वर शाह र चक्र विकका परिवारलाई सहयोग प्रदान गरिएको हो । उहाँले भन्नुभयो, “रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौँ, सरकार दुःखमा पनि साथमा छ भन्ने आभाष दिलाउन सहयोग गरेका हौँ ।” उपप्रमुख देवकोटाले नगरपालिकाले बाढी पीडितलाई सहयोग उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग समेत थप सहयोग माग गरेको जानकारी दिनुभयो ।

पाँच दिनपछि खाना
बाढीले विस्थापित भजनीका पीडितले पाँच दिनपछि आइतबार खाना पाएका छन् । विस्थापितलाई सडकमै सामूहिक मेस सञ्चालन गरिएपछि पेटभरि खाना खाएका पीडित खेमराज पाण्डेले बताउनुभयो । भजनी–८ को सोनाफाँटामा सामूहिक मेस सञ्चालन भएपछि ५०० ले खाना खाएका छन् । ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढी पीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो । “पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो”, पीडित सुन्ता विकले भन्नुभयो, “जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।”
भजनी–८ कै सुरवी चौधरीको चार वर्षको छोराले पनि पेटभरि दालभात खाएको छ । “आमा भात खाने भनी सताउँथ्यो, बच्चाले अन्य खानेकुरा खाएर चित्त बुझाएकै थिएन”, सुरवीले भन्नुभयो, “आज बच्चाले धित मारेर खाएको देख्दा झन पीडा भएको छ । हाम्रो जिन्दगी यस्तो भोक र त्रासमा सडकमा बास भएको छ ।” ईश्वरप्रेमी सेवा आश्रमका पिठाधीश ईश्वर चैतन्य महाराजले यस्तो विपत्तिमा भोक मेट्ने अधिकार सबैलाई छ भनी आश्रमले सकेको सहयोग गरेको बताउनुभयो ।

भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण शुरु गरेको छ । भजनी–३ ले राहत सामग्री वितरण थालेको छ । वडाले मन्त्रीफाँटा, सिमलटारी, नयाँबस्ती, डेली चितवन र बर्दुवाफाटामा गरी १२० परिवारलाई राहत बाँडिएको वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । उहाँले बाढी पीडितलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट, पानी, एक्वागार्डजस्ता अत्यावश्यक सामग्री वितरण गर्न थालेको बताउनुभयो ।

नगरपालिकाले ८ नं वडामा पनि राहत सामग्री वितरण शुरु गरेको छ । वडाको खैरागाउँका २६४ परिवारलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट र पानी वितरण गरिएको वडाध्यक्ष पङ्कज चौधरीले जानकारी दिनुभयो । “सडकमा बसेकालाई राहतमा खाद्यान्न दिन कठिन छ, उनीहरु घर फर्किएपछि राहत दिइनेछ”, उहाँ भन्नुहुन्छ, “अहिले अत्यावश्यक सामान दिन थालेका छौँ । अझै विस्थापित घर फर्कने वातावरण छैन ।” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?