logo
२०८१ बैशाख १५ शनिवार



सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

प्रदेश |


सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण


लीलाराज झापाली
बिर्तामोड, साउन ९ गते । पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले बताउनुभयो ।

सशस्त्र प्रहरीको एक महिलासहित १८ जनामा कोरोना पुष्टि भएसँगै सशस्त्र प्रहरी क्याम्पलाई सिल गरिएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताउनुभयो । झापामा शुक्रबार बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप तीन/तीन जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको चम्लगाईँले बताउँनुभयो । यो सङ्ख्यासमेत गरी झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण भएपछि समुदायमा कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का भएको नगरका सामाजिक विकास समितिका संयोजक बरालले बताउनुभयो । बरालले मेचीनगरवासीलाई थप सतर्क रहन आग्रहसमेत गर्नुभएको छ । नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरूमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिनसक्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।

तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक्छ ट्रेसिङमार्फत सङ्क्रमणको जोखिममा परेकाहरूको खोजी गरी स्वाब सङ्कलन गर्नुपर्ने काकरभिट्टावासीको माग छ ।मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना सङ्क्रमण पुष्टि भएको यो नै ठूलाे सङ्ख्या हो । यसअघि मेची नगरमा क्वारेन्टाइनमा बसेका १४ जनामा एकैदिन कोरोना पुष्टि भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?